देशभक्त जनगणतान्त्रिक मोर्चाको भूमिका र कार्यभार 

देशभक्त जनगणतान्त्रिक मोर्चाको भूमिका र कार्यभार 

नेपालमा प्रगतिशील राजनीतिक आन्दोलन खास गरेर कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्ट आन्दोलनको शुरुवात भएको लगभग सात दशक लामो समायवधि पूरा हुन लागेको छ । स्थापनाकालमा नेपाल कम्ुनिष्ट पार्टीले देशको आर्थिक सामाजिक परिवर्तनका लागि क्रान्तिको स्पष्ट र ठोस नीति एवं कार्यक्रम तय गर्न असमर्थ रहेतापनि कालान्तरमा पार्टीका संस्थापक महासचिव क.पुष्पलाल श्रेष्ठको अगुवाई र नेतृत्वमा नयाँ जनवादी क्रान्ति गर्नुपर्ने निष्कर्ष निकालिएको थियो । नेपालको आर्थिक–सामाजिक अवस्थाको सन्दर्भमा उक्त नीति सही थियो र अद्यापि सही रहेको छ। भनाईको तात्पर्य अहिले पनि नेपालको राष्ट्रिय स्वधिनता र जनतन्त्र दुवै संकटपूर्ण अवस्थामा रहेका छ । त्यसअनुसारको अवस्थबाट उन्मुक्ति पाउनका निम्ति नयाँ जनवादी क्रान्ति अपरिहार्य छ । 

नेपालमा रुसी अथवा पूर्व सोभियत संघको प्रभावमा रहेका कम्युनिष्ट समुह बाहेक अन्य समुहहरुले शुरुमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक लाइन अबलम्बन गर्दै आएका थिए । कम्युनिष्ट पार्टी र आन्दोलनमा ब्यापक टुटफुटको क्रम चल्दै जाँदा अहिले करिव दुई दर्जनको हाराहारीमा कम्युनिष्ट समुहहरु अस्तित्वमा रहेका छन् । ती समुहहरु मध्ये कतिपयको प्रतिक्रियावादी खेमामा पतन भैसकेको छ, जसको ज्वलन्त उदाहरणका रुपमा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)लाई  लिन सकिन्छ । त्यसैगरी कतिपय समुहहरुले नयाँ जनवादी क्रान्तिको पक्षमा वकालत गरे पनि व्यवहारतः संसदीय भासमा जाकिदै गएर प्रतिक्रियावद उन्मुख भैसकेका छन् । 

यसरी कम्यनिष्ट आन्दोलनमा टुटफुट, विचलन र प्रतिक्रियावादीकरणको प्रक्रिया तिब्र गतिमा भैरहेको अवस्थामा क्रान्तिकारी नीति र कार्यक्रमका आधारमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने प्रश्न निकै जटिल एवं गम्भीर रुपमा उपस्थिति भएको छ । उक्त ऐतिहासिक कार्य एवं जिम्मेवारीलाई पूरा गर्नका लागि नेपालको एकमात्र सर्वहारावर्गको सच्चा प्रतिनिधी पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) आफ्नो नीति एवं कार्याक्रमलाई त्यस दिशामा अगाडि बढाउन प्रयत्नशील रहेको छ ।  देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद हुँदै साम्यवादी समाज निर्माणको दिशामा अगाडी बढ्ने जस्तो महान् उद्देश्य प्राप्तिको र सफलता चानचुने विषय होइन । त्यो कार्य आफैमा गौरवशाली र चुनौतीपूर्ण छ । त्सका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारात्मक मार्गदर्शनमा एउटा सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा बलप्रयोगको सिद्धान्तलाई अंगिकार गरेर अगाडी बढ्नु त पर्छ नै साथसाथै सम्पूर्ण क्रान्तिकारी, परिवर्तनकामी र प्रगतिशील शक्ति र पक्षहरुलाई  समेटेर संयुक्त मोर्चा निर्माण गर्नु पनि उत्तिकै आवरश्यक हुन्छ । त्यसरी कम्युनिष्ट पार्टीको नेतृत्वमा बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै संयुक्त मोर्चाको गठन र त्यसका नीति एवं कार्यक्रमलाई सिपालु एवं सफलतापूर्वक कार्यान्वयन गरेर मात्र क्रान्तिको अभिभारा पूरा हुन सक्दछ ।

