अमेरिकी धम्कीको विरोधमा उत्तर कोरियाली जनताद्वारा विशाल प्रदर्शन

अमेरिकी धम्कीको विरोधमा उत्तर कोरियाली जनताद्वारा विशाल प्रदर्शन

एजेन्सी । उत्तर कोरियामाथि अमेरिकाले दिएको धम्कीविरुद्ध त्यहाँका जनताले राजधानी प्योङयाङमा विशाल प्रदर्शन गरेका छन् ।

राजधानी प्योङयाङ्गस्थित किम इल सुङ्ग स्क्यागरमा दशौं हजार नागरिक भेला भई अमेरिकी धम्कीको विरोधमा प्रदर्शन गर्दै देशभक्तिको सन्देश प्रवाह गरेका हुन् ।

सेतो पोशाकमा भेला भएका प्रदर्शनकारीहरुले उत्तर कोरियाको झण्डा र सर्वोच्च नेता किम जोङ उनको तस्वीरसहित प्रदर्शन गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई तहसनहस बनाउने धम्की दिएलगत्तै उत्तर कोरियाली जनता स्वतस्फुर्त रुपमा सडकमा उत्रिएका हुन् ।

उत्तर कोरियाले अमेरिकी धम्कीलगत्तै अमेरिकी सैन्य बेस क्याम्प रहेको प्यासिफिक द्वीप गुआममा हमला गर्ने योजना बनाएको तथ्य प्रकाशमा आएपछि सो क्षेत्रमा तनाव बढेको छ ।

कोरियाली प्रायद्वीपमा तनावकाबीच उत्तर कोरियाली जनता सडकमा ओर्लिएका हुन् ।

उत्तर कोरियाका रकेट कमाण्डका प्रमुख जनरल किम राक ग्योमले एक विज्ञप्ति जारी गर्दै गुआम द्वीपलाई निशाना बनाएर उत्तर कोरियाले चार वटा मध्यम दुरीका मिसाइल प्रहार गर्ने तयारी गरिरहेको जानकारी दिएको उत्तर कोरियाली सरकारी समाचारसंस्था केसीएनएले जनाएको छ ।