काठमाडौं । बेल्जियम अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ ।
आइतबार राति भएको खेलमा ग्रीसलाई २–१ ले हराउँदै विश्वकपमा छानिने दोस्रो टोली बनेको हो । यसअघि आयोजकका नाताले रुस विश्वकपका लागि छनौंट भइसकेको छ ।
खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टोङ्गन र रोमेलु लुकाकुले एक÷एक गोल गरे । ग्रीसका लागि भने गोन्काल्भेस रोड्रिग्वेजले पहिलो गोल गरेका थिए ।
युरोपेली समुह एच मा दुई खेल खेल्न बाँकी छँदै बेल्जियमले विश्वकपमा स्थान सुरक्षित गरेको हो । बेल्जियमको ८ खेलबाट २२ अंक भएको छ भने दोस्रो स्थानको बोस्निया हर्जगोभिनाको १४ अंक मात्रै छ ।
विश्वकप छनोटअन्तर्गत आइतबार राति भएका अन्य खेलहरुमा स्विडेनले बेलारुसलाई ४–० ले हराउँदा नेदरल्याण्ड्सले बुल्गेरीयालाई ३–१ ले तथा पोर्चुगलले हंगेरीलाई १–० ले हराएका छन् ।
फ्रान्सलाई भने लक्जेम्बर्गले गोलरहित बराबरीमा रोकेको छ । स्विट्जरल्याण्डले लात्भियालाई ३–० ले पराजित गर्दा क्रोएशियाले कोसोभोमाथि १–० को जित निकालेको छ ।