पेरुमा नयाँ जनवादी क्रान्तिले किन धक्का खायो ?

पेरुमा नयाँ जनवादी क्रान्तिले किन धक्का खायो ?

सोभियत मोडेलको समाजवादको पतनसँगै विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको बेलामा पेरुमा नयाँ किसिमबाट सशस्त्र जनयुद्ध संचालन गरी कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने कार्यमा पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) ले सन् १९८१ मा ऐतिहासिक पहल गर्‍यो ।

पेरुमा संचालित जनयुद्धले छोटो अवधिमा गाउँ देखि सहर घेर्ने सिद्धान्त बमोजिम केन्द्रीय सत्ता कब्जा गर्ने तहसम्म विकास गरेर सबै खाले संशोधनवादी, प्रतिक्रियावादी तथा अमेरिकी साम्राज्यवादको स्वर्गमा ठूलो भूइचालो ल्याइदियो । अनि पेरुका क्रान्तिकारी जनता, विश्वका भाइचाराहरुमा आशा र उत्साहको सञ्चार पैदा गरिदियो । यसको प्रभाव नेपालमा पनि निकै परेको थियो र नेपालका माओवादी क्रान्तिकारीहरुले पनि ‘हाम्रो झण्डा पेरुमा फरर…’ भने गीत समेत घन्काएका थिए । 

सन् १९५३ मार्च ५ तारिखका दिन रुसका नेता जोसेफ स्टालिनको निधन भयो । त्यस पश्चात सोभियत रुसम प्रतिक्रान्ति भयो । यसले विश्व कम्युनिस्ट आन्दोलन र समाजवादी शिविरमा ठूलो नकारात्मक प्रभाव पार्‍यो । यसैक्रममा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओत्सेतुङद्वारा नेतृत्व गरिएको क्रान्तिकारी धारा र ख्रुश्चेवद्वारा नेतृत्व गरिएको दक्षिणपन्थी अवसरवादी धाराका बिच भीषण दुईलाइन संघर्ष चल्यो । अन्ततः अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन क्रान्तिकारी र अवसरवादी धारामा बिभाजित हुन पुग्यो । यसैक्रममा माओद्वारा प्रतिपादित सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरको सिद्धान्तको मान्यताका आधारमा १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति संचालन गरियो । यो क्रान्ति एकैसाथ दुईलाइन संघर्ष र वर्गसंघर्षको एक संश्लेषित अभिव्यक्ति थियो । यसैक्रममा माओले विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले नै सबैथोकको निर्धारण हुन्छ भन्ने कुरामा विशेष जोड दिदै ‘तीन गर तीन नगर, एकताबद्ध होऊ नफूट, प्रष्ट र खुला होऊ, छलछाम र षडयन्त्र नगर’ भन्ने उर्दी जारी गर्नु भयो । 

अतः महान् सर्वहारा साँस्कृतिक क्रान्ति एक युगान्तकारी ऐतिहासिक कदम थियो । तर सन् १९७६ सेप्टेम्बर ९ तारिखका दिन माओको निधन भयो । त्यस पश्चात चीनमा पनि प्रतिक्रान्ति भयो । त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्तिको इतिहासमा अर्को गम्भीर धक्का पुग्न गयो ।  यस पश्चात माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा कतिपय कम्युनिस्ट पार्टी र संगठनहरुले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पुनः संगठित गर्नका लागि १९८० मा पहल शुरु गरे । फलतः १९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) (Revolutionary International Movement) (RIM) को गठन हुन पुग्यो । यसले कम्युनिस्ट आन्दोलनमा आशाप्रद तथा सकारात्मक भूमिका निर्वाह गर्‍यो । 

हस्तबहादुर केसी

चीनको सर्वहारा साँस्कृतिक क्रान्तिको प्रभावमा चारु मजुमदारको नेतृत्वमा दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष चलाउदै भारतमा सशस्त्र जनयुद्धको थालनी गरियो । यसले सिँगो दक्षिण एशीयामा दक्षिणपन्थी संशोधनवादको विरोध र क्रान्तिकारी कम्युनिस्ट धाराको विकासका लागि ठूलो प्रभाव पारेको थियो । 

यसै प्रक्रियामा क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलनसित सम्बद्ध तथा असम्बद्ध कतिपय पार्टीहरुद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि फिलिपिन्स, टर्की, पेरु, नेपाल लगायतका देशहरुमा सशस्त्र जनयुद्धको प्रक्रिया अगाडि बढाइयो । भारतमा पनि सशस्त्र जनयुद्ध प्रभावकारी ढंगले विकसित हुदै गयो । 

पेरु पश्चिम दक्षिण अमेरिकी राष्ट्र हो । यसको दक्षिण प्रशान्त महासागरसँग सिमा जोडिएको छ । यो चिली र इक्वेडरको बिचमा पर्दछ । यसको क्षेत्रफल १२,८५,२२० वर्ग किलोमिटर छ । यसको जनसंख्या करीब ३० करोड छ । यसको राजधानी लिमा हो ।  सन् १९८० को दशकमा पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष गोन्जालोको नेतृत्वमा संचालित जनयुद्धले पेरुमा एकैदम छिटो विकास गर्‍यो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत त्यस जनयुद्धले राजधानी लिमा सहित तीनवटा मुख्य शहर र अन्य गावैगाउले भरिएको पेरुमा जनयुद्धले सम्पूर्ण पहाडी गाउँहरु र दुईवटा सहरहरुसमेत कब्जा गरेर राजधानी लिमा कब्जा गर्न चारैतिरबाट घेराबन्दी गर्ने सम्मको विकास गरिसकेर केन्द्रीय सत्ता कब्जाको नजिक पुगि सकेको थियो । 

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट अमेरिकी पिठ्यू प्रतिक्रियावादी फुजीमोरी सरकारले गोन्जालोलाई गिरफ्तार गरेर एक सैनिक जेलमा थुनेर आजीवन कारावासको सजाय सुनायो । २५ वर्ष पुरा भयो, अहिलेसम्म गोन्जालोलाई पेरुको अमेरिकी पिठ्यू प्रतिक्रियावादी सरकारको एक सैनिक जेलमै कडा निगरानीका साथ थुनामै राखिएको छ ।  गोन्जालोको गिरफतारी पछि पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का दोस्रो र तेस्रो तहसम्मका नेताहरुलाई तत्कालीन प्रतिक्रियावादी फुजीमोरी सरकारले गिरफ्तार गरेर जेलमा थुन्यो । देशव्यापी रुपमा भीषण दमनचक्र चलाइयो । 

सन् १९८१ बाट सुरु गरिएको पेरुको जनयुद्धले सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरि सक्ने योजनाका साथ अगाडि बढिरहेको थियो ।  गोन्जालोको गिरफ्तारी पछि पनि सन् १९९५ सम्म साइनिङपाथले छापारमा युद्धलाई तीब्रगतिमा अगाडि बढाएर देश व्यापी रुपमा ध्वंशात्मक गतिविधिहरु संचालन गरिनै रहेको थियो ।  गोन्जालोको गिरफ्तारी पश्चात पेरुमा नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खायो । प्रतिक्रियावादीहरुले भीषण दमनचक्र चलाएर पेरुभियाली जनयुद्धलाई तहस नहस पारेर सिध्याई दिने लक्ष्य राख्नु त स्वाभाविकै थियो । त्यहाँ पार्टी भित्र पनि विविध खालका समस्याहरुसँगै विचारहरु पनि पैदा हुनु स्वाभाविकै थियो । त्यहाँ भीषण दुई लाइन संघर्ष चल्दै आएको छ । तर पनि पेरुमा जनयुद्ध रोकिएको छैन । मन्दगतिमा चलि रहेको छ । क्रान्ति अवश्यमभावी छ । 
धेरैले पेरुको नयाँ जनवादी क्रान्तिले गम्भीर प्रकारको धोका खानको मुख्य कारण गोन्जालोको गिरफ्तारीलाई मात्रै लिने गरेका छन् भने कतिपयले आन्तरिक कारणलाई मात्रै बताउने गरेका छन् । 

त्यहाँको क्रान्तिले धोका खानुको मुख्य कारणत आन्तरिक नै हो, गोन्जालोको गिरफ्तारी बाह्य कारण हो । तर पनि गोन्जालोको गिरफ्तारीले क्रान्तिलाई निकै नै क्षति पु¥यायो । गिरफ्तारीको घटनापछि पार्टी भित्र विचारधारात्मक अन्तर्संघर्ष  पैदा हुनु पनि स्वाभाविक थियो, त्यो भयो नै ।  यो विश्लेषण गरिरहँदा गोन्जालोको बारेमा जानकारी राख्न पनि जरुरी छ । ८२ वर्षीय कमरेड गोन्जालोको वास्तविक नाम डा.अविमायल गुज्मन रेनोसो हो । उहाँ सन् १९३४, डिसेम्बर ३ मा एरक्वेपा, एण्डिज शृङ्खला पेरुमा जन्मनु भएको हो । एरक्वेपा विश्वविद्यालयबाट विद्यावारिधि गरेका गोन्जालोले सन् १९६२ देखि १९७४ सम्म दर्शनशास्त्र बिभाग हवामांगा विश्वविद्यालय, आयाकुचो पेरुमा प्राध्यापन गर्नु भएको थियो । 

