नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त सिंहावलोकन

नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त सिंहावलोकन

 

आज नेपाली कम्युनिष्ट आन्दोलनले ६८ वर्ष पार गरिसकेको छ । यति लामो ऐतिहासिक अबधिमा यस आन्दोलन भित्र वर्ग संघर्ष र दुईलाइन संघर्ष, अन्तः संघर्षका अनेकौं जटिल, बाङ्गाटिङ्गा र कहालीलाग्दा घुम्तिहरु रहेका छन् । यद्यपि यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समूह–उपसमूहहरुमा विभाजित अवश्यै रह्यो । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी धारा र संशोधनवादी दुई परस्परविरोधि धाराकै बिचको द्वन्द्व प्रमुख बनेर आयो ।

आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी, सुधारवादी–संशोधनवादी धारा, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)ले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थी एवम् आधुनिक संशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुग्यो र यसको विपरीत नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा नेकपा (क्रान्तिकारी माओवादीले) आज माक्र्सवादी–लेनिनवादी–माओवादीका रुपमा गुणात्मक ढंगले विकसित हुँदै महान् सशस्त्र जनयुद्ध र शान्तिप्रक्रियामा सामेल हुँदै वर्तमान सन्दर्भमा विगतमा भएका विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष र मुख्यतः जनयुद्धको आधार तथा अनुभवमाथि ध्यान दिंदै नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशा अवलम्वन गर्दै महान् नेपाली नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने कठिन, जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा पुगेको छ । यस बीचमा यो धाराले पहिलो ऐतिहासिक संविधानसभामा भाग लिएर ‘सामन्तवाद तथा साम्राज्यवाद विरोधी जनताको संघीय गणतन्त्रात्मक संविधान’ निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा अवलम्वन गर्न पुग्यो । तर यस कार्यमा प्रतिक्रियावादी र संशोधनवादीहरुको षड्यन्त्रका कारण त्यसलाई विघटन गरेर कथित दोस्रो संविधानसभा निर्वाचन सम्पन्न गरेर प्रतिगामी एवम् पश्चगामी संविधान बनाउने उद्देश्यका साथ अगाडि बढेपछि यो क्रान्तिकारी धाराले २०७० साल मंसिर ४ गते सम्पन्न गरेको कथित दोस्रो संविधानसभा निर्वाचन सशक्त ढंगले बहिस्कार गर्ने तात्कालिक कार्यदिशा अबलम्बन गर्न पुग्यो र त्यसबाट २०७३ असोज ३ गते घोषणा गरिएको संविधानलाई प्रतिगामी घोषणा गर्न पुग्यो र त्यसको खारेजी गरेर जनगणतान्त्रिक संविधान निर्माण गर्ने दिशातिर अगाडि बढ्ने क्रममा हालै सम्पन्न गरिएका कथित स्थानीय तहको निर्वाचनलाई क्रान्तिको तयारी गर्ने सहायक साधनको रुपमा उपयोग गर्ने उद्देश्यले हालै सम्पन्न गरिएको कथित स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने तात्कालिक कार्यदिशा अवलम्बन गरेर अगाडि बढिरहेको छ । यो नै क्रान्तिको द्वन्द्ववाद हो ।

हस्तबहादुर केसी

हामी क्रान्तिकारी कम्युनिष्टहरुले नेपालको इतिहासको अध्ययन गर्न जरुरी छ । नेपाली समाजको अध्ययन गर्न जरुरी छ । नेपाली कम्युनिष्ट आन्दोलनको अध्ययन गर्न र ६८ वर्षे नेपाली कम्युनिष्ट आन्दोलनको सिंहावलोकन गर्न जरुरी छ । सन् १९१७ अक्टुबर २५ मा सम्पन्न भएको महान् रुसी अक्टुबर समाजवादी क्रान्ति, सन् १९४९ अगस्ट १ मा सम्पन्न भएको महान् चिनियाँ नयाँ जनवादी क्रान्ति तथा भारतको तेलङ्गनामा सञ्चालन भइरहेको सशस्त्र संघर्षको प्रभाव र नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकताका बीचबाट २००६ साल वैशाख १० गते अर्थात् २२ अप्रिल १९४९ मा नेपालमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना हुनु एक युगान्तकारी परिघटना थियो । यसले २००६ साल वैशाख १२ गते पहिलो पर्चा प्रकाशित गरेको थियो भने १५ सेप्टम्बर १९४९ मा पार्टीको पहिलो घोषणापत्र प्रकाशित गरेको थियो । त्यही बेला नै नेपाली समाजको स्वरुप अर्धसामन्ती तथा अर्धऔपनिवेशिक भएको संश्लेषण गर्दै नेपालमा सामन्तवाद, साम्राज्यवाद तथा भारतीय एकाधिकारवादका विरुद्ध जनवादी राज्यसत्ता स्थापना गर्नु पर्ने कुरा बताइएको थियो । २००८ सालमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको थियो र क. पुष्पलाललाई महामन्त्रीमा निर्वाचित गरिएको थियो । प्रथम राष्ट्रिय समेलनेमा नयाँ जनवादी कार्यक्रमका रुपमा पार्टीको आधारभूत कार्यक्रम ठोस गरिएको थियो र पार्टीको न्यूनतम लक्ष्य नयाँ जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद तथा साम्यवादलाई बनाइएको थियो । २०१० सालमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । यस महाधिवेशनबाट पुष्पलाललाई हटाएर राजवादी रुझान राख्ने मनमोहन अधिकारीलाई महामन्त्रि बनाइयो । २०१० साल माघ २६ गते तत्कालिन नेपाली कांग्रेसको सरकारले कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगायो । 

२०१३ साल वैशाख ३ गते महामन्त्री मनमोहन अधिकारीले पार्टीले राजाको वैधानिक अधिनायकत्वलाई अंगिकार गर्ने पत्र पठाएपछि २०१३ वैशाख ४ गते सरकारले ५ वर्षदेखि लगाउँदै आएको प्रतिबन्ध हटाइ दियो । त्यसदिनदेखि नेपाली कम्युनिष्ट आन्दोलन भित्र दक्षिणपन्थी संशोधनवादलाई विधिवत रुपमा प्रवेश गराइयो ।

२०१४ सालमा दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न गरियो । राजतन्त्र पक्षधर डा. केशरजंग रायमाझीलाई महामन्त्री बनाइयो । महाधिवेशनमा नयाँ जनवादको पक्षपोषण गरिए पनि दस्तावेजमा उल्लेख गरिएन । तर गणतन्त्रको नारा भने पारित गरिएको थियो । २०१५ सालको पहिलो संसदीय आम निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरियो र चार सीट जित्नमा सफल भयो । २०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा गरिएको फौजीकाण्ड पश्चात २०१७ फाल्गुनमा भारतको दरभंगामा नेकपाको केन्द्रीय प्लेनम आयोजित गरिएको थियो । त्यहाँ राजनीतिक कार्यनीतिका रुपमा संविधानसभाको निर्वाचनलाई स्वीकार गरियो । तर त्यसलाई केन्द्रीय समितिले मानेन । २०१९ सालमा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनमा पार्टी भित्र रुसी आधुनिक संशोधनवादको प्रभाव बढ्न गयो । आधारभूत राजनीतिक रुपमा ‘राष्ट्रिय प्रजातन्त्र’ र मूल राजनीतिक कार्यनीतिका रुपमा सर्वसत्तासम्पन्न सार्वभौम संसदलाई स्वीकार गरियो । दरबारपरस्त डा. रायमाझीलाई गद्धार घोषणा गरेर पार्टीबाट निष्काशन गरियो र तुल्सीलाल अमात्यलाई महासचिव बनाइयो । तेस्रो महाधिवेशन पश्चात पार्टी भित्र तीब्र दुईलाइन संघर्ष चल्यो । यस प्रक्रियामा तुलसीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मूल बाटो’ का बिच तीव्र विवाद भयो । रुपमा मूल बाटो केही सकारात्मक जस्तो देखिए पनि सारमा दुबैका बिच तात्विक अन्तर थिएन । यसै क्रममा अर्थात २०२१।२०२२ तीरबाट पार्टी विभिन्न समूहमा विभाजित भएर छिन्न भिन्न हुन पुग्यो ।

