‘चिनियाँ जनमुक्ति सेनालाई हल्लाउनु पहाड हल्लाउनु जत्तिकै कठिन’

‘चिनियाँ जनमुक्ति सेनालाई हल्लाउनु पहाड हल्लाउनु जत्तिकै कठिन’

एजेन्सी । चीनले भारतसँगको सीमा क्षेत्रमा थप सैनिक फौज परिचालन गर्ने र आफ्नो सम्प्रभुताको जुनसुकै मूल्यमा पनि रक्षा गर्ने स्पष्ट पारेको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ताले एक पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय सेना सीमा क्षेत्र पार गर्नु भनेको चिनियाँ क्षेत्रको उल्लंघनका साथै अन्तर्राष्ट्रिय नियमको समेत उल्लंघन भएको बताएका छन् ।

चीनको रक्षा मन्त्रालयले भनेको छ, ‘जनमुक्ति सेनाको पछिल्लो ९० वर्षको इतिहासले चीनको सम्प्रभुता र क्षेत्रको रक्षा गर्नका लागि प्रतिबद्ध रहेको स्पष्ट छ ।’

पत्रकार सम्मेलनका क्रममा रक्षा मन्त्रालयका प्रवक्ता वु कियाङले सीमा क्षेत्रमा थप सेनाको तैनाथी गर्न लागिएको जानकारी समेत दिए । चिनियाँ जनमुक्ति सेनालाई हल्लाउनु पहाड हल्लाउनु भन्दा पनि कठिन हुने उनको चेतावनी छ ।

यद्यपि विवादित क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाको तैनाथी र अन्य प्रशिक्षणबारे थप कुनै जानकारी दिइएको छैन । गत जुन महिनामा चीनले सिक्किम र भुटानको डोकलाम क्षेत्र नजिकै सुरु गरेको सडक निर्माण कार्यलाई भारतीय सेनाले अवरोध गर्न खोजेपछि विवाद सुरु भएको हो ।