नेपालमा नयाँ जनवादी क्रान्तिको सफलतालाई अगाडि बढाउनका लागि अत्यन्तै खड्किएको र अपूरो रहेको पक्ष भनेको संयुक्त मोर्चा निर्माण र त्यसको प्रभावकारी संचालनको पक्ष नै हो । त्यस प्रकारको ऐतिहासिक कामलाई पूरा गर्ने तर्फ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले गम्भीरतापूर्वक ध्यान दिएको छ । त्यस तर्फ ठोस पहलकदमी समेत लिएको छ । त्यो पहलकदमीलाई मूर्तरुप प्रदान गर्नका लागि गत २०७३ साल भाद्र महिनाको २६ र २७ गते काठमाण्डौमा एक राष्ट्रिय भेलाको आयोजना गरिएको थियो । उक्त भेलाले संयुक्त मोर्चा निर्माणको कार्यलाई व्यवहारिक रुप प्रदान गर्नका लागि “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (देजमो)” निर्माण गरिएको थियो । उक्त भेलाले एउटा राष्ट्रिय सम्मेलन आयोजक समिति समेत निर्माण गरेको छ र त्यसको अध्यक्ष र सचिवमा क्रमशः सी.पी. गजुरेल र परि थापालाई चयन गरेको छ । संयुक्त मोर्चाको गठन र निर्माण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा हुने गरेको छ ।

विगतमा मुख्य गरेर साम्राज्यवादी शक्तिहरुको आक्रमणका विरुद्धमा क्रान्तिकारी शक्ति एवं मुक्तिकामी जनताहरुका बिचमा त्यसप्रकारको संयुक्त मोर्चाहरु गठन भएर आक्रमणकारीहरुलाई परास्त गरेको उदाहरण र इतिहास हाम्रा अगाडि छ । खास गरेर युरोपमा फासिवाद विरुद्धको संयुक्त मोर्चा र एशियामा अमेरिका र जापानी साम्राज्यवाद विरुद्धको संयुक्त मोर्चा उल्लेखनीय रहेका छन् । तर अहिले हामीले गठन एवं निर्माण गरेको “देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल”ले नेपालमा ऐतिहासिक रुपमा नै बेकम्मा भैसकेको वर्तमान संसदीय व्यवस्थाको विकल्पमा संसदीय जनगणतन्त्रको स्थापना गर्ने लक्ष्य सहित अगाडी बढ्ने छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आफ्नो भूमिका र कार्यभारलाई राष्ट्रिय भेलामा प्रस्तुत र पारित नीति तथा कार्यक्रममा स्पष्ट ढंगले उल्लेख गरेको छ । उक्त नीति तथा कार्यक्रममा भनिएको छ, “स्वतन्त्र राष्ट्र भनिए पनि आजसम्म पनि नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रता कुण्ठित रहेको छ । जनताले पटक पटक जनसंघर्ष, जनआन्दोलन र जनयुद्ध जस्ता संसारै थर्काउने क्रान्तिकारी आन्दोलनमा त्याग र बलिदानका कीर्तिमानहरु कायम गरे । तर अन्तमा ती सबै क्रान्तिकारी संघर्षहरु आफ्नो उद्देश्य हासिल गर्ने काममा अपूर्ण नै रहे र विभिन्न सम्झौता वा सहमतिका नाममा धोकामा गएर टुङ्गिए ।” त्यसमा अगाडी भनिएको छ, “समान उद्देश्य भएका शक्तिहरुका बीचमा आफ्ना उद्देश्य प्राप्तिका लागि शक्ति संचय गर्ने, ती शक्तिहरुलाई एकतावद्ध गराउने, विरोधीहरु माथिको प्रहारलाई सशक्त बनाउन भूमिका खेल्ने संयन्त्र संयुक्त मोर्चा हो । त्यसमा अझ थप भनिएको छ, “यो अवस्थामा नेपालमा विद्यमान राष्ट्रिय स्वाधिनता, जनजीवीका र आर्थिक विकास तथा अग्रगामी जनगणतन्त्रको स्थापनाको पक्षमा रहेका नेपाली जनताका बिचमा क्रान्तिकारी संयुक्त मोर्चा बनाउनु अत्यावश्यक छ । यसो गरेर मात्रा हामीले जनताको अपराजय शक्ति निर्माण गर्न सक्ने छौं ।”

