काठमाडौं । एक नेपालीको मृत्यु भएको घटनामा भारतको केन्द्रीय अनुसन्धान ब्यूरोले साउथ रेन्जका प्रहरी महानिरिक्षक (आइजीपी) सहित ८ जना प्रहरी पक्राउ परेका छन् ।
एक किशोरीको बलात्कार र हत्यामा संलग्न रहेको आरोप लागेका सुरज नाम गरेका नेपाली युवाको हिरासतभित्रै मृत्यु भएको थियो ।
बलत्कार र हत्याको अनुसन्धान गर्न बनाइएको विशेष टिमको नेतृत्व लिएका साउथ रेन्जका आइजीपी जाहुर एच जाइदी उनको मृत्यु प्रकरणमा सिमलाबाट पक्राउ परेका हुन् । उनीसँगै डीएसपी मनोज जोशी र अन्य ६ जना प्रहरीलाई पनि पक्राउ गरिएको छ ।
गत २० जुलाईका दिन बलात्कार र हत्याका प्रमुख आरोपी मानिएका राजीन्दर सिंहले आफूसँगै थुनिएका सुरजको टाउकोलाई भित्तामा बजारेका थिए । राजीन्दरले सुरजलाई बलात्कारको विषयमा पोल खोलेको र आफूलाई फसाएको आरोपमा आक्रमण गरेका हुन् ।
गत ४ जुलाईमा कक्षा १० मा पढ्ने एक १६ वर्षीया किशोरी स्कुलबाट घर र्फकने क्रममा बेपत्ता भएकी थिइन् । त्यसको दुई दिनपछि प्रहरीले कोटखाइस्थित हलैला जंगलमा उनको शव फेला पारेको थियो । उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ ।
प्रहरीका अनुसार आरोपीले किशोरीलाई लिफ्ट दिएर एकान्त ठाउँमा लगेर सामुहिक बलत्कारपछि हत्या गरेका थिए । किशोरीको शरीरमा देखिएका चोटहरुले उनलाई चरम यातना दिइएको अनुमान गरिएको छ ।
सो घटनामा राज्य सरकारले विशेष अनुसन्धान टोली गठन गरेलगत्तै ६ जना व्यक्तिहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा आशिष चौहान, राजीन्दर सिंह, सुवाससिंह बिष्ट, लोक जान, सुरज सिंह र दिपक रहेका छन् ।
सुरजले घटनाको वृतान्त प्रहरीलाई बताएको आइसीपी जाइदीको भनाई छ । सुरजका अनुसार घटनाको प्रमुख सुत्रधार पिकअप भ्यानका ड्राइभर राजीन्दर सिंह थिए । राजीन्दरको पिडित किशोरीसँग राम्रो चिनजान रहेको र त्यसअघि उनले दुईपटक किशोरीलाई लिफ्ट दिएको प्रहरीले जनाएको छ ।
तर, पीडितको परिवारले प्रहरीको भनाईप्रति विश्वास गरेको छैन । वास्तविक दोषिहरु हाइप्रोफाइल परिवारको भएको र उनीहरुलाई राज्य सरकारले उन्मुक्ति दिएको पीडित परिवारको आरोप छ ।
घटनाबारे अनुसन्धान गर्नका लागि १४ जुलाईमा हिमाञ्चल प्रदेश सरकारले सीबीआईलाई जिम्मा दिएको थियो ।