एजेन्सी । युद्ध भएको अवस्थामा तयारी अवस्थमा बसेको संकेत दिँदै चिनियाँ जनमुक्ति सेनाले युद्धअभ्यास गरेको छ ।

पछिल्लो समयमा डोकलामलाई लिएर भारतसँगको तनाव, दक्षिण चीन सागरमा बढ्दो अन्तर्राष्ट्रिय हस्तक्षेप र उत्तर कोरियाको परमाणु कार्यक्रमका पृष्ठभूमिमा चीनले क्षेप्यास्त्रसहितको युद्धअभ्यास गरेको हो ।

चिनियाँ वायुसेना र नौसेनाको टोली संयुक्त युद्धअभ्यासमा सहभागी रहेको बताइएको छ ।

चिनियाँ रक्षा मन्त्रालयको वेबसाइटमा प्रकाशित विवरणअनुसार ‘यल्लो सी’ र बोहाई खाडीमा युद्धअभ्यास गरिएको हो । युद्धअभ्यासका क्रममा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका थिए ।

युद्धअभ्यासमा नौसेनाको दर्जनौं पोत र वायुसेनाका १० भन्दा बढी लडाकु विमान सामेल थिए । रक्षा मन्त्रालयका अनुसार आफ्नो हतियारको परीक्षण र तटीय हमला र हवाई लक्ष्यमा अचुक निशानाका लागि सैन्य क्षमता विकास गर्ने उद्देश्यले युद्धअभ्यास गरिएको हो ।

चीनले आफ्नो समुद्री क्षेत्र दाबी गर्दै आएको दक्षिण चीन सागरमा पछिल्लो समय अमेरिकासहितका देशले लगातार हस्तक्षेप गर्दै आएका छन् । केही समय अघि अमेरिकी युद्धपोत दक्षिण चीन सागर क्षेत्रमा पुगेपछि चीनले त्यसको जवाफ दिने भन्दै अमेरिकालाई कडा चेतावनी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर