काठमाडौं । बुधबार प्रहरीले सुन तस्करहरुबाट १५ किलो सुन बरामद गरेपछि फेरि सुन तस्करीको चर्चा हुन थालेको छ । केही समय पहिलेको ३३ किलो सुन बरामद भएको घटनाको अनुसन्धान ं(भइरहेको अवस्थामा प्रहरीले थप १५ किलो सुनसहित सात जनालाई पक्राउ गरेको छ । चीन–तिब्बत हुँदै रसुवाको केरुङ नाकाबाट २२ किलो सुन राजधानीमा भित्रिएको सूचनाका आधारमा खटिएको प्रहरीले १५ किलो मात्रै सुन बरामद गर्न सफल भएको छ । बाँकी सात किलो मध्ये पाँच किलो काठमाडौंकै केही व्यापारी सँग र दुई किलो भारत पुगिसेको दाबी प्रहरीले गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रहरी टोलीले सामाखुसीमा डेरा गरी बस्ने पेम्बा दोर्जे शेर्पाबाट १४ किलो सुन बरामद गरेपछि थप एक किलोसहित जनकपुरबाट दीपक कुमार साहलाई पक्राउ गरेको छ ।
शेर्पाकै सूचनाका आधारमा प्रहरीले भक्तपुर सिरुटारका दीपेन्द्र थापा, सुर्यविनायकका राजेन्द्र खत्री, रबिन खत्री, काभ्रे पाँचखालका विष्णु गौतम, बानेश्वरका सरोज थापा र धनुषाका दीपककुमार साहलाई पक्राउ गरेको छ । प्रहरीको दावी अनुसार पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि सुन तस्करीमा संलग्न रहँदै आएका छन् ।
सिन्धुपाल्चोक घर भएका शेर्पा विगत दुई वर्षदेखि सामाखुसीमा डेरा लिएर बस्दै आएका थिए । प्रहरीले उनको डेराबाट बैंकमा डिपोजिट गरिएका भौचर र अन्य कागजपत्र समेत बरामद गरेकाले लामो समयदेखि सुन तस्करीमा शेर्पाको संलग्नता हुने आशंका गरिएको छ । शेर्पाबाट प्रहरीले ६ सय अमेरिकी डलर र एक हजार एक सय १९ चाइनिज युयान बरामद गरेको छ ।
बुधबार बरामद गरेको सुनमा शेर्पा एक तहको कारोबारी भएपनि अन्य भरिया नै रहेको दाबी प्रहरीको छ । यसैबीच ३३ किलो सुन बरामदका घटनामा २१ जना पक्राउ गरेको थियो ।































