भारतीय सैनिक डोकलामबाट हटाउन सैनिक अपरेशनको तयारीमा चीन

भारतीय सैनिक डोकलामबाट हटाउन सैनिक अपरेशनको तयारीमा चीन

एजेन्सी । भारत–चीन विवाद उत्कर्षमा रहेका बेला चीनले डोकलाम क्षेत्रबाट भारतीय सैनिकलाई हटाउनका लागि सैन्य अभियानको तयारी गरिरहेको समाचार बाहिर आएको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले एक चिनियाँ विशेषज्ञ ह्यु झियोङको भनाई उदृत गर्दै चीनले भारतसँगको गतिरोध लामो समयसम्म कायम राख्ने पक्षमा नरहेकाले दुई साताभित्र डोकलामबाट भारतीय सैनिकलाई हटाउनका लागि सानो सैन्य अभियान चलाउने तयारी भइरहेको जनाएको छ ।

गत जुन १६ मा चीनले डोकलाम क्षेत्रमा सडक निर्माण गरिरहेका बेला भारतीय सेना हस्तक्षेप गर्न पुगेपछि भारत–चीनबीच विवाद सतहमा आएको हो । चीन र भुटानबीच विवादमा रहेको सो क्षेत्रमा भारतले भुटानको सुरक्षाका लागि भन्दै सेना तैनाथ गरेपछि तनाव सिर्जना भएको हो ।

सन् १८९० मा ब्रिटिस शासन रहेको तत्कालीन सिक्किम र तिब्बतबीच भएको सन्धीअनुसार डोकलाम क्षेत्र चीनभित्रै पर्ने भएपनि सन् १९६२ मा भारतले गरेको नक्सांकनमा भुटानमा पारिएको बताइएको छ ।

भुटानले भने सो क्षेत्रलाई पछि आएर दाबी गर्न थालेको हो । भुटानको सुरक्षाको जिम्मा आफ्नो भएको भन्दै सो भुटान, चीन र भारतबीचको त्रिदेशीय सीमानामा रहेको सो क्षेत्रमा सेना परिचालन गरेको थियो । चीनले भने भारतलाई सो क्षेत्रबाट तत्काल बिनाशर्त सेना फिर्ता लैजान आग्रह गर्दै आएको छ ।

केही दिनअघि चीनले १५ पृष्ठ लामो विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा पछिल्लो समयमा उत्पन्न विवादपछिको अवस्थाबारे जानकारी गराउँदै भारतलाई तनाव कम गर्नका लागि सेना फिर्ता गर्न भनेको थियो ।

चीनले अगस्ट १ मा चिनियाँ जनमुक्ति सेनाको ९० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको सैन्य प्रदर्शनीमा अत्याधुनिक हतियार प्रदर्शन गर्दै सार्वभौमिकताको रक्षा गर्न सक्षम रहेको बताएको थियो ।

केही समययता जारी तनावले एसियाली क्षेत्रमा व्यापक चर्चा पाएको छ भने चीनमा डोकलाम क्षेत्रमा प्रवेश गर्ने भारतविरुद्ध कारबाही गर्नुपर्ने जनमत बढ्दो अवस्थामा छ । यद्यपि चीनले हालसम्म पनि सैनिक कारबाही गर्ने विषयमा मौन बस्दै आएको थियो ।

चीन–भारतबीच कूटनीतिक रुपमा समस्या समाधानको कोशिस गर्न खोजिएपनि चीनले भारतसँग वार्ता गर्नका लागि पहिले सीमा क्षेत्रबाट भारतीय सैनिक हटाउनुपर्ने बताउँदै आएको छ ।

यसअघि डोकलाम विवाद समाधानका लागि चीन र भुटानबीच २२ पटक सम्म वार्ता भएर सहमति नजिक पुगेपछि त्यसको नेतृत्व गरेका तत्कालीन भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले प्रधानमन्त्रीबाट हट्नुपरेपछि रोकिएको छ ।

सोही विवादले उग्ररुप लिएपछि दुई एसियाली राष्ट्रहरु पुनः एक पटक शक्ति प्रदर्शनको होडमा लागेका छन् । भारतले सो क्षेत्रमा चीनले सडक निर्माण गरेपछि सिलिगुडी कोरिडोरमा त्यसको प्रभाव पर्ने भन्दै चिन्तित रहेको छ । चीनले भने छिमेकी देशले गरेका विकास निर्माणका कामबाट मेरो देशमा सुरक्षाखतरा हुन्छ भन्नु पाखण्डीपन भएको बताएको छ ।

चीनले डोकलाम क्षेत्रमा निर्माण गरेको सडकबाट ‘चिकेन नेक’ मा निगरानी गर्ने र यसबाट भारतको पूर्वी सात वटा राज्यलाई असर गर्ने चिन्ताका कारण भुटानसँगको विवादमा समेत हस्तक्षेप गर्न पुगेपछि चीन आक्रोशित बनेको हो ।

चीनले सो क्षेत्रबाट भारतीय सैनिक नहटेसम्म वार्ता नगर्ने बताएपछि कूटनीतिक संवाद नभइरहेका बेला सेना फिर्ता नगरे चीनले फिर्ता गराउन सानो सैनिक अभियान चलाउने बताएपछि त्यसले सो क्षेत्रमा युद्ध हुने भय सिर्जना भएको छ ।