एफबीआई निर्देशक रेले भने, ‘ट्रम्पको निर्वाचन अभियानमाथिको छानविन निशाना बनाएर गरिएको होइन’

एफबीआई निर्देशक रेले भने, ‘ट्रम्पको निर्वाचन अभियानमाथिको छानविन निशाना बनाएर गरिएको होइन’

एजेन्सी । अमेरिकी गुप्तचर एजेन्सी एफबीआईका नयाँ निर्देशक क्रिस्टोफर रेले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको छानविनलाई ‘निशाना बनाएर कारबाही गर्ने’ नियतबाट भएको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको खण्डन गरेका छन् ।

उनले यसलाई निशाना बनाएर गरिएको अनुसन्धान बन्न नमिल्ने स्पष्ट पारेका छन् ।

उनले रुसी हस्तक्षेप भए/नभएकोबारे जारी छानविनमा संलग्न एफबीआईका पूर्व निर्देशक रोबर्ट मुलरका बारेमा भने, ‘मुलरले निशाना बनाएर छानविन गरेको जस्तो मलाई लाग्दैन ।’

५० वर्षीय निर्देशक रेले संसदीय समितिमा सुनुवाईका क्रममा राष्ट्रपति ट्रम्पले आफूलाई कुनै पनि गैरकानुनी काम गर्न दबाब दिएमा आफूले तत्काल पद छाड्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले गत वर्षको अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको अभियानको रुससँग सम्बन्ध रहे/नरहेकोबारे छानविन सुरु गरेलगत्तै ९ मेमा जेम्स कोमीलाई एफबीआईको निर्देशक पदबाट बर्खास्त गरेका थिए । ट्रम्पले उनीमाथि ‘रुसी’ भएको आरोप लगाएका थिए ।

कोमीलाई बर्खास्त गरिएको राष्ट्रपति ट्रम्पको अमेरिकामा तिव्र विरोध भएको थियो । यसका बाबजुल एफबीआईले सुरु गरेको छानविन रोकिएको छैन । १८ मेमा कानुन विभागले पूर्व एफबीआई निर्देशक रोबर्ट मुलरलाई यो घटनाको छानविन गर्नका लागि विशेष वकिल नियुक्त गरिएको थियो ।

यसअघि बुधबार मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका थिए, ‘राजनीतिक इतिहासमा यो निशाना बनाएर गरिने सबैभन्दा ठूलो छानविन हो । दुःखद !’ रेले आफूले एफबीआईको निर्देशकका रुपमा छानविनमा पछि हट्ने सोचेको भए त्यो गलत हुने दाबी गरेका छन् ।

उनले भने, ‘मैले कहिले पनि एफबीआईको काम तथ्य, कानुन र न्यायको हदबाट पछि हटेर हुन दिनेछैन ।’ उनले आफू मुलरले गरे.को छानविनको समर्थन गर्न पनि प्रतिबद्ध रहेको बताए ।

संसदीय समितिमा राष्ट्रपति ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको इमेलका बारेमा सोधिएको प्रश्नमा भने आफूलाई यसबारेमा औपचारिक जानकारी नभएको बताएका छन् ।

उनले भने, ‘मेरो बफादारी संविधान, कानुन र एफबीआईको मिशनप्रति रहेको छ र यस प्रक्रियामा कुनै प्रकारको बफादारी निभाउने शपथ दिलाएको छैन ।’