माकेको ‘प्रतिक्रियावादी’ चरित्र र नयाँ जनवादी क्रान्ति

माकेको ‘प्रतिक्रियावादी’ चरित्र र नयाँ जनवादी क्रान्ति

पुष्पकमल दाहाल‘प्रचण्ड’ र उनी नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले पछिल्लो दशकमा खेलेको भूमिकाले विघटनको अन्तिम अवस्थामा पुगेको दलाल तथा नोकरशाही पुँजीवादमा आधारित प्रतिक्रियावादी संसदीय राज्यव्यवस्था तथा सत्तालाई सुदृढ तुल्यायो । मृत्युशय्यामा छट्पटाइरहेको दुनियाँभर बद्नाम संसदीय व्यवस्थालाई बँचाउन कांग्रेस, एमाले लगायतका पुराना संसदवादी पार्टीहरु र तिनका नेतृत्वहरुले सकिरहेका थिएनन् तर माओवादी केन्द्र र त्यसको नेतृत्वले स्थानीय तहको निर्वाचनसम्म आइपुग्दा त्यो व्यवस्थालाई पुनर्जीवन दिने काम मात्र गरेको छैन, यसलाई सुदृढ गर्न भएभरको शक्ति खर्चेर लागिपरेको छ । मानौं यो संसदीय व्यवस्था उनीहरुकै विर्ता हो । 

यही संसदीय व्यवस्थाको समूल अन्त्यका निम्ति करिब १७ हजार नेपाली आमाका सर्वोत्तम छोराछोरीहरुको ज्यान जाने गरी भएको महान् दशवर्षे जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड र उनी नेतृत्वको पार्टीले संसदीय व्यवस्था सुदृढ गर्न लागिपरेकोमा पश्चाताप होइन गर्व महसुस गरिरहेको उनीहरुका भनाइ र गराइबाट बुझ्न सकिन्छ । दशवर्षे जनयुद्धको कालखण्डमा सहर र सदरमुकाममा सीमित हुन पुगेको सिंहदरबारको शासनलाई गाउँ गाउँमा पु¥याएकोमा माकेजनहरु हर्षोल्लासमा छन् । भएभरको शक्ति लगाएर उनीहरुले त्यसैको प्रचार गरिरहेका छन् । मूलतः जनयुद्धकै कारण सहर सदरमुकाममा खुम्चिएको पुरानो व्यवस्थाको जनविरोधी शासन व्यवस्थालाई स्थानीय तहको निर्वाचनमार्फत् गाउँ गाउँमा पुनस्र्थापित गराउँदा उनीहरु यसैलाई ठूलो उपलब्धि ठानिरहेका छन् । त्यसमाथि विगतका सबै राष्ट्रघाती शासकहरुलाई उछिन्दै आफू प्रधानमन्त्री भएको बेला भारतीय शासकवर्गसँग गरेको २५ बुँदे राष्ट्रघाती सम्झौताले प्रचण्ड र उनको पार्टीलाई ‘लम्पसारवादी’को रुपमा बद्नामित रुपमा सर्वत्र स्थापित गरायो तर त्यति हुँदा पनि उनीहरुमा त्यसको (कमी कमजोरीको) कुनै महसुस पाइन्न । बरु उनीहरुलाई पश्चाताप त दशवर्षे जनयुद्ध गर्नुपरेकोमा हुन थालेको जस्तो देखिन्छ । उनीहरुको पछिल्लो केन्द्रीय समितिमा प्रस्तुत दस्तावेजको मूल स्प्रिट हेर्दा पनि त्यही निष्कर्ष निकाल्न सकिन्छ । 

