
नेपाल मण्डलमा पूँजीवाद आएको छ । पूँजीवादले जताततै झकास र झिलिमिलि पारेकोले अब समाजवादमा जानुपर्ने भएको छ । त्यसैले संविधानमा नै किटानी गरेर सिधै समाजवादमा जाने भनिएको हो । समाजवादमा जान कोई माइकालालले पनि रोक्न सक्ने छैन । अब कोही कसैले पनि भोक, रोग र नाङ्गो बुङ्गो भएँ भनेर शोक गर्नु पर्ने अवस्था पनि छैन । यदि कसैले विकास भएन भनेर रोइकराई गर्छ, रैती मनुखेहरू भोका नाङ्गा भए भनेर कराउँछ, रोजगारी भएन भनेर नारा लाउँछ र सरकारका विरुद्ध दागा धर्छ भने त्यो मनुखे महाअपराधी हुनेछ । त्यसले सात जुनीसम्म नरकको बास भुगत्नु पर्ने छ । यो मण्डल अब पुरानो छैन । विलकुल नयाँ भएको छ । पैला राजाको सरकार थियो । ऐले प्रजाको सरकार छ । त्यसैले यो व्यवस्थालाई प्रजातन्त्र अर्थात् लोकतन्त्र पनि भन्छन् क्यारे । यतिखेर राजा जङ्गलतिर पसेका छन् । जङ्गलतिरका प्रजा सरकारमा बसेका छन् । राजाले भूमिगत भएर राजनीति गर्दै छन्, भूमिगतवालाहरू हाकाहाकी राजनीति, धननीति, पदनीति र भोगविलासनीति गर्दै छन् । कत्रो परिवर्तन ? उलटका पलट । चारतारे र सूर्यछाप वाला दलहरू ०४७ साल भन्दा अघि जङ्गलतिर थिए । मिस्टर सुप्रिमोको दल गोलघेरेवाला पनि ०६३ साल भन्दा अगाडि जङ्गलतिरै थियो । बाँकी सानातिना गटाङगुटुङवाला दलहरू त यिनै ठूला लाउके दलहरूका उपग्रह दल भए । त्यसैले माउ ग्रह दल जताबाट आए यी पनि त्यतैबाट आएका भैगए । जताजता ग्रहहरू दौडन्छन् त्यतैत्यतै उपग्रहहरू फन्को मार्दै घुम्छन् । यिनको बारेमा धेरै खोतलखातल गर्नु मुनासिव पनि छैन । यहाँ त नेपाल मण्डलका सिण्डिकेटवाला लाउके दल (चारतारे, सूर्यछाप र गोलघेरे दल)का बारेमा मात्रै चर्चा गर्ने जमर्को गरिको छ ।
यी तीन थान सिण्डिकेटवाला लाउके दलहरूले यो मण्डलमा पनि सात समुन्द्र पारिका खैरे कुइरेहरूका मुलुकमा जस्तै पूँजीवाद आएको भनेर ठोकुवा गरेपछि यो कैलुब्राहलाई निकै कुतकुती लागो । पूँजीवाद आएको त राम्रै भयो । मुलुकमै पूँजीवाद आएपछि त यो कैलुब्राहको पनि दिन सप्रिने नै भए भनेर घिरौँले नाक बनाएर लाउके दलहरूसँग पूँजीवादको फेहरिस्त माग्नु परो भन्दै दलका घोषणापत्र हेर्न मन लागो । के भन्छन् त दलहरू भन्दै उनीहरूको धारणा बुझियो । उनीहरूले पूँजीवाद साँच्चै आएको भनेर यसरी दलिल पेश गरे ।




चारतारे दल : ‘हाम्रो त दल नै पूँजीवादी हो । जिल्ला तहदेखि केन्द्रसम्मका लाउके नेताहरू सबै पूँजीपति वर्गका हुन्छन् । हरूवा–चरुवा, सुकुम्वासी, गरिब–गुरुवा, माग्ने, पाखुरा बेच्ने, झुत्रेझाम्रे, हली–गोठाला आदि इत्यादिका गुँडबाट आएकाहरूलाई चुनाउमा भोट हाल्ने बाहेक नेता हुने अधिकारै छैन हाम्रो दलमा । सत्ता र सरकारमा हालीमुहाली गर्ने पनि हाम्रो दल नै पहिलोमा पर्छ । त्यसैले पनि मुलुक पूँजीवादी भयो भन्ने पहिलो आधार हो । दोस्रो आधार भनेको अहिले मुलुकमा खेतिपाती गर्ने काम कम हुन थालेको छ । जताततै दुकानै दुकान मात्रै बढेका छन् । सहरदेखि गाउँसम्मका घरहरू सिमेन्टीका ढलानवाला पक्की बनिरहेका छन् । यो पूँजीवादकै कारण हो । तेस्रो कुरा यो मुलुकका आधाउधी मनुखे विदेशमा गएर पैसा पठाएका छन् । घरघरमा पैसैपैसा छ । गाउँमा पैसा खर्च गर्ने ठाउँ नभएर विदेश गएका तन्नेरीहरूका स्वास्नीहरू सबै सहरमा बसेर खर्च गरिरहेका छन् । यो पनि पूँजीवादकै कारण हो । चौथो कुरा विदेशका ठूलठूला कम्पनीहरूले हाम्रो मुलुकमा उद्योग खोलेर हाम्लाई हाइसञ्चो बनाएका छन् । त्यसैले पनि पूँजीवादको विकास भैसक्यो भन्ने जिकिर हो ।’