पार्टीमा विभाजनको त्यस प्रक्रियामा मूलतः दक्षिणपन्थी संशोधनवादी धारामा ः १) राजतन्त्रवादी रायमाझी समूह तथा २) खु्रश्चोभ पक्षीय राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम स्वीकार्ने तुलसीलाल समूह देखा परे भने क्रान्तिकारी धारामा माक्र्सवाद–लेनिनवाद–माओविचारधारा तथा नयाँ जनवाद पक्षधर पुष्पलाल समूह देखा परे । नयाँ जनवाद पक्षधर १) २०२५ सालमा पुष्पलाल समूहले भारतको गोरखपुरमा दोस्रो राष्ट्रिय सम्मेलन ग¥यो र नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित ग¥यो । पुष्पलाललाई महासचिवमा निर्वाचित ग¥यो । २) २०२८ सालमा झापामा सशस्त्र विद्रोह गर्ने समूह तथा ३) २०२८ सालमा केन्द्रीय न्यूक्लियस गठन गरि २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न गर्ने समूहका रुपमा विकसित हुन पुगे ।

२०३१ सालमा चौथो महाधिवेशन सम्पन्न भयो । यसमा नयाँ जनवादको आधारभूत राजनीतिक कार्यक्रम र देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारको मूल राजनीतिक कार्यनीति पारित गरियो । यस महाधिवेशनबाट मोहनविक्रम सिहंलाई महामन्त्री बनाइयो । २०२८ सालमा सशस्त्र झापा विद्रोह गर्ने समूहले २०३२ सालमा कोअर्डिनेशन कमिटी कोके माले समूह गठन गरेर अगाडि बढ्यो । यस समूहले जनवादलाई मूल राजनीतिक कार्यनीति तय ग¥यो । २०३५ साल साउन ७ गते पुष्पलालको निधन भयो । पुष्पलाल समूहले आफ्नो नीतिमा कुनै फेरबदल गरेन । कोअर्डिनेशन कमिटी (कोके माले)ले २०३५ पुस ११ गते पार्टी पुनर्गठन गर्न पुग्यो र मूल राजनीतिक कार्यदिशा नयाँ जनवादलाई कायमै राख्यो र माक्र्सवाद–लेनिनवाद–माओविचार धारालाई पथप्रदर्शक सिद्धान्त अंगिकार गर्ने नीति लियो ।

अर्कोतिर चौममा पार्टीभित्र क्रान्तिकारी र अवसरवादी पक्षबीच अन्तरसंघर्ष चल्दै गयो । यस प्रकारका अन्तरसंघर्षहरुमा कैयौं अस्वस्थ प्रकारका थिए । यसैक्रममा २०३७ वैशाख २० गते सम्पन्न जनमत संग्रहमा बहुदलको पक्षमा जाने नीति स्वीकार गरियो । त्यसैक्रममा विश्वमा सञ्चाल भइरहेका विभिन्न समाजवादी देशहरु सहित चीनमा प्रतिक्रान्ति भएको कुरा पनि स्वीकार गरियो । अन्ततः अस्वस्थ दुईलाइन संघर्षका साथै कतिपय वैचारिक मतभेदका कारण पार्टी विभाजन भयो । लामा समूह अलगियो । नेकपा (मशाल) गठन गरियो । २०४१ सालमा पार्टीले पाचौं राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यो । नयाँ जनवाद तथा दीर्घकालिन जनयुद्धमा आधारित आम कार्यदिशा पारित गरियो । देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारको मूल राजनीतिक कार्यदिशालाई हटायो । सत्ता जनतामा हस्तान्तरणको राजनीतिक कार्यनीति स्वीकार ग¥यो । त्यसभित्र पनि दुईलाइन संघर्ष सुरु भयो । अस्वस्थ दुईलाइन संघर्ष र कतिपय वैचारिक मतभेद कारण पार्टी पुनः दुई समूह–नेकपा (मशाल) र नेकपा (मसाल) मा विभाजन हुन पुग्यो ।

