काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपरले विजयी सुरुवात गरेका छन् ।
युनाइटेडले वेस्टह्याममाथि ४–० को प्रभावशाली जितका साथ इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरुवात गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टरलाई जिताउने यहि सिजन एभर्टनबाट आएका रोमेलु लुकाकुले दुई तथा एन्थोनी मार्शल र पउल पोग्बाले एक एक गोल गरे ।
३३ औं मिनेटमा लुकाकुले व्यक्तिगत पहिलो गोल गरेपछि पहिलो हाफमा युनाइटेडले १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा युनाइटेडले थप तीन गोल थप्यो ।
खेलको ५७ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ८७ औं मिनेटमा मार्शल तथा ९० औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो र महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले न्युक्यासललाई २–० ले हरायो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ४८ औं मिनेटमा जोन्जो शेल्वी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि न्युक्यासल १० खेलाडीमा सीमित भयो ।
टोटनह्यामका लागि ६१ औं मिनेटमा डेले अली र ७० औं मिनेटमा बेन डेविसले गोल गर्दै जित दिलाए । जितसँगै माउरिसियो पोकेटिनोको टिम टोटनह्यामले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।