काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई तथा सल्लाहकार जारेड कुश्नरले रुससँगको अनुचित सम्बन्ध अस्वीकार गरेका छन् ।
गत वर्षको राष्ट्रपतीय निर्वाचनमा रुसीहरुसँग अनुचित रुपमा भेट गरेको विषयमा सिनेटमा बयान दिनुअघि लिखित वक्तव्य जारी गर्दै उनले आफू रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको समितिलाई खुसीसाथ जानकारी बाँड्न तयार रहेको बताएका छन् ।
गतवर्षको निर्वाचनमा रुसी हस्तक्षेपमाथि अमेरिकाका दुवै सदन र एउटा विशेष कमिटीले अनुसन्धान गरिरहेको छ ।
उनले चुनावी अभियानका क्रममा चार पटक रुसी प्रतिनिधिहरुसँग सम्पर्क राखेको बताएका छन् । गत वर्षको जुनमा रुसी वकिल नातालिया भेसेल्नित्स्कायासँग भेटेको भने उनले स्वीकार गरे ।
ती वकिलले हिलारी क्लिन्टनको अभियानलाई क्षति पुर्याउने सामग्री दिने वाचा गरेको बताइएको छ ।
तर कुश्नरले आफू त्यो बैठकमा ढिलो पुगेको र त्यहाँ खासै महत्वपूर्ण कुरामाथि छलफल नभएको थाहा पाएपछि आफूले समय बर्बाद गरेको जस्तो लागेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार रुससँग सहकार्य गरेको अस्वीकार गरेका छन् भने रुसले पनि आफू संलग्न नभएको बताएको छ ।






