उहाको बिवाह सन् १९६४ फेब्रुअरीमा अगष्टा ला टोरेसँग भएको थियो । उहाँको राजनीतिक जीवन सन् १९४५ मा दोस्रो विश्वयुद्धमा फाँसीवादको पराजयमा खुसी मनाउन पेरुका वामपन्थीहरुले निकालेको जुलुुसबाट गिरफ्तार भएपछि सुरु भएको थियो । उहाँ सन् १९४६ मा कम्युनिष्ट योङ ब्रिगेटको सदस्य हुनु भएको थियो । 
उहाँ सन १९५६ मा एरक्वेपा विश्वविद्यालयको विद्यार्थी संघको अध्यक्ष निर्वाचित हुनु भएको थियो । सन् १९६५ मा चीनको भ्रमणपछि १९६६ मा पेरु कम्युनिस्ट पार्टीको सदस्य हुनु भएको थियो र उहाँलाई सन् १९६९ मा कम्युनिस्टको आरोपमा पक्राउ गरिएको थियो । सन् १९७५ मा पेरु कम्युनिष्ट पार्टीको अध्यक्ष हुनु भएको थियो । यो पेरु कम्युनिस्ट पार्टीले सन् १९८१ मा सशस्त्र जनयुद्ध सुरु गरेको थियो । यो जनयुद्धले अपार सफलता पाइरहेको अवस्थामा प्रतिक्रियावादी फुजीमोरी सरकारले सन् १९९२ को सप्टेम्बर १२ मा पक्राउ गरि सैनिक जेलमा राखेर आजीवन कारावासको सजाय सुनाएको थियो । 

सशस्त्र जनयुद्धद्वारा सत्ता कब्जा गरि ग्रामीण इलाका हुदै सहरी इलाका घेराउ गरि केन्द्रीय सत्ता कब्जा गर्ने कमरेड गोन्जालोको रणनीति थियो । उहाँ कर्मठ, साहसी, जुझारु सिद्धान्तकार र क्रान्तिकारी योद्धा हुनुहुन्छ । पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) ले गोन्जालो विचारधारालाई स्वीकार गरेको थियो । कमरेड गोन्जालो जोखिमसँग जुझ्न सधै तयार रहने र सर्वहारावर्गको विजय निश्चित हुनेमा विश्वस्त व्यक्ति हुनुहुन्छ । 

कमरेड गोन्जालोको गिरफ्तारीपछि उहाँको जीवनरक्षाको निम्ति संसारभरका क्रान्तिकारी कम्युनिस्टहरु र मानवअधिकारवादीहरुले विरोध जनाएर ऐक्यबद्धता जनाएका थिए । नेपालका कम्युनिस्ट क्रान्तिकारीहरु, मानवअधिकारवादी वकिलहरुले समेत विरोध जुलुस निकाले कमरेड गोन्जालोको जीवन रक्षाको माग गर्दै ऐक्यबद्धता जनाएका थिए । कमरेड गोन्जालोले २५ वर्षदेखि राजधानी लिमाको एक सैनिक जेलमा कष्टकर जीवन बिताइरहनु भएको छ । अहिले अमेरिकी साम्राज्यवाद र त्यसको पिठ्यू प्रतिक्रियावादी पेरुको सरकार कमरेड गोन्जालोदेखि आतंकित भइरहेको छ । 

