यो भदौ सूर्यमासी पात्रोअनुसार सिँह मैना (महिना) हो । सिँह महिना भएकाले सत्ताका सिँहहरू निकै जोडका साथ डुक्रिएका छन् । अरू कसैको गणणा भएन । मूल्य भएन र महत्वहिन बनाइएकाले उनीहरूको कुरोको छेउटुप्पो पनि रहेन । सिँह यसै त बनको राजा त्यसमा पनि मनुखे जगतको शाषक बनेर सहरमा छिरेपछि अरूलाई किन टेथ्र्यो । मनपरि डुक्रिएर सबैको हुर्मत लिन पल्केको भएर यतिखेर पनि आफ्नो सकली अनुहार देखायो ।
गएको हप्ता नेपाल मण्डलमा चर्चाको शिखरमा रहेका घटनै घटनाका घटना भए । घटना राम्रो पनि हुन्छ र नराम्रो पनि हुन्छ । तर मनुखे जगतमा घटना शब्द नकारात्मक सन्देशको सूचक बन्ने गर्छ । यो कैलुलाई केही घटनाले छोयो । आफू त सूचना बताउने मनुवा परियो । त्यसैले केही घटनाका बारेमा अलिकता बातचित मारौँ । ती सबै घटनाले नेपाल मण्डलका देखिने, सुनिने र पढिने खबरघरहरूलाई लपेट्यो । कसैले समर्थन र कसैले विरोधमा टिकाटिप्पणी गरे । समर्थन् गर्ने ठिक र विरोध गर्नेजति खान नपाएका भतुवा हुन् भन्ने कैलुको ठहर हो । राजनीतिक विश्लेषणका महापण्डितहरूले आआफ्ना वुद्धिका बिर्का खोलेर वौद्धिक विलासमा बबुरा मनुवाहरूलाई वाणिपान गराए । कसैलाई तिता, कसैलाई मिठा र कसैलाई टर्रा वाणि सुनाएर आफ्ना वौद्धिकताको फूर्ति लाउँदै ढुकुरे छाति फुलाए । के थिए त ती घटनाहरू ? क्रमशः चर्चा गरौँ ।
घटना एक
यहि सिँह मैनाको ४ र ५ गते नेपाल मण्डलका अलपत्रकारहरूको बाउ सङ्गठन नेपाल पत्रकार महासङ्घ नाम गरेको डलरबादी संस्थाको चुनावी महासङ्ग्राम भयो । तिनै अलपत्रकारहरूका तीनवटा सिँह सङ्गठनहरू मल्लयुद्धको मैदानमा उक्लिए । रिङभित्र सत्ताधारी दुईवटा सिँहका युनियन र सेन्टर नामका छाउरा एकातर्फ र प्रतिपक्ष सिँहको चौतारी नामको छाउरो अर्कातिर भए । अरू सानातिना फ्याउराहरू चाखे थापेर बसे ।
कसैले सत्ताको फेरो समाए, कसैले प्रतिपक्षको फेरो समाए । अलपत्रकारहरूको समस्यालाई बलियो गरि समाउने र डलरमा नबिक्ने सङ्गठनलाई रिङआउट गरियो । उ एक्लै लड्यो । उसलाई साथमा लिँदा आफ्नो असली अनुहार उदाङ्गो हुने र महासङ्घमा तर मारेर हाइसञ्चसँग डलरको खेती गर्दै खैरे कुइरेका मुलुकतिर मण्डल मार्दा पोल खुल्ने डर पलायो । त्यसैले सत्तामा बसेका आफ्ना मालिक सिँहहरूको आदेश खुरुखुरु पालना गरेर स्वामीभक्ति देखाउँदै सत्ताको ध्वाँसे डकार डकारे । यो समाचारले नेपाल मण्डलका सबै खबरकेन्द्रहरू प्रभावित भए ।
घटना दुई
भोलिपल्ट, अर्थात ६ गते अर्को घटाना भयो । नेकपा माके अर्थात नेपाल कमाउ पार्टी (मारवाडी केन्द्र)मा केजरीवालको नेपाली अवतार नयाँशक्तिबाट केही भोका नाङ्गाहरूको बथान मिसियो । अर्थात एकता भयो । दुई पार्टीको एकतापछि उक्त पार्टीको नाम पनि नयाँ भयो, नेकपा (नशमाके) । नयाँ शक्ति र माके मिलेर नशमाके बन्यो । यो पनि खबरकेन्द्रले निकै जोडतोडका साथ प्रचारमा ल्याए । माकेका सुप्रिमोले आपूmहरूलाई सौतेलो ब्यवहार गरेपछि ठुस्किएर केजरीवालका अवतार बनेर देखाइदिने भन्दै अलग भएका भोकानाङ्गाहरू अन्ततः त्वम् शरणम् गर्दै सुप्रिमोको भजन गाउँदै दुई बर्सको तिर्थाटन पछि उनको कुटिभित्र छिरे ।