दशवर्षे जनयुद्धको कालखण्डमा प्रतिक्रियावादी करार गरेर वर्गदुश्मन मानेको कांग्रेससँग सत्तास्वार्थका लागि गरेको गठबन्धनदेखि चुनावी तालमेलसम्म आइपुग्दा त आम जनताले कांग्रेस र माकेमै फरक देख्न छाडिसकेको अवस्था छ । अहिले कांग्रेस, एमाले र माकेहरुले भट्याउने नारा प्रायः एउटै छ– यही व्यवस्था, सत्ता र संविधानको सदृढीकरण, कार्यान्वयन । नयाँ बोटलमा पुरानै रक्सीको व्यापारमा उद्दत यी पार्टीहरुले जनतामा छरेको भ्रमको पर्दाफास हुन अब समय लाग्ने छैन । अब माओवादी केन्द्रलाई हेर्ने आम श्रमजीवि जनताको नजर पनि कांग्रेस, एमाले भन्दा फरक हुने छैन, जनयुद्धको इतिहासको ब्याज खाएर लामो समयसम्म उसले जनतामा विभ्रम खडा गर्न सक्ने छैन । माओवादी केन्द्र परिवर्तनकारी शक्ति होइन बरु परिवर्तनको प्रक्रियालाई बिचैमा अबरुद्ध पार्ने शक्तिको रुपमा अर्थात् प्रतिक्रियावादी शक्तिको रुपमा अगाडि आएको छ । यो देशका करोडौं मुक्तिकामी जनसमुदायले यसको महसुस गर्न थालिसकेका छन् । 

वर्गीय र राष्ट्रिय मुद्दाहरु सडकमै मिल्क्याएर देशी विदेशी प्रतिक्रियावादी वर्गसँग आत्मसमर्पण गर्न पुगेका प्रचण्ड र उनी नेतृत्वको पार्टीले कथित ‘प्रचण्डपथ’को बहस झिकेर जनतामा र जनयुद्ध लडेर आएका नेता कार्यकर्तामा अर्को विभ्रम पैदा गर्न खोजेको छ । जनयुद्ध र जनयुद्धले बोकेका एजेण्डाहरुमाथि गद्दारी गर्न पुगेका माकेभित्रका प्रचण्ड हुनमानहरुले प्रचण्डपथको बहस झिकेर बद्नाम नेतृत्वको देवत्वकरण मात्र गर्न थालेका छैनन्, त्यो पार्टीभित्र जनयुद्ध लडेर आएका नेता कार्यकर्तामा बढ्दो नेतृत्वप्रतिको असन्तुष्टी, अविश्वास, पलायन र विद्रोहलाई रोक्ने अस्त्रको रुपमा प्रयोग गर्न खोजेका छन् । तर जे जस्तो नौटंकी गरेपनि माओवादी केन्द्रभित्र भएका इमान्दार, क्रान्तिकारी र देशभक्त स्वाभिमानीहरु अब त्यो पार्टीमा रहने स्थिति छैन ।

मुलुक अहिले पनि नयाँ जनवादी क्रान्तिको चरणमा छ । यो विश्लेषणमा माकेभित्रकै अधिकांश नेता कार्यकर्ताहरु (अवसरवादी र नवधनाढ्यबाहेक) सहमत छन् । विप्लव नेतृत्वको नेकपाभित्र पनि यो विश्लेषण नै मूल बुझाइको रुपमा रहेको छ । एमवि नेतृत्वको मसालमा पनि यही विश्लेषणमा अधिकांश नेता कार्यकर्ता सहमत देखिन्छन् । अन्य साना वाम पार्टीहरु पनि यसमा सहमत देखिएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)ले यसै विषयमा अलग्गै दस्तावेज नै तयार पारेर बहसको प्रक्रिया अगाडि बढाइरहेको छ । अब नयाँ जनवादी क्रान्तिका पक्षधर सबै वामपन्थी तथा कम्युनिष्ट क्रान्तिकारीहरु एकै ठाउँमा उभिन जरुरी छ । र, कार्यदिशामा बहस केन्द्रित गर्न जरुरी छ ।

समाजको चरित्र अहिले पनि अर्धसामन्ती तथा अर्ध÷नव औपनिवेशिक रहेको छ । सामन्तवाद र साम्राज्यवादविरोधी आन्दोलन अर्थात् मुख्यतः राष्ट्रिय मुक्ति आन्दोलन अबको क्रान्तिको मूल चरित्र बन्दै गएको छ । मालेमावादको वैचारिक आलोकमा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशाबाट नै नयाँ जनवादी क्रान्तिले पूर्णता पाउने देखिन्छ । यो महान मुक्तिकामी अभियानका प्रमुख अबरोधकका रुपमा अब माओवादी केन्द्र र प्रचण्डहरु नै अगाडि आउने देखिन्छ । यसर्थ, नयाँ जनवादी क्रान्तिका पक्षधर क्रान्तिकारी शक्तिले माके र प्रचण्डहरुलाई ‘प्रतिक्रियावाद’ करार गरेर वर्गदुश्मनको कित्तामा राखेर अगाडि बढ्न अब ढिला गर्नु हुन्न ।