काठमाडौं । चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै आमरण अनशनमा रहेका डा.गोविन्द केसीले माथेमा आयोगका प्रतिवेदन र आफ्ना सुझावका बुँदाहरु नसमेटिए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।
यो विधेयक संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिमा विचाराधीन छ । विधेयकमा परेका संशोधनहरुबारे यो समितिको कार्यदलले अन्तिम रुप दिने तयारी गर्दैछ ।
त्यसको पूर्वसंध्यामा १८ दिनतदेखि अनसनरत डा.केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ऐनलाई जनतामुखी र विद्यार्थीमुखी बनाउन माथेमा प्रतिवेदनका छुटेका बुँदाहरु तथा हामीले दिएका सुझावसमेत समेटेर विधेयक अघि नबढाइएसम्म हामीलाई त्यो कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउँछु ।’
डा. केसीले आफ्नो अभियान कुनै व्यक्ति वा पार्टी विशेषप्रति लक्षित नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘कुनै पनि दलका दिवंगत राजनेताहरुका नाममा संस्था खोल्दा सेवाको ध्येय राखेर राज्यले खोल्नुपर्छ र कुनै पनि खालको व्यापारमा उनीहरुको नाम जोडिनु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’
डा. केसीले ‘सही रुपमा’ चिकित्सा शिक्षा विधेयक नआउँदासम्म अनसन जारी रहने समेत स्पष्ट पारेका छन् ।































