एजेन्सी । उत्तर कोरियाले शनिबार बिहान तीन वटा छोटो दुरीका क्षेप्यास्त्रको परीक्षण गरेको छ ।
अमेरिकाको सेनाले उत्तर कोरियाले छोटो दूरीका तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको हो ।
एउटा वक्तव्यमार्फत अमेरिकी प्यासिफिक कमाण्डले पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएका र दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको जनाएको छ ।
उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ ।
गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले गुआममा क्षेप्यास्त्र हमला गर्ने अमेरिकालाई चेतावनी दिएको थियो ।
दक्षिण कोरयाली सेनाले उत्तर कोरियाले पूर्वी समुद्रमा थुप्रै क्षेप्यास्त्रहरु परीक्षण गरेको देखिएको जनाएको छ ।
प्योङयाङले पछिल्ला महिनाहरुमा आफ्नो क्षेप्यास्त्र परीक्षण कार्यक्रममा तीव्रता दिएको छ ।
दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्रले करिब २५० किलोमिटरको दूरी तय गरेको थियो ।
स्थानीय समय अनुसार शनिवार बिहान ६ बजेर ४९ मिनेट जाँदा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनाले बताएको छ ।
अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले भनेका छन, ‘पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएका थिए, दोस्रो क्षेप्यास्त्र तत्कालै विस्फोट भएको जस्तो देखिन्छ ।’
उत्तर कोरियाले ३० मिनेटको अन्तरालमा ती क्षेप्यास्त्रहरु परीक्षण गरेको थियो ।
दक्षिण कोरियामा हजारौं अमेरिकी तथा दक्षिण कोरियाली सेनाले अहिले संयुक्त अभ्यास गरिरहेका बेला उत्तर कोरियाले यो क्षेप्यास्त्र परीक्षण गरेको हो ।
दुई देशको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले निरन्तर विरोध जनाउँदै आएको छ ।