यस क्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजन र उपविभाजनका क्रम अझै अगाडि बढे । पुष्पलाल समूहमा विभाजन प्रक्रिया अगाडि बढ्यो । राष्ट्रिय साँस्कृतिक मोर्चा, रोहित समूह, रुपलाल समूह आदि बने । पुष्पलालबाट अलगिएको राष्ट्रिय मुक्ति मोर्चा समूह झापा विद्रोह समूहबाट बनेको माले सुमहमा आबद्ध हुन पुग्यो । यस क्रममा विभिन्न खाले एकीकरण र ध्रुवीकरणका प्रक्रिया पनि अगाडि बढे ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलनपश्चात यस प्रकारको ध्रुवीकरण र एकीकरणको प्रक्रिया तीव्र रुपमा अगाडि बढ्यो । यसै क्रममा एकातिर २०४७ साल पुष ११ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) का बीच एकतामै नेकपा (एमाले) बन्न पुग्यो भने अर्कोतिर नेकपा (मशाल), नेकपा (चौम), अर्थात लामा समूह, सर्वहारावादी श्रमिक संगठन तथा विद्रोही मसाल मिलेर एकीकरण प्रक्रिया अगाडि बढ्यो । २०४८ सालमा नेकपा (एकता केन्द्र) निर्माण भयो । यसले २०४८ सालमा एकता महाधिवेशन गरि माक्र्सवाद–लेनिनवाद–माओवाद, लाई पथप्रदर्शक सिद्धान्त अंगिकार गर्ने र नयाँ जनवाद तथा दीर्घकालिन जनयुद्धको कार्यदिशा अंगीकार ग¥यो ।

त्यसै क्रममा एमाले भित्र क्रान्तिकारी तथा अवसरवादी पक्षका बिचमा भीषण दुईलाइन संघर्ष चल्यो र अन्ततः २०४९ माघमा आयोजना गरिएको पाँचौं राष्ट्रिय महाधिवेशनबाट मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद पारि गरियो र नयाँ जनवादलाई परित्याग गरी बहुदलीय जनवादको संशोधनवादी कार्यक्रम तथा कार्यदिशा अंगीकार गर्न पुग्यो ।  दीर्घकालिन जनयुद्धको प्रक्रियामा जाने वा नजाने भन्ने विषयमा गम्भीर मतभेद पैदा भई २०५१ सालमा नेकपा (एकता केन्द्र) विभाजित हुन पुग्यो र दीर्घकालिन जनयुद्ध पक्षधरद्वारा नेकपा (माओवादी) गठन हुन पुग्यो । लामा समूह एकताकेन्द्र मै रहयो । 

नेकपा (माओवादी) ले २०५२ साल फाल्गुन १ गतेदेखि महान् जनयुद्धको ऐतिहासिक पहल ग¥यो । दश वर्षसम्म सञ्चालन गरिएको जनयुद्धले रणनीतिक रक्षा र सन्तुलनको चरण हुदै प्रत्याक्रमणको चरमा अगाडि बढ्यो । अस्थायी आधार इलाकाहरु बने । जनसत्ता र जनमुक्ति सेनाको निर्माण भयो । दश वर्षे जनयुद्धले देश भित्र मात्र होइन बाह्य मुलुकहरुमा पनि राम्रो प्रभाव पा¥यो । 

