राष्ट्रघातका विरुद्ध नौ वामघटकले सडक अन्तरक्रिया गर्ने

राष्ट्रघातका विरुद्ध नौ वामघटकले सडक अन्तरक्रिया गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिष्ट पार्टी लगायतका नौं वाम घटकहरुले राष्ट्रघातका विरुद्ध सडक अन्तरक्रिया गर्ने भएका छन् । नेपालका कुटनीतिज्ञ तथा विषय विज्ञहरु समेतको सहभागितामा गरिने नौं वामघटकले बुधबार जारी संयुक्त प्रेस वक्तव्यमार्फत् जनाएका छन् ।

मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, सी.पी. मैनाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माले), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, साध्यबहादुर भण्डारी नेतृत्वको जनमोर्चा, नेपाल र सुवासराज नेतृत्वको जनसमाजवादी पार्टी, नेपालले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा देउवाले भारत भ्रमणको क्रममा गरेको राष्ट्रघातको घोर विरोध एवम् भत्र्सना गर्दै भनिएको छ, “भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकता विरुद्ध संविधान संशोधनको अभिव्यक्ति दिएका छन् । कोशी उच्च बाँधको डिपिआर तयार गर्ने, अरुण तेस्रो परियोजनाको सिलान्यास गर्ने र त्यसको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिने, पञ्चेश्वर परियोजनाको डिपिआर तयार गर्ने, माथिल्लो कर्णाली परियोजनाको कार्यान्वयन अगाडि बढाउने, भारतले सीमा क्षेत्रमा निर्माण गरेका संरचनाका कारणले नेपाली भूमि डुवानमा परी भएको क्षति र समस्याका बारेमा ठिक ढंगले विषयवस्तु नराखेको, विराटनगर स्थित भारतीय सुरक्षा क्याम्प हटाउन पहल नगरेको इत्यादी कुराहरु नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता तथा राष्ट्रिय हितका विरुद्ध रहेका छन् । उक्त कुराहरुको हामीले घोर विरोध र भत्र्सना गर्दछौं ।”

नौं वाम घटकले नेपालका राष्ट्रियता, जनजीविका लगायतका विषयमा सहकार्य गर्ने पनि वक्तव्यमा उल्लेख गरेका छन् ।