नेइमारले गरे पिएसजीमा डेब्यु खेलमै गोल

नेइमारले गरे पिएसजीमा डेब्यु खेलमै गोल

काठमाडौं । विश्व कीर्तिमानी मूल्यमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमारले लिग वानको आफ्नो डेब्यु खेलमा गोल गरेका छन् ।

अनुबन्ध लगतै गत साता भएको फ्रेन्च लिग वानको पहिलो खेलमा कागजी प्रक्रिया नमिलेका कारण खेल्न नपाएका नेइमारले पिएसजीबाट आइतबार राति ग्यांग्वोंसँगको खेलमा डेब्यु गरेका हुन् ।

यो खेलमा पिएसजीले ३–० को जित निकाल्यो । पिएसजीको जितमा नेइमार र एडिन्सन काभानीले गोल गरे भने ग्यांग्वोंका इकोकोले आत्मघाती गोल गरे ।

काभानीको गोलका लागि पनि नेइमारले नै सहयोग गरेका हुन् । नेइमार बार्सिलोनाबाट २० करोड पाउण्डमा पिएसजी गएका हुन् ।