२०६२ को चुनवाङ बैठकले दीर्घकालीन जनयुद्धको मूल राजनीतिक कार्यनीतिका रुपमा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा अगीकार गरी १२ बुदे सहमति, विस्तृत शान्ति सम्झौता तथा जनयुद्धको परित्याग, संविधानसभाको दुई पटक निर्वाचन, जनमुक्ति सेनाको विघटन र प्रतिक्रियावादी सेनभित्र विलप लगायतका परि घटनाहरु पार्टीको मूल नेतृत्वबाट घटाइयो । यसै प्रक्रियामा पार्टीमा भीषण दुईलाइन संघर्ष चल्यो र दक्षिणपन्थी नव संशोधनवादीसित सम्बन्ध विच्छेद गरी २०६९ असा २–५ गतेको बौद्ध भेलाबाट नेकपा माओवादी गठन गरियो । नेपाली क्रान्तिको यो निकै महत्वपूर्ण ऐतिहासिक परिघटना थियो । यस पश्चातः पार्टीमा विभिन्न दुईलाइन संघर्ष, विभाजन, एकीकरण र ध्रुवीकरणका विभिन्न प्रक्रिया अघि बढ्दै आएका छन् । 

नेकपा–माओवादी हुदै नेकपा (क्रान्तिकारी माओवादी) को पुनगठन हुन पुग्यो यसले मालेमावादको पथप्रदर्शकमा महान नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने उद्देश्यका साथ अगाडि बढि रहेको छ भने दक्षिणपन्थी नवसंशोधनवादमा पतन हुन पुगेको एमाओवादी हुदै माओवादी केन्द्र विचारविहिन भएर प्रतिक्रियावादी सत्ताको नेतृत्व समेत गर्न पुग्दै अहिले विघटनको संघारमा पुगेको अवस्था छ । झापा विद्रोहबाट अगाडि बढेर माले–एमाले हँुदै आएको एमाले यो समूह प्रतिक्रियावादी बन्न पुगेको छ ।  महान् नेपाली नयाँ जनवादी क्रान्ति र महान् जनयुद्धले गम्भीर प्रकारको धक्का खानु परेको छ । क्रान्तिले यस प्रकारको धक्का खानुका पछाडी एकातिर दक्षिणपन्थी अवसरवादीहरुमा विद्यमान आत्मसमरणवाद तथा क्रान्तिप्रतिको गद्धारी र अर्कोतिर स्वयम् कम्युनिष्ट क्रान्तिकारीका कमीकमजोरी तथा सीमाजस्ता कारणहरुले पनि काम गरेका छन् । आज दक्षिणपन्थी संशोधनवाद नेपाली क्रान्तिको निम्ति मुख्य बाधक बन्दै आएको छ ।

६८ वर्षको लामो नेपाली कम्युनिष्ट आन्दोलनलाई फर्केर हेर्दा र यसको सिंहावलोकन गर्दा के निष्कर्ष पुग्न सकिन्छ भने यस आन्दोलनभित्र विभिन्न बहानाबाजी र तिकडम गर्दै घुस्न सफल भएको दक्षिणपन्थी अवसरवादलाई जरैदेखि उखेलेर नफ्याकेसम्म, नयाँ ढंगको क्रान्ति पार्टी निर्माण गर्न र क्रान्तिलाई लक्ष्यसम्म पु¥याउन सम्भव छैन । इतिहासले सिकाएको पाठ पनि यही नै हो । रुस, चीन लगायतका देशहरुमा पनि पार्टी भित्र मौलाएका दक्षिणपन्थी अवसरवादी झारपातहरुलाई फ्याकेपछि मात्र नयाँ ढंगका क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरेर क्रान्ति सम्पन्न गरिएको इतिहास छ । 

आज हाम्रो देशमा पनि एकता, ध्रुवीकरणका प्रक्रियाहरु चलिरहेका छन् । एकता र ध्रुवीकरणका बारेमा पनि बहस चल्ने गरेका छन् । हामी क्रान्तिकारी माओवादीहरुले यो एकता, ध्रुवीकरणका प्रक्रियामा सही विचारधारात्मक राजनीतिक कार्यदिशामा आधारित रहेर सबै क्रान्तिकारी समूह उपसमूहहरुलाई एकताबद्ध तुल्याउने प्रयत्न गरेर मात्र नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई एकताबद्ध तुल्याउन र दक्षिणपन्थी अवसरवादी तथा संशोधनवादी धारालाई परास्त गर्न सकिने छ । 

