नागासाकी नरसंहारको ७२ वर्ष पुगेको स्मरणमा विशेष कार्यक्रम

नागासाकी नरसंहारको ७२ वर्ष पुगेको स्मरणमा विशेष कार्यक्रम

एजेन्सी । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापानको नागासाकीमा खसालेको परमाणु बमबाट भएको नरसंहारको स्मरण गरिएको छ ।

नागासाकी नरसंहारको ७२ वर्ष पुगेको अवसरमा नागासाकी स्मारक पार्कमा आयोजित समारोहमा प्रधानमन्त्री शिन्जो आबेले सम्बोधन गरेका थिए ।

अमेरिकाले दोस्रो विश्वयुद्धमा जापानलाई घुडा टेकाउनका लागि सन् १९४५ अगस्ट ९ मा नागासाकीमा ‘फ्याट मेन’ नामको परमाणु बम खसाल्दा करिब १ लाख ४० हजारको मृत्यु भएको थियो ।

नागासाकी नगरका मेयर तोमिहिसा ताउले जापान सरकारलाई परमाणु प्रतिबन्ध सन्धीमा सामेल हुन आग्रह गरेका छन् । उनले संयुक्त राष्ट्रसंघका १ सय २२ राष्ट्रले समर्थन जनाएको सो सन्धीमा जापानको सहभागिता माग गरेका हुन् ।

आइतबाट हिरोसिमाका मेयरले पनि जापान सरकारलाई परमाणु र गैरपरमाणु राष्ट्रबीचको सम्बन्ध स्थापित गर्ने र परमाणु मुक्त विश्वका लागि पुलको काम गर्न आग्रह गरेका थिए ।

ताउले सरकारलाई जापानको संविधानको शान्तिपूर्ण आस्थाप्रतिको प्रतिबद्धतालाई संसारप्रतिको आफ्नो दृढतापूर्वक प्रतिबद्धताका लागि तयार गराउन भनेका छन् ।

यद्यपि जापानी प्रधानमन्त्री शिन्जो आबेले सन्धीका बारेमा स्पष्ट रुपमा केही नभनेपनि परमाणु हतियारबाट निशस्त्रीकरणका लागि परमाणु हतियार सम्पन्न र परमाणु हतियारबिहीन राष्ट्रको एउटै बोर्ड बनाउनुपर्नेमा जोड दिए ।

आबेले भने, ‘जापानले दुवै पक्षलाई अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेतृत्व गर्ने संकल्प गरेको छ ।’

सो कार्यक्रममा ५ परमाणु शक्ति सम्पन्न राष्ट्र अमेरिका, चीन, फ्रान्स, रुस, बेलायत र अघोषित परमाणु राष्ट्र इजरायल तथा युरोपियन युनियनसहित करिब ६० देशका प्रतिनिधि सहभागी हुने तालिका थियो ।

संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा परमाणु निशस्त्रीकरण मामिलाका उच्च अधिकारी इजुमी नाकामित्सुले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नागासाकीका जनतालाई पठाएको सन्देश पढेर सुुनाएका थिए ।

जसमा परमाणु हतियार उन्मुलन गर्नका लागि राष्ट्रहरुबीच देखिएको मतभेदलाई अन्त्य गर्ने कुरामा जोड दिइएको छ ।

सन् १९४५ अगस्ट ६ तारिखमा जापानको हिरोसिमामा ७४ हजारको ज्यान जानेगरी भएको परमाणु हमलाको ठीक तीन दिनपछि नागासाकीमा भएको हमला भएको थियो । जसमा करिब १ लाख ४० हजारको मृत्यु भएको थियो ।

हिरोसिमा र नागासाकीमा लगातार अमेरिकाले परमाणु बम हमला गरेपछि अकल्पनीय क्षति बेहारेको जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो ।