काठमाडौं । स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न गराउन लागेको सरकारले प्रदेश र संसदीय निर्वाचन पनि दुई चरणमा गर्ने निर्णय गरेको छ ।

यसअघि मंसिर १० गते निर्वाचनको मिति घोषणा गरेको सरकारले मंसिर २१ गते दोस्रो चरणको निर्वाचनको मिति तय गरेको हो ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।

सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।

बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले एसियाली विकास बैकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय पनि गरेको छ ।

बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गरेको छ भने भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लैजाने निर्णय सरकारले गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर