एजेन्सी । भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कारको मुद्दामा दोषि ठहर गरेपछि हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन भएको छ ।
प्रदर्शनका क्रममा हालसम्म ३१ जनाको मृत्यु भएको छ भने दुई सय ५० भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मी र सञ्चार माध्यमका प्रत्यक्ष प्रसारण गरिरहेका गाडीमा समेत तोडफोड र आगजनी गरेका छन् ।
हरियाणाको धार्मिक संगठन ‘डेरा सच्चा सौदा’ का प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजना गराएको आरोप लागेको थियो ।
पञ्चकुला विशेष अदालतले उनीलाई बलात्कार मुद्दामा दोषि ठहर गरेको हो । अदालतले सजाय भने आउँदो सोमबार सुनाउने छ । त्यतिञ्जेलसम्मका लागि उनलाई सैनिक हिरासतमा पठाइएको छ । उनलाई अदालतले दोषी ठहर गरे लगत्तै समर्थकले हिंसात्मक प्रदर्शन गरेका हुन् ।