
सर्लाही । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले एक समयमा क्रान्तिको नेतृत्व गरेका प्रचण्ड–बाबुराम नै प्रतिक्रान्तिको नेतृत्वमा पुग्दा क्रान्तिले धक्का खाएको बताएका छन् ।
जनगणतन्त्र स्थापनाका लागि चलेको जनयुद्धको नेतृत्व गरेका नेताहरु लोकतान्त्रिक गणतन्त्रमा नै रमाएर अघि बढ्न नखोजेको उनको भनाई थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सर्लाहीको प्रथम भेलाको उद्घाटन गर्दै मोर्चाका अध्यक्ष गजुरेलले १० वर्षसम्म चलेको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र आदिवासी जनजातिका विभिन्न आन्दोलनमा हजारौं सहिद, घाइते, अपांग, वेपक्ता र अंगभंग भएपनि जनताको पक्षमा संविधान बन्न नसक्नु दुःखद भएको बताए ।
प्रचण्ड–बाबुरामहरुले यो संविधानलाई संसारकै उत्कृष्ठ संविधान भएको बताउने गरेपनि यो संविधान प्रतिगामी संविधान भएकाले आम जनताले यसलाई स्वीकार नगरेको उल्लेख गरे ।
प्रतिगामी राजनीतिक व्यवस्थाविरुद्ध १० वर्षसम्म चलेको जनयुद्धको नेतृत्व तहमा रहेका प्रचण्ड र बाबुराम भट्टराई लगायतको नेतृत्वको ठूलो पंक्ति अन्ततः काँग्रेस र एमालेको कित्तामा पुगेको उल्लेख गर्दै उनले अहिलेका संसदवादी राजनीतिक दलहरुले भ्रमको खेती गरेर जनतालाई सपना बाँड्नुबाहेक केही पनि गर्न नसक्ने ठोकुवा गरे ।
जनयुद्धको बाटो र जनताका एजेन्डाबाट ठूलो पंक्ति पलायन भएपनि आफूहरु निरन्तर सो बाटोमा अघि बढिरहेको स्पष्ट पार्दै नेता गजुरेलले आफूहरुले अहिलेको पश्चगामी संविधान र लोकतान्त्रिक गणतन्त्रलाई परास्त गरी जनवादी गणतन्त्र स्थापनाका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा निर्माण गरिएको स्पष्ट पारे ।
एक फरक प्रसंगमा उनले भारतले नेपालसँग असमान सन्धी सम्झौता गर्दै सीमा क्षेत्रमा अग्लो बाटो बनाएर पिच गरेका कारण तराईको नेपाली भूमी डुबानमा परेको बताए ।
नेपालको राष्ट्रियता र सीमा क्षेत्रमा हुने भारतीय दादागिरीका विरुद्ध सबैभन्दा बढी मधेसमा रहेका जनताले संघर्ष गर्नुपरेको उल्लेख गर्दै तराईबासी जनता राष्ट्रवादी भएको उनले उल्लेख गरे ।
अहिले पनि माओवादी केन्द्रले तराईमा आएर आम जनतालाई गुमराहमा राखेर क्रान्तिका ढोंगी कुरा गरिरहेको भन्दै बेलैमा सचेत बन्न तराईबासी जनतामा आग्रह गरे ।
अहिले क्रान्ति हारेको नभई केही पछि परेको उल्लेख गर्दै अध्यक्ष गजुरेलले संगठन निर्माण गरी शक्ति सन्चित गर्दै विभिन्न मोर्चामा बसेर क्रान्तिको नेतृत्व गर्न तयार रहन सबै कार्यकर्तालाई निर्देशन पनि दिए ।
सो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज कृष्णदेव सिंह दनुवार, देजमोका कार्यालय सदस्य तथा २ नम्बर प्रदेश संयोजक कमल चौधरी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा देजमोका कार्यालय सचिव हरिकृष्ण गजुरेल, सर्लाही जिल्ला सचिव बलराम न्यौपानेलगायले समेत आफ्नो मन्तव्य राखेका थिए ।
भेलाले ४१ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सर्लाही जिल्ला समिति गठन गरेको छ । ठकन महतोको अध्यक्षतामा बनेको देजमो जिल्ला समितिको सचिवमा केशव प्रसाद न्यौपाने रहेका छन् ।
यसैगरी सदस्यहरुमा सजिद बल, दिलीप कुमार पाठक, कैलाश स्याङता मुकुन्द प्रसाद उप्रेती, शिव प्रुसाद धिमाल, नारायण दनुवार, दुर्गा चौलागाई, तपस्वी ठाकुर, सुरेश साह, अजय कुमार श्रेष्ठ, भिम बहादुर लुङ्गेली, पुष्पकुमार डिम्डुङ, बुम्साङ लामा, जित बहादुर स्याङतान, दानबहादुर मोक्तान, कालीबहादुर विक, अमृत विक, चित्र बहादुर विक, रामबहादुर विक, कमलेश राउत, उद्धवबहादुर विक, मिनबहादुर गोले, सोमबहादुर ल्हो, कर्मलाल घलान, लोकबहादुर खड्का, कुमार बर्तौला, राम लखन साह, राजकुमार राय, टिकाराम खड्का र ओमबहादुर रानालगायत रहेका छन् ।