पेरुमा केन्द्रीय सत्ता कब्जा गरेर सर्वहारावर्गले सत्ता हातमा लिने अवस्थामा पुगिसकेको अवस्थामा कमरेड गोन्जालोलाई गिरफ्तार गरेर साइनिङपाथले सञ्चालन गरिरहेको सशस्त्र जनयुद्धलाई तहस नहस पार्ने उद्देश्य तत्कालिन अमेरिकी पिठ्यू फुजीमोरी सरकारले सोचेको थियो । गोन्जालोको गिरफ्तारीले त्यहाँको जनयुद्धलाई ठूलो घाटा भयो । नयाँ जनवादी क्रान्तिले गम्भीर प्रकारको धक्का त व्यहोर्नु पर्‍यो । यो वास्तविकता हो । तर पनि पेरुको जनयुद्ध समाप्त भएको छैन । मन्दरुपमा पेरुमा जनयुद्ध जारी छ । पेरुको परिघटनाबाट संसारभरका क्रान्तिकारी कम्युनिष्टहरुले शिक्षा लिन जरुरी छ । र अहिले पेरुमा वास्तविक रुपमा के भइराखेको छ ? क्रान्तिकारीहरुको अवस्था के छ ? त्यहाँको क्रान्तिको भविष्य कस्तो छ ? आदि बारेमा गहिरो अध्ययन अनुसन्धान र संश्लेषणको खाँचो छ । 

कमरेड गोन्जालोको गिरफ्तारीले पेरुमा नयाँ जनवादी क्रान्तिले गम्भीर प्रकारको धक्का खायो । नेतृत्वको सुरक्षा गर्न नसक्नु पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) को कमजोरी त रहयो नै । त्यतिले मात्र पेरुको नयाँ जनवादी क्रान्तिले गम्भीर प्रकारको धक्का खाएको होइन । त्यहाँ पार्टी भित्र वैचारिक विचल पनि पैदा भयो । पुरानै तरिकाले सशस्त्र जनयुद्ध सञ्चालन गरी रहने कि शान्तिप्रक्रियामा पुगेर शान्तिपूर्ण जनसंघर्ष सञ्चालन गरेर क्रान्तिका लागि शक्ति सञ्चय गर्ने भन्ने विषयमा दुई लाइन संघर्ष सञ्चालन भइरहेको पाइन्छ । पेरुमा गोन्जालोको गिरफ्तारीले मात्र होइन पार्टी भित्र पैदा भएको वैचारिक विचलनले पनि क्रान्तिले गम्भीर प्रकारको धक्का खप्नुपरेको हो । अहिले पनि त्यहाँ दुइलाईन संघर्ष जारी छ । यसबाट विश्वभरका क्रान्तिकारीहरुले पाठ सिक्न जरुरी छ । 

हाम्रो नेपाली कम्युनिस्ट आन्दोलनमा पनि गम्भीर प्रकारको दक्षिणपन्थी अवसरवादी विचल पैदा भयो । नयाँ जनवादी क्रान्ति सम्पन्न गरि समाजवाद हुदै साम्यवादको दिशामा अघि बढ्नका लागि संचालित महान् जनयुद्धप्रति प्रचण्ड तथा बाबुरामद्वारा गम्भीर धोका तथा विश्वासघात भएपश्चात नेपालको नयाँ जनवादी क्रान्तिले गंभीर प्रकारको धक्का खाएको छ । तर पनि नयाँ ढंगको पार्टी निर्माण गरेर हामीले पनि महान् नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने उद्देश्यले क्रान्तिलाई अगाडि बढाउन दृढता व्यक्त गरि रहेका छौं ।

पेरु र नेपालका सन्दर्भमा भूगोल, प्राकृतिक हावा पानी, भेषभूषा, भाषा, जनसंख्या, शिक्षा–दिक्षामा फरक होला नै तर क्रान्तिका समस्याहरु समान छन् तर पेरुको जनयुद्ध सञ्चालनका मुख्य नेता प्रतिक्रियावादीको जेलमा सडाइएको छ भने नेपालका जनयुद्धका मुख्य नेतृत्व धोकेबाज र गद्दारमा परिणत भएको छ, फरक यत्ति हो । साइनिङपाथले सञ्चालन गरेको जनयुद्धले गम्भीर धक्का खाएको र नेपालमा नेकपा (माओवादी) ले संचालन गरेको जनयुद्धले गम्भीर प्रकारको जुन धक्का खाएको अवस्था छ । यी दुवै देशबाट शिक्षा लिएर पाठ सिकेर महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई दृढतापूर्वक अगाडि बढाएर समाजवाद हँुदै साम्यवादको दिशातिर अगाडि बढ्नुको बिकल्प छैन । पेरुमा क्रान्तिकारीहरुले सञ्चालन गरिएको सशस्त्र जनयुद्ध र नेपालमा संचालन गरिएको सशस्त्र जनयुद्धबाट सिक्नु पर्ने पाठ यिनै हुन् ।