काठमाडौं । क्यान्सरजस्तो प्राणघातक रोगबाट थलिएर काठमाडौंको केएमसी अस्पतालमा एक हप्तादेखि उपचार गराइरहेका जनयुद्धका शहीद खड्ग राउतका बुवा रोमबहादुर राउतले नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’लाई शहीदको सपना पूरा गर्ने विश्वास तपाई र तपाईहरुको पार्टीप्रति रहेको भन्दै ‘शहीदको सपना मर्न नदिनुस्’ भनेका छन् । मंगलबार दिउसो क्यान्सर रोगसँग लडिरहेका शहीदका बुवा राउतको स्वास्थ्य स्थितिको जानकारी लिन अस्पताल पुगेका अध्यक्ष वैद्यसँग कुरा गर्दै राउतले यस्तो आग्रह गरेका हुन् । वैद्यसँग उनले आफ्नो स्वास्थ्य उपचारमा समेत भनसुन गरिदिन आग्रह गरे ।
सो अवसरमा क्यान्सर उदयुपर कटारी नपा– ११, गोठडाँडा निवासी पीडित राउत आफैले जेठो छोरा खड्ग राउतलाई अबीर माला लगाएर जनयुद्धमा पठाएको स्मरण गर्दै भक्कानिए । शहीदका बुवाको हात समाउँदै अध्यक्ष वैद्यले भने, “हामीले शहीदका सपना मर्न दिने छैनौं । चिन्ता नगर्नुस् । स्वास्थ्य लाभको कामना छ । भनुसुन गर्नुपर्ने ठाउँमा गरौंला ।”
०५८ साल जेठ ५ गते तत्कालीन शाही नेपाली सेनाले उदयपुरको त्रियुगा नपा–६ खैजनपुरमा सेल्टर लिएर बसेको अवस्थामा सुराकीको सूचनाको आधारमा घर घेरा हाली पक्डेर नजिककै जंगलमा लगेर खड्ग राउत र विनोद पोखरेललाई दोहोरो भीडन्तको नाममा विभत्स तरिकाले हत्या गरेको थियो । उहाँहरु दुवै जना विध्यार्थी नेता हुनुहुन्थ्यो । उदयपुरको हर्देनी गाविस–१, गोठडाँडामा जन्मिएका शहीद खड्ग राउत सानै देखि विद्रोही स्वभावको हुनुहुन्थ्यो ।