कुटी प्रवेस कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा सुप्रिमोले डाक्टर, बैद्य र चन्दलाई आपूmजस्तो हुने सपना नदेख्न भन्दै लल्कारे । कुरो ठिकै हो । उनी जस्तो अरू किन हुन प¥यो ? २०१७ सालमा रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा लगेर राजाका हातमा थमाएर उनकै भजन गाएर बसे । माके सुप्रिमोले जनयुद्ध सहित कम्युनिस्ट पार्टीलाई साम्राज्यवादीहरूको हातमा लगेर थमाइदिए ।
बचेखुचेको शाख पनि चारतारेसँग मिसमास पारेर सत्ताको भत्ता चाटेर मुख मिठ्याइरहेका छन् । त्यसैले आफूजस्तो अरू नहोउन भन्ने कुरा सोह«ैआना मुनासिव हो । अब उनको कुटीमा छिर्नेजती कम्युनिस्ट हुँदैनन् । कम्युनिस्ट हुनु भनेको रुढिवाद हुन्छ । अब उनको पार्टीमा जातिवादी, क्षेत्रवादी, भारतवादी, लोभीपापी, पातपतिङ्गर आदि इत्यादि सबै पस्दैछन् । हिजका दिनमा माके सुप्रिमोले चारतारेलाई प्रतिक्रियावादी भन्थे र सूर्यछापलाई चारतारेको भाइ भन्थे । आज आफ्नो दल घोर प्रतिक्रियावादतिरको यात्रा गरेको हुनाले उनले भने चारतारे र सूर्यछाप जाति आउट । आउट आउट । उनीभित्रै बसेका पनि तुरुन्तै आउट ।
घटना तीन
भदौ अर्थात सिँह ७ गते नेपाल मण्डलमा अर्को घटना घट्यो । त्यो घटना हो जम्बो मन्त्रीमण्डल गठन । चारतारेका डेउडापतिलाई जम्बो मन्त्रीमण्डलका जननी भएकाले उनलाई जम्बोपिता पनि भनिन्छ । आफू सत्ताको सिँह चार पटक भए । सिँह भएका बखत दुईचोटी जम्बो मन्त्रीमण्डल बनाएर किर्तिमानी बने । पहिलोचोटी ५२ जनाको मन्त्रिमण्डल बनाएका डेउडापतिले यसचोटी त्यो रेकर्ड तोडने गरि ५० जना त बनाइसके । अझै आफ्नो पासमा चार पाँचवटा मन्त्रालय राखेर ढडिया थापेका छन् । त्यो ढडियामा पञ्चप्रेतको दल पर्छ कि भनेर आशा गरेका छन् । के थाहा सानातिना भुरेटाकुरे दलहरू पो परिहाल्छन् कि ? बागलुङे उखानबहादुर र झापाली २८ साले कमाण्डरको दल पनि च्याखे थापेर बसेकै छ ।
जम्बो मन्त्रीमण्डल बनाएको भोलिपल्टै अर्को जम्बो जन्तिमण्डल लिएर दक्षिणी कूलदेउताको दर्शन गर्न हिन्दूस्तानी मण्डलतिर उडे । उता गएर गुज्जरभैयाको पाउ पर्दै प्रभुसँग आशिर्वाद मागे । प्रभुले पनि भक्त आएकोमा प्रशन्न हुँदै दोस्रो दिन दिनुपर्ने दर्शन जाँदाकै दिन तत्क्षेण दिइहाले । भोलिपल्टको भेट र भलाकुसारीमा डेउडापतिले प्रभुमहाराजलाई खुस पार्न भन्दै संसदबाट फेल भइसकेको संविधान संसोधनलाई फेरि दुइतिहाई पुर्याएर पास गराउने बाचा बन्धन गरे । बाचासँगै दुइतिहाई पु¥याइदिन याचाना पनि गरे ।
नेपाल मण्डलमा लेखिएको संविधान उनको इच्छा विपरित भएकाले संविधान जारि भएदेखि नै प्रभु रिसाएर रौद्ररूप लिएर नेपाल मण्डललाई भष्म पार्न खोजेका थिए । अझै पनि उनको क्रोध शान्त नभएकाले झन् संसोधन प्रस्ताव फेल भएको झोँकमा प्रभु रिसाएर पहिलेकै रूप धारण नगरुन भनेर डेउडापतिले चलाखीपूर्ण कूटनीति अपनाउँदै कुनै पनि बखत दुइतिहाई पु¥याएर पास गराइछाड्ने बाचा गरे । क्या वात डेउडापति । यो हो सिँहको असली गर्जन । यसरी एकै हप्तामा ऐतिहासिक महत्वका इत्यादि घटाना भए, नेपाल मण्डलमा । यो पक्कै पनि भोलेनाथको कृपा हुनु पर्छ । जय भोलेनाथ ।
११ भदौ २०७४






