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले संघर्ष र सत्ताको साधनका रुपमा आफ्नो भूमिका र कार्यभार पूरा गर्नुपर्ने छ । त्यसैले राष्ट्रिय भेलाले पारित गरेको नीति तथा कार्यक्रममा यस प्रकार उल्लेख गरिएको छ, “ …. यो संघर्षको सधान हो र सत्ताको पनि सधान हो । वर्ग संघर्षको विकास र समग्र क्रान्तिकारी आन्दोलनको विकासको स्तर माथि धयन दिएर यसको भूमिका पनि निर्धारित हुने गर्दछ । विद्यमान अवस्थामा यो मोर्चाले प्रमुख रुपमा संघर्षको साधनको भूमिका खेल्ने छ । परिस्थितिको परिवर्तनसँगैै यसले सत्ताको साधनको भूमिका पनि खेल्ने कुरामा हामी स्पष्ट हुनु जरुरी छ ।” त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले वैधानिक र अवैधानिक संघर्षको संचालन र नेतृत्व गर्नेछ । जस्तो कि माथि उल्लेखति नीति तथा कार्यक्रममा अगाडी भनिएको छ, “यो मोर्चाले विद्यमान अवस्थामा मुख्यतः वैधानिक कामहरुलाई अघि बढाउने र वैधानिक संघर्ष संचालन गर्ने काम गर्दछ । आवश्यकता अनुसार संसदीय निर्वाचनलाई उपयोग गर्नुपर्ने आवश्यकता भयो भने यो मोर्चालाई निर्वाचन आयोगमा दर्ता गराउन सकिन्छ । तर संघर्षमा वैधानिक र अवैधानिक रुपहरुलाई छुट्याउने कुनै चीनियाँ पर्खाल जस्तो हुँदैन । कुनै अवस्थामा यसले संचालन गर्ने गतिविधिलाई राज्यले ‘अवैधानिक’को बिल्ला लगाइदिन पनि सक्दछ ।”

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल गठन भएको लगभग एक वर्ष पूरा हुन लागेको छ । तसर्थ अझै पनि यो मोर्चा सांगठनिक हिसाबले प्रारम्भि अवस्था मै रहेको छ । त्यसकारण यसलाई आम जनताका बिचमा स्थापित गराएर सशक्त रुपले अगाडि बढाउनका लागि योजनावद्ध ढंगले कार्ययोजना तय गरी अगाडी बढ्नु अत्यावश्यक र तड्कारो  भएको छ । त्यसका लागि सर्वप्रथम अहिले बनेको नेपाल राज्यको संरचना अनुसार प्रदेश र स्थानीय तहहरुमा ब्यापक रुप्मा संगठन र्मिाण गरी वैज्ञानिक एवं गतिशील ढंगले संचालन र परिचालन गर्नु पर्दछ । त्यसैगरी केन्द्रीय, प्रादेशीक र स्थानीय संगठन र समितिहरुले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा ठोस मुद्दा एवं विषयहरुको खोजी गरी संघर्षको कार्यक्रम संचालन गर्नु पर्दछ । त्यसक्रममा मुद्दा र विषय मिल्ने पार्टी एवं शक्तिहरुसँग कार्यगत एकता र सहकार्य गरी जनपक्षीय शक्तिहरुलाई एकजुट बनाउनु पर्दछ ।

वर्तमान अवस्थामा प्रतिक्रियावादी संसदीय व्यवस्था अन्तर्गत सरकार र विपक्षमा रहेका तत्वहरुले राष्ट्रघात, जनघात, भ्रष्टाचार, नातावाद र कृपावादलाई संस्थागत रुपमै संस्कार र संस्कृतिको रुपमा अगाडि बढाएका छन् । त्यसबाट सिंगो राष्ट्र नै बदनाम हुन पुगेको छ भने आम जनसमुदायले उत्पीडित अवस्थामा जीवन विताउनु परेको छ । प्रतिक्रियावादी तत्वहरुको त्यस प्रकारका देशद्रोही र जनविरोधी गतिविधिको ब्यापक र सशक्त भण्डाफोर गर्नु अत्यवाश्यक छ । त्यसका लागि संचार, प्रकाशन एवं प्रचार–प्रसारमा विशेष जोड दिन र व्यवहारिक रुपमा कार्यान्वयन गर्न नितान्त आवश्यक छ । यही २०७४ साउन १ र २ गते काठमाडौंमा सम्पन्न भएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय आयोजक समितिले माथि उल्लेखित गरिएका विषयहरुमा ब्यापक र गहन छलफल पश्चात विस्तृत कार्ययोजना र निर्णहरु गरको छ ।

अब उक्त कार्यक्रम र निर्णयहरुलाई कार्यान्वयन गर्न सम्पूर्ण नेतृत्व र कार्यकर्तापंक्तिको अहम् जिम्मेवारी बन्दछ । उक्त कार्ययोजनाहरु सफलतापूर्वक सम्पन्न गर्न किन आवश्यक छ भने देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले वर्तमान अवस्थाको आफ्नो तदर्थकालको अन्त्य गरी अगाडी बढ्नु पर्दछ । त्यसको लागि राष्ट्रिय सम्मेलन वा अधिवेशनको आयोजना गर्नु आवश्यक हुन्छ । त्यसपछि एउटा सुदृढ संगठन निर्माण र सांगठनिक संजालको विकास गर्न सम्भाव हुनेछ । त्यसको परिणाम स्वरुप राष्ट्रिय भेलाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरे जस्तै देश र जनताका व्यापकतम हितका पक्षमा संघर्षको नेतृत्वदायी भूमिका निर्वाह गर्न र कार्यभार पूरा गर्न सक्षम एवं सबल बन्ने कुरामा दुईमत हुँदैन ।