माक्र्सवाद–लेनिनवाद– माओवाद, नयाँ जनवाद, नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह, जनवादी केन्द्रीयताको सही अभ्यास लगायतका मान्यतामा आधारित रहेर उच्च स्तरको नयाँ एकताका आधारमा नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माण गरेर मात्र साम्राज्यवादी भूमण्डलीकरणको प्रक्रिया तेजीका साथ अगाडी बढिरहेको सन्दर्भमा यी सबै चुनौतीहरुको सामना गर्दै अगाडि बढ्ने प्रतिबद्धता नै आजको क्रान्तिकारीहरुको मुख्य दायित्व बन्न पुगेको छ । 

नेपाली कम्युनिष्ट आन्दोलनको लामो इतिहासबाट क्रान्तिकारीहरुले शिक्षा लिन जरुरी छ ।

१) जन्मको शैवकालदेखि नै यो आन्दोलन दक्षिणपन्थी संशोधनवादी र संसदवादको दलदलमा फस्दै आएको छ । यो नै नेपाली क्रान्तिको बाधक बन्दै आएको छ । वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद र संसदवाद एउटै तीर बनेर बलवान बनि रहेका छन् । यो नै नेपाली क्रान्तिको बाधक तत्व बन्दै आएको छ । किनकि प्रतिक्रियावादी सरकारमा पार्टी दर्ता गर्ने कम्युनिष्टहरुले क्रान्तिको नेतृत्व गर्न सक्तैनन् । उनीहरु वैचारिक रुपले बन्ध्याकरण भइसकेका हुन्छन् ।

 २) लामो समयदेखी नेपाली कम्युनिष्ट आन्दोलन फुट र विभाजनको शिकार बन्दै आएको छ, फुटको मुख्य कारण विचारधारा, राजनीति तथा कार्यदिशा नै रहने गरेको प्रष्ट हुदै आएको छ । तर कतिपय प्रसंगमा असैद्धाान्तिक तथा अराजनीतिक हिसाबले पनि फुट हुन गरेका उदाहरणहरु पनि छन् ।

३) यस आन्दोलनभित्र दक्षिणपन्थी अवसरवाद प्रभावी बन्न गएको कारण त्यसले सिर्जनशीलता र मौलिकताको नाममा क्रान्तिकारी कार्यकर्ताहरुको ठूलो हिस्सालाई भ्रमित तुल्याउदै आएको छ । त्यसले जडसूत्रवादको विरोधको नाममा अनुभववाद र दक्षिणपन्थी संशोधनवादलाई अँगाल्ने गरेको छ । 

४) यहाँ महत्वपूर्ण शिक्षा लिन कुन कुरामा जरुरी छ भने क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त, राजनीति तथा नेतृत्वको विशेष महत्व हुन्छ । पार्टीमा सही र गलतबीचको संघर्षको प्रक्रियामा क्रान्तिकारीहरु यी विषयहरुबारे सचेत बन्न आवश्यक हुन्छ । यसमा क्रान्तिकारीहरुबाट कमीकमजोरी रहदै आएका छन् । 

५) क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्नु क्रान्तिकारी कम्युनिष्टहरुको मुख्य दायित्व हो । क्रान्तिकारी विचारधारा र कार्यदिशाका आधारमा क्रान्तिकारीहरुले क्रान्ति गर्न योग्य, अनुशासित तथा एकताबद्ध नयाँ ढंगको पार्टी निर्माणका लागि क्रान्तिकारीहरुले विशेष प्रयत्न गर्नु पर्ने हुन्छ तर यस कार्यमा क्रान्तिकारीहरुबाट पनि कमी कमजोरी रहदै आएका छन् । 

अन्त्यमा क्रान्तिका लागि एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण आवश्यक छ । तर यो कार्य सही क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी व्यवहारद्वारा मात्र सम्भव छ ।