काठमाडौं । आफ्नो हक, हित र अधिकार रक्षा तथा सम्बद्र्धनका लागि देशैभर छरिएर रहेका टेम्पोदेखि हवाइजहाज चालक तथा सहचालकहरु संगठित भएका छन् ।
३ भदौ, ०७४ मा प्रथम राष्ट्रिय भेला सम्पन्न गरी ‘नेपाल क्रान्तिकारी चालक दल’ निर्माण गरेका उनीहरुले सम्पूर्ण चालकहरुको सञ्चयकोषको व्यवस्था गरिनुपर्ने, चालकहरुको हक, हित र अधिकार स्पष्ट हुने गरी यातायातको कानून निर्माण गर्नुपर्ने, दुर्घटनामा परी चालकको मृत्यु वा अंगभंग भएमा राज्यले सम्बन्धित परिवारलाई एकमुष्ट रकम उपलब्ध गराउनु पर्ने, निमुखा गरिब चालकहरुको स्वास्थ्य र शिक्षामा ५० प्रतिशत छुट दिनु पर्ने, सडकमा स्पष्टरुपमा ट्राफिक संकेतहरुको प्रष्टरुमा देख्नेगरी राखिनु पर्ने, सडकमा अव्यवस्थित रुपमा रहेको फोहर मैला, धुलो धुँवाको वैज्ञानिक व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरु राखेर संगठित भएका छन् ।
पाइलटहरु विजय लामा, डिके बुद्धिस्ट, ओवि गुरुङ, सुवास रिजाललगायतका पाइलटहरु समेत क्रान्तिकारी चालक दलमा सम्मिलित हुने तयारीमा रहेको चालक दलका संयोजक राजभाइले जानकारी दिए ।
उक्त चालक दलको केन्द्रीय बरिष्ठ सल्लाहकारको रुपमा रहेका सन्ध्या प्रधानले बताए अनुसार यो चालक दलले सम्पूर्ण यातायात सवारी चालकहरुलाई गोलबद्ध गरी योजनाबद्ध र संगठित रुपमा यातायात क्षेत्रलाई सञ्चालन गर्ने र यस क्षेत्रका अराजकता र विकृतिहरु निमूल पार्ने योजना तय गरेको छ ।
उक्त चालक दलका सहसंयोजक सुरेश घिमेरेले दिएको जानकारी अनुसार नेपाल क्रान्तिकारी चालक दलको केन्द्रीय समिति २१ सदस्यीय रहेको छ । घिमिरेका अनुसार समितिको आइतबार ललितपुरको कुपण्डोलमा बसेको प्रथम बैठकले राष्ट्रिय भेलाको समीक्षा, देशव्यापी संगठन विस्तार तथा कार्यालय व्यवस्थपन लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
क्रान्तिकारी चालक दलमा आवद्ध चालकहरुले यसलाई स्वतन्त्र र साझा संगठनको रुपमा अगाडि बढाउने जनाएका छन् ।































