आज परिवर्तनकारी शक्तिहरु अर्थात् मूर्तरुपमा भन्नुपर्दा ‘माओवादीहरु एकीकरण’ हुनुपर्दछ भन्ने कुरा व्यापक रुपमा उठ्न थालेको छ । प्रचण्डले गत स्थायी समितिको बैठकबाट मोहन वैद्य, विप्लव र बाबुरामलाई पार्टी एकताको लागि आव्हान गरेका छन् । त्यसैगरि बावुरामले नेतृत्व गरेको नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल लगायतहरुले पनि राजधानीमा पत्रकार सम्मेलन गरेर प्रचण्ड, बाबुराम, किरण, उपेन्द्रहरुको बिचमा एकीकरण र धु्रवीकरणको कुरा गरेका छन् ।
उनीहरुले एकताको कुरा गर्दा केका लागि एकता गर्ने, त्यसको लागि कुनै आधार वा शर्तहरु अगाडि सारेका छैनन् । स्थानीय चुनावमा माओवादी केन्द्र एमाले र नेकाभन्दा निकै पछाडि प¥यो । नायाँ शक्तिको अवस्था त अझै नाजुक देखियो । त्यसकारण उनीहरुले एकताको कुरा उठाउनुको पछाडि मुख्य उद्देश्य अगामी संघीय र प्रदेशको चुनावमा आफ्नो स्थितिमा सुधार ल्याउनको लागि हो भन्ने कुरा प्रष्ट छ । नेकपा (क्रान्तिकारी माओवादी)को पनि स्थानीय चुनावमा राम्रो अवस्था रहेन र उसले पनि गत केन्द्रीय समितिको बैठकबाट पार्टी एकताका लागि जुन आव्हान गरेको छ, त्यो प्रचण्ड र देवेन्द्रले एकताको लागि गरेको आव्हानभन्दा आधारभूत रुपमा फरक छ । क्रान्तिकारी माओवादीले एकताको लागि ‘छ वटा शर्तहरु’ अगाडि सारेको छ । ती शर्तहरु यस्ता छन् :
(१) माक्र्सवाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, (२) नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, (३) क्रान्तिमा वल प्रयोगको सिद्धान्तलाई मान्ने (४) वर्तमान पश्चगामी संविधानलाई स्वीकार गर्ने (५) वर्तमान सत्ता र व्यवस्थाको मन्त्री परिषद्मा नरहने र (६) जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्वीकार्ने । क्रान्तिकारी माओवादीले एकताको लागि अगाडि सारेका यी ६ वटा शर्तहरुले प्रचण्ड, देवेन्द्र पौडेलले गर्ने एकताको कुराभन्दा मौलिक रुपले फरक रुपमा प्रस्तुत गरेको छ । प्रचण्डहरुले अगाडि सारेको एकताको उद्देश्य यहि प्रतिक्रियावादी व्यवस्थाभित्र चुनावमा सके बहुमत ल्याएर, त्यो सम्भव नभए पनि अहिलेको अवस्थामा सुधार ल्याएर प्रतिक्रियावादी सत्तामा साझेदारी हुने र खाने छ । तर क्रान्तिकारी माओवादीले अगाडि सारेको एकता उद्देश्य क्रान्तिसित सम्बन्धित छ ।
नेपालकोे कम्युनिष्ट आन्दोलनमा एकताको कुरा पहिलेदेखि नै वर्ग संघर्षलाई चर्काउनका लागि होइन कि चुनावद्वारा प्रतिक्रियावादी सत्तामा जाने उद्देश्यले उठाइएको छ । ०४६ सालको आन्दोलनपछि पनि यो कुरा व्यापक रुपमा उठ्यो । ०६२/०६३ को परिवर्तनपछि पनि उठ्यो र अहिलेको निर्वाचनमा पनि उठिरहेको छ । चुनावभन्दा पहिले र चुनावमा हार व्यहोरेपछि यसप्रकारको एकताको कुरा उठाउने र एकता गर्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनमा बार–बार उठ्ने गरेको छ । २०५४ सालमा नेकपा एमालेमा फुट भयो र माले गठन भयो ।
माले पार्टीले तत्कालीन एमालेलाई राष्ट्रघाती र परिवर्तनविरोधी भनेर विश्लेषण गर्यो । त्यतिबेलामा उनीहरुका दस्तावेजहरु र उनीहरुका भाषणहरु भएको साक्षी छन् । तर ०५६ को चुनावी हारपछि तत्कालिन मालेको ठूलो हिस्सा राष्ट्रघाती परिवर्तनविरोधी एमालेमा प्रवेश गर्यो । हिजोका राष्ट्रघाती र परिवर्तनविरोधी एमाले नेताहरु प्रवेशीहरुका लागि राष्ट्रवादी र परिवर्तनकारी बन्न पुगे । यो प्रवृत्ति एमालेमा मात्र सिमित छैन ।
तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट अलग भएको तत्कालिन नेकपा–माओवादी हुँदै बनेको हाम्रोे पार्टी नेकपा (क्रान्तिकारी माओवादी)मा पनि यस्तै प्रकारका प्रवृत्तिहरु देखिए । पार्टीलाई नवसंशोधनवादी र नेतालाई लाल गद्दार भन्ने नेताहरुको ठूलै समूह पुनः एमाओवादीमा फर्किए । नवसंशोधनवादी पार्टी रातारात क्रान्तिकारी पार्टी बन्यो र गद्दार नेताहरु क्रान्तिकारी र आदर्श नेताहरु बने ।
देवेन्द्र पौडेलहरु पनि प्रचण्डजीहरुलाई परिवर्तनविरोधी भ्रष्टाचारी भन्दै त्यो पार्टीबाट अलग भएका थिए । तर चुनावमा पार्टीको अवस्था नराम्रो आएपछि उनीहरुलाई तिनै पार्टी र नेताहरु परिवर्तनकारी भए र अहिले एकताको लागि आव्हान गरिरहेको छन् । अन्य पनि यस्तै थुप्रै उदाहरणहरु छन्, जसले जुन पार्टी र नेताहरुको विरोध र आलोचनमा आफ्नो सम्पूर्ण समय खर्च गर्ने तिनै व्यक्तिहरु आफैले विरोध र आलोचना गर्ने पार्टी र नेताहरुसँग मिल्न पुगेका छन् ।
निश्चय नै एकपटक अलग भएपछि मिल्नै हुन्न भन्ने होइन । तर परिस्थ्तििको विश्लेषण हुनु पर्दछ । परिस्थितिको विश्लेषण गर्दा या त जसको विरोध गरिएको थियो, त्यसको चरित्रमा क्रान्तिकारी परिवर्तन भयो, त्यसकारण मिल्नु पर्दछ भन्नु पर्दछ या त त्यसरी विरोध गर्ने क्रममा कमजोरी भयो भनेर आत्मोलाचना गर्नु पर्दछ । यो दुइवटै कुरा नगरीकन पुनः एकता गर्ने कुरा हद दर्जाको अवसरवादी कुरा हो । यस प्रकारको एकताले क्रान्तिलाई सहयोग पुर्याउँदैन ।
हामीले सच्चा क्रान्तिकारीहरु अर्थात् सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा एकताको लागि निरन्तर प्रयत्न गरिरहनु पर्दछ । सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको वीचको एकता र ध्रुबीकरण विना क्रान्ति सम्भव छैन । को क्रान्तिकारी हो र को होइन भन्ने कुरा उसले लिएको राजनीतिक कार्यदिशा र व्यहारमा खोज्नु पर्दछ ।
व्यवहारमा शोषित उत्पीडित वर्गको पक्षमा मूलतः सर्वहारा वर्गको पक्षमा समर्पित छ कि छैन भन्ने कुरालाई विशेष ध्यान दिनै पर्दछ । यो प्रतिक्रियावादी व्यवस्थामा सत्ता साझेदारी खोज्ने, यो व्यवस्थाको विभिन्न पदमा पुग्न चौरासी तिकड्म गर्ने, राजनीतिक क्रान्ति सकियो भन्दै आर्थिक क्रान्तिमा मात्र जोड दिने, यो प्रतिक्रियावादी राज्यसत्ताको मूल कानून अहिलेको संविधनलाई उत्कृष्ट संविधान हो भन्नेहरु क्रान्तिकारी शक्ति होइनन् ।
त्यसप्रकारका शक्ति र व्यक्तिहरुसँग क्रान्तिकारीहरुको एकता हुन सक्दैन । त्यसकारण हामीले क्रान्तिकारी कम्युनिष्टहरुको बीचमा एकतामा जोड दिनु पर्दछ र आफू क्रान्तिकारी हुन् र आफूलाई पनि क्रान्तिकारी बाटोमा ल्याउन निरन्तर प्रयत्न गर्नु पर्दछ । यस सन्दर्भमा क.लेनिनको यस भनाई हामीले मनन् गर्न उपयुक्त हुनेछ ।
लेनिन भन्नुहुन्छ “जो मात्र वर्ग संघर्षलाई मान्दछ, त्यो अझै माक्र्सवादी होइन । त्यो अझै पनि पुँजीवादी चिन्तन र पुँजीजीवि राजनीतिको घेराबाट बाहिर निस्केको नहुन सक्छ । माक्र्सवादलाई वर्ग संघर्षको सिद्धान्तसम्म मात्रै सीमित राख्नुको अर्थ हो– माक्र्सवादलाई लंगडो तुल्याउनु, त्यसलार्ई बंग्याउनु र त्यसलाई पुँजीजीवि वर्गको निम्ति मान्य हुन सक्ने किसिमको बनाउनु । मात्र त्यो माक्र्सवादी हो, जो वर्ग संघर्षको मान्यतालाई सर्वहारा वर्गको अधिनायकत्वको मान्यतासम्म नै लागू गर्दछ । एक माक्र्सवादी र एक साधारण निम्न (र उच्च समेत) पुँजीजीविको बीचमा सबभन्दा गम्भीर अन्तर यही हो । यसै कसिमा घोटेर नै माक्र्सवादको वास्तविक समझदारी र मान्यताको परीक्षा गरिनु पर्दछ ।”–राज्य र क्रान्तिबाट