सूर्यछाप दल : ‘हाम्रो दलले नि यो मुलुक पूँजीवादमा गैस’को भन्ने ठोकुवा गरेको छ । किनभने धमाधम सहरको विकास भैरहेको छ । त्यसैले पाहाडका कुना कन्दरासम्म नगरपालिका घोषित भइसकेका छन् । ‘नगर’ भनेको गर्न नपर्ने, रेडिमेट भनेको हो । तरुनी तन्नेरीहरूले विदेशमा काम गरेर पैसा पठा’का पठाई छन् । धनीमानी प्रजाहरूले शासन सत्ता चलाउन पा’का छन् । हिजो खेतीप्रधान मुलुक हुँदा रैतीहरूले पेटभर खान नपाएर कत्रो भोकमरी पथ्र्यो । आज खुर्सानी, गोलभेँडा देखि चामल, गहँुसम्म र फलपूmलहरू सबै विदेशबाट आउँछ र सबैले किनेर खान पा’का छन् । पूँजीको विकास नभा’को भए किनेर खाने हाम्रो ताकत काँ’बाट आउँथ्यो र ? त्यसैले पनि पूँजीवाद आएको हो भन्ने हाम्रो दलको सोह«ैआना ठोकुवा हो । हाम्रो मुलुकको बजेट पनि पूँजीबाटै बन्ने हो । त्यो पूँजी पनि विदेशी दातामाताहरूले खुरुखुरु दिएकै छन् । हाम्रो मण्डलका लाउके दलका लाउके नेतादेखि सरखारका लाउके तहका कारिन्दाहरू सबैलाई मोटो मोटो कमिसन आउँच । त्यो पनि पूँजीवादकै करामत हो । हाम्रो दल त झन् एनजिओ र आइएनजिओबाट चलेको छ । त्यो पनि पूँजीवादकै योगदान हो ।’
गोलघेरे दल : ‘पूँजीवाद आएको भएर त हामीले जनयुद्ध सनयुद्ध छोडेर धनयुद्ध र पदयुद्धमा लागेको हो । हिजो सामन्तवादमा काठमाण्डुमा मात्रै एउटा सिँहदरबार थ्यो । आज गाउँगाउँमा सिँहदरबार पुगेको छ । जताततै नगर, उपमहानगर र महानगरहरू दर्जनका दर्जन थपिएका छन् । गाउँ र सहर चिन्नु बिन्नु क्यै छैन । सबै उस्तै भएका छन् । गाउँका मनुखेहरूले पनि खेतिपाती छाडेर ब्यापारमा लागेका छन् । कसैले जग्गाको कारोबारमा लागेका छन् । क्वै डोजरसोजर चलाएर पैसा कमाएकै छन् । कोही यसो मेसो मिलाएर चन्दन् सन्दन्, सुन, किरा फट्याङ्ग्रा आदि इत्यादिको ब्यापारमा लागेका छन् । जनयुद्ध हाँकेका ठूलाठालु नेता जति केन्द्रको सिँहदरबारमा छिरेर मन्त्री, सांसाद खाइसके । सानातिना भुरेटाकुरे मुखिया नेताहरू पनि अहिले गाउँको सिँहदरबारमा छिरेका छन् । गाउँटोलसम्म सिँहदरबार पुगेपछि अब सबै मनुखेले सिँहदरबार खाने, सिँहदरबार लाउने, सिँहदरबार ओढ्ने, बिछ्याउने, सिँहदरबारमै सुत्ने गरे भैगयो । राजा जङ्गलतिर लखेटिए, हामी सत्तातिर उक्लियौँ । पूँजीवाद आएको यो भन्दा ठूलो प्रमाण अरू के हुन्छ ? त्यसैले हाम्रो दलले जनवाद पूरा भयो भनेको छ । हिजो हाम्रा टाउकाको मोल तोक्नेले अहिले हाम्लाई नेता मानेर हाम्रो वरिपरि फन्का मारेका छन् । कहिले चारतारे दलका लाउकेहरूलाई कहिले सूर्यछापका लाउकेहरूलाई हामीले नै पर्धानमन्त्रीको पगरी गुथाइदियौँ । हाम्लाई मार्न बन्दुक र तोपगोला लिएर हिँड्ने सेना पुलिसले हाम्लाई सलोट मार्छन्, हाम्रो सुरक्षमा तैनाथ भएर अहोरात्र खटेका छन् । जनवाद नआ’को भए यो सम्भव थ्यो ? त्यसैले जनवाद आयो भन्नु नै पूँजीवादको विकास भएको सबुत प्रमाण हो । जनवादले धनवाद ल्याउँछ, धनवाद भनेकै पूँजीवाद हो ।’
यसरी सिण्डिकेटवाला दलहरूले नेपाल मण्डलमा पूँजीवादको विकास भयो भनेर निकै जोडबलका साथ तर्क पेश गरेपछि यो कैलुब्राहलाई पनि पत्याउन करै लागो । पूँजीवाद त आएकै रैच । सुद्धि हुन्यालाई चेतना भया । जय पूँजीवाद ।
२० साउन २०७४
पबष्गिदचबजबठघ२नmबष्।िअयm