
कुनैपनि क्रान्तिका आफ्ना वस्तुगत र मनोगत पक्षहरू हुन्छन् र त्यसमा दुवैका भूमिका त्यतिकै महत्वका ुहन्छन् । ऐतिहासिक विकासको क्रममा उत्पन्न हुने क्रान्तिको आवश्यकताको सम्बन्धमा समाजका वर्गहरूसित सम्बन्धित आम जनतासँग रहेको हुन्छ, किनभने वस्तुगत आवश्यकताको व्यावहारिक सिद्धीकरण मानिसहरूको क्रियाकलापमार्फत मात्र हुनसक्छ । मानिसहरूको क्रियाकलापको अभावमा सो आवश्यकता निराकार र अमूर्त चीज मात्र रहन्छ । क्रान्तिभित्र क्रान्तिको सवाल क्रान्तिको ऐतिहासिक आवश्यकतालाई यथार्थमा फेर्न त्यसको व्यावहारिक सिद्धीकरणका लागि गर्नुपर्ने तयारीसित सम्बन्धित सवाल हो, अर्थात यो आत्मगत तत्वहरूसित सम्बन्धित सवाल हो । क्रान्तिको लागि आवश्यक वस्तुगत अवस्थाहरूको विकास वस्तुगत नियमहरूअनुसार हुन्छ, र त्यो मानिसको इच्छाबाट स्वतन्त्र रहन्छ । क्रान्तिको लागि वस्तुगत परिस्थिति परिपक्व भएपनि त्यसले स्वयं आफैलाई क्रान्तिकारी ऐतिहासिक घटनामा फेर्न सक्दैन । त्यसरी फेर्नका लागि आवश्यक आत्मगत तत्वहरूको उपस्थिति आवश्यक रहन्छ । क्रान्तिको विकास र सफलताका जराहरू उक्त क्षेत्रभित्र रहेका हुन्छन् र त्यसको समुचित उपयोगमा नै यथार्थतामा क्रान्तिको प्राप्ति निर्भर गर्दछ । यस लेखमा म क्रान्तिभित्र क्रान्तिको सवाललाई वर्तमान समयमा नेपाली क्रान्तिको सन्दर्भमा चर्चा गर्दैछु ।
अहिले नेपाली क्रान्ति जनवादी चरणमा रहेको छ, जसका मुख्य तात्कालिक अभिभाराहरू सामन्ती अवशेषहरूको उन्मूलन, राष्ट्रिय स्वाधीनताको संरक्षण र मुलुकको जनवादीकरण हुन् र सोहीअनुसार त्यसको चरित्र सामन्तवाद–विरोधी, विस्तारवाद–विरोधी र साम्राज्यवाद–विरोधी रहेको छ । यो नौलो जनवादी क्रान्तिको सारतत्व हो । अहिले देशमा मुख्य रुपमा यसको वकालत गर्ने पार्टी नेकपा–माओवादी रहेको छ । क्रान्तिका लागि मानवीय तत्वहरूको सङ्गठन र सञ्चालनको सम्बन्धमा त्यसका क्रियाकलापको प्रकाशमा उक्त सवालबारे चर्चा गरिने छ । यो चर्चा मुख्य रुपमा सर्वसाधारण जनता, पार्टी कार्यकर्ताहरू र नेतृत्वसित सम्बन्धित रहन्छ । कुनैपनि महान् क्रान्तिमा एउटा प्रमुख तत्व आम जनता हुन् । ती त्यस्ता हुन्, जसको ताकतमा मात्र क्रान्तिको सफलता र अन्तिम विजय हासिल गर्न सकिन्छ । जनता नै त्यसका जब्बर शक्ति हुन्, जसका आधारमा क्रान्तिको विजयको महल निर्माण गर्न सकिन्छ । एक सच्चा क्रान्तिकारी पार्टीको लागि क्रान्तिको अभिभारा पूरा गर्ने आम जनतासित घनिष्ठ सम्बन्ध स्थापित गर्नु जरुरी हुन्छ । अर्को शब्दमा पार्टीले आफूलाई जन–पार्टीमा विकसित गर्नुपर्छ । पार्टीले राखेको उद्देश्य व्यापक जनसमुदायहरूसित एकता र मेलबाट मात्र हासिल गर्न सक्छ । समाजको क्रान्तिकारी रुपान्तरणको पक्षमा र मुलुकलाई फेर्ने प्रश्नमा आम जनताले आफ्नो भूमिका राम्ररी खेलून् र खेल्न सकून् भन्नका लागि तिनीहरूको मन–मस्तिष्कमा क्रान्तिकारी रुपान्तरणको आवश्यकता पर्दछ ।
श्रमिक जनताको मुक्ति र नयाँ नेपाल निर्माणको महान् कार्यको थालनी तिनीहरूको मानसिक र वैचारिक रुपान्तरणबाट हुनसक्ने तथ्य ध्यानयोग्य छ, र यही रुपान्तरणबाट हामीले चाहेका क्रान्तिकारी परिवर्तनहरू हासिल गर्न सकिन्छ । क्रान्तिभित्र क्रान्तिको एउटा मुख्य अभिभारा यही हो, अर्थात क्रान्तिको एउटा प्रमुख तत्वलाई क्रान्तिकारी सोच र भावनाले सुसज्जित पारी त्यसलाई आफ्नो भूमिका पूरा गर्न योग्य बनाउनु । यदि हामी क्रान्तिमा सफलता चाहन्छौं भने हामीले गर्नुपर्ने एउटा महत्वपूर्ण काम यही हो । किनभने, क्रान्तिको भविष्यको लागि वैचारिक रुपान्तरण एउटा सर्वोत्तम तयारी हो । जनमानसमा परिवर्तन ल्याउनु भनेको कुनै सजिलो काम होइन । क्रान्तिको प्रमुख शक्ति रहेका व्यापक किसान जनतामा सामन्ती विचारधाराको निकै ठूलो प्रभाव कायमै छ । मुलुकमा भएका सामन्तविरोधी, विस्तारवादविरोधी र साम्राज्यवादविरोधी सङ्घर्षमा तिनीहरूको महत्वपूर्ण भूमिका रहिआएको र मुलुकमा लामो समयदेखि सामन्तवादको राजनीतिक प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएको भएपनि मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा सामन्ती अवशेषहरू विद्यमान छन् र तिनको जनतामा बलियो प्रभाव कायम नै छ । हाल यता आएर देश–विदेशका प्रतिक्रियावादी क्रान्तिविरोधी शक्तिहरूको तर्फबाट आम जनताको बीचमा अनुदारवादी तथा यथास्थितिवादी विचारहरूको व्यापक प्रचार भइरहेको छ । अर्कोतिर मुलुकमा उदारपंथी शक्तिहरू र कम्युनिस्ट आन्दोलनभित्रका अवसरवादी र संशोधनवादीहरू जनतामा उदारवादी, सुधारवादी तथा मेलमिलापवादी र आत्मसमर्पणवादी विचारहरू प्रचार गरी तिनलाई क्रान्तिको बाटोमा लाग्न नदिनका लागि निकै प्रयत्नशील छन् । उपरोक्त यथार्थताको सन्दर्भमा, जनमानसको क्रान्तिकारी रुपान्तरण गर्ने काम निश्चय पनि सजिलो छैन ।
मुलुकको वर्तमान स्थितिमा क्रान्तिका शक्तिहरूलाई मजदुर, किसान, निम्न पुँजीपति र राष्ट्रिय पुँजीपतिहरूलाई क्रान्तिविरोधी विचारहरूको प्रभावबाट मुक्त गर्न अर्थात् जनताको मन मस्तिस्कलाई मुक्त पार्न ठूलो सङ्घर्षको आवश्यकता रहन्छ । यसको लागि पार्टीको तर्फबाट पुँजीवादी उदारवाद तथा सुधारवादका विरुद्ध संशोधनवाद तथा अवसरवादका विरुद्ध र यथास्थितिवाद तथा आत्मसमर्पणवादका विरुद्ध वैचारिक आधारमा दृढ सङ्घर्ष चलाउनु एउटा अपरिहार्य आवश्यकता हो । त्यसका साथै आम जनसमुदायको बीचमा क्रान्तिकारी तथा वैज्ञानिक विचारहरूको व्यापक रुपमा प्रचार गर्नु पनि जरुरी छ, जुन कामप्रति क्रान्तिका पक्षधरहरूको आवश्यक ध्यान र प्रयत्न पुगेको पार्इंदैन । यससम्बन्धमा पार्टी र क्रान्तिकारीहरूले ध्यान दिनुपर्ने एउटा तथ्य के छ भने पार्टीमात्र बलियो र सक्षम हुँदैमा अनि नेतृत्वमात्र बलियो हुँदैमा क्रान्ति पूर्ण रुपले सफल हुन सक्दैन र मुलुकको क्रान्तिकारी रुपान्तरण सिद्ध हुन सक्दैन । त्यसको लागि पार्टीलाई बलिया जनताको समर्थन र टेवा पनि आवश्यक हुन्छ । त्यसैले हामी क्रान्तिको निम्ति क्रान्तिका पक्षधर शक्तिहरूलाई शिक्षित पार्ने, तिनीहरूको लडाकू क्षमतालाई बढाउने, तिनीहरूलाई सचेत पार्ने कार्य थाल्नु पर्छ । आम जनतालाई बलियो बनाउनु भनेको के हो त ? त्यसमा निम्न कुराहरू पर्दछन् । तिनीहरूको चेतना, लडाकूपना, सङ्कल्प र तत्परता, अनि क्रान्तिकारी कार्यबाही गर्ने तिनीहरूको क्षमता, क्रान्तिकारी जोश तथा उत्साह र त्याग–बलिदानको भावना आदि । यदि क्रान्तिलाई सफल निष्कर्षसम्म पुराउने हो भने त्यस्ता बलिया जनता आफ्नो नेतृत्वमा हुनु पर्दछ । क्रान्तिमा नेतृत्व गर्न चाहने र नेतृत्वको दावा गर्ने पार्टीले उपरोक्त तथ्यप्रति गम्भीर ध्यान दिनुपर्दछ र त्यसमा आफ्नो अभिभारालाई बुझेर त्यसलाई सम्बोधित गर्नुपर्छ । त्यसका सम्बन्धमा गर्नुपर्ने केही कामहरू निम्न प्रकारका छन् – जनतालाई क्रान्तिकारी विचार र भावनाबाट शिक्षित र अभिप्रेरित गर्नु उनीहरूको राजनीतिक चेतनाको स्तरलाई माथि उठाउनु, तिनीहरूलाई तिनको अन्तर्निहित तागतको पहिचान गराउनु, तिनीहरूलाई सङ्गठित र एकताबद्ध हुनमा सघाउनु, तिनीहरूको सङ्घर्षलाई नेतृत्व प्रदान गर्नु आदि ।
सामाजिक रुपान्तरणको कार्यमा आम जनसमुदायहरूको भूमिकाको सम्बन्धमा एङ्गेल्सले यस्तो राय व्यक्त गरेका छन् – “आकस्मिक हमलाहरूको जमाना, अचेतन जनसमुदायहरूको नेतृत्व गरी साना सचेत अल्पसङ्ख्यकद्वारा सञ्चालित क्रान्तिहरूको जमाना गइसकेको छ । जहाँ सामाजिक सङ्गठनको पूर्ण रुपान्तरणको सवाल छ, जनसमुदायहरू अझै पनि त्यसमा हुनुपर्छ, तिनीहरू आफैले कुन कुरो दाउमा परेको छ, कुन कुराको लागि तिनीहरू दिलो ज्यानले लागिरहेका छन् भन्ने कुरालाई मनन गरेको हुनुपर्छ । तर जनसाधारणले गर्नुपर्ने कामलाई बुझ्न सकून् भन्नाका खातिर लामो र दृढ कार्य हुनु आवश्यक छ ।” (माक्र्स–एङ्गेल्स, “छानिएका कृतिहरू” तीन भागमा भाग १, पृष्ठ १९९)आम जनताको वास्तविक तागत तिनीहरूको सचेतना र तिनीहरूबीचको जब्बर ऐक्यबद्धतामा रहेको हुन्छ र त्यसले तिनीहरूको लडाकू क्षमता र आत्मत्यागी भावनामा आफूलाई अभिव्यक्त गर्छ । प्रत्येक महान् सामाजिक क्रान्तिले आफ्नो सफल निष्कर्षको निम्ति आफूमा सहभागिहरूको तर्फबाट ठूलो त्याग र बलिदानको अपेक्षा गर्छ । त्यस हिसाबले वास्तविक जनमुक्ति आन्दोलनले आम जनताबाट सामूहिक हितको लागि निजको निजी सङ्कीर्ण स्वार्थको त्याग गरेर लड्ने उदात्त भावना र क्षमताको पूर्वानुमान गर्छ, किनभने आत्म–त्याग र आत्म–बलिदान नै त्यस्तो महान् सङ्घर्षको गुण हो । यस तथ्यलाई लेनिनले निम्न शब्दमा प्रस्तुत गरेका छन् – “प्रत्येक क्रान्तिकारी परिस्थितिले क्रान्ति पैदा गरेको हुँदैन । क्रान्ति त्यस्तो परिस्थितिबाट मात्र उत्पन्न हुन्छ, जुन परिस्थितिमा माथि उल्लेखित वस्तुगत परिवर्तनहरूका साथै मनोगत परिवर्तन पनि भएको हुन्छ, अर्थात् पुरानो शासनलाई चकनाचुर (वा विस्थापित) गर्नसक्ने खालको ‘क्रान्तिकारी’ आम कार्यबाही गर्ने क्रान्तिकारी वर्गको क्षमता पनि हुनुपर्छ, किनभने यदि उक्त शासनको तख्ता पल्टाइएन भने कहिलेपनि सङ्कटको अवधिमा समेत पनि त्यसको ‘पतन’ हुँदैन ।” (कृष्णदास, “ऐतिहासिक भौतिकवाद” पृष्ठ १६७ बाट उद्धृत)
क्रान्तिभित्र क्रान्तिको अवधारणामा रहेको अर्को प्रमुख तत्व पार्टीका कार्यकर्ताहरूबाट पार्टीका आफ्ना शक्तिहरूको सङ्गठन उपयोग तथा परिचालनसित सम्बन्धित छ । पार्टीद्वारा निर्धारित राजनैतिक कार्यदिशा तथा नीतिहरू उपयोग तथा परिचालनसित सम्बन्धित हुन्छन् । पार्टीसँग सम्बन्धित राजनीतिक कार्यदिशा तथा नीतिहरू जतिसुकै सही र क्रान्तिकारी भएपनि, ती आफै कार्यान्वयन हुने होइनन् । तिनको व्यवहारमा सिद्धीकरणको सवाल पार्टीका आफ्ना शक्तिहरूको सवाल हो । यथार्थमा त्यसको सिद्धीकरण हुन्छ कि हुँदैन भन्ने कुरा उक्त शक्तिहरूको उपयोग, परिचालन र नेतृत्व गर्ने पार्टीको क्षमता र कुशलतामाथि निर्भर गर्दछ । “कार्यकर्ताहरूले सबै कुराको फैसला गर्छन्” भन्ने स्टालिनको भनाइले उपरोक्त तथ्यलाई व्यक्त गरेको छ । आम जनतासित पार्टीको सम्बन्ध त्यसका कार्यकर्ताहरूमार्फत स्थापित हुन्छ र तिनीहरू पार्टी र जनताको सम्बन्धको बीचमा माध्यम हुन् । पार्टीद्वारा पारित कार्यदिशा र नीति तिनै कार्यकर्ताहरूमार्फत जनमानसमा पुराइन्छ र जनता त्यसबाट अवगत हुने गर्दछन् । यहाँ मुख्य सवाल पार्टीका नीतिहरूलाई जनमानसमा ठीक र बोधगम्य ढङ्गबाट कार्यकर्ताहरूले पु¥याउन सक्छन् कि सक्दैनन् भन्ने सवाल हो । यस मामिलामा कार्यकर्ता निर्णायक शक्ति हुन् । त्यसैले पार्टीले कार्यकर्ताहरूलाई क्रान्तिकारी विचारबाट शिक्षित पार्ने र पार्टी नीतिबारे सही समझ्दारी प्राप्त गर्ने सामथ्र्यमा वृद्धि गर्ने कुरामा जोड दिनु आवश्यक छ । सिद्धान्त र नीतिलाई नेतृत्वले मात्र बुझ्ने तर तलका कमरेडहरूलाई त्यसबाट शिक्षित पार्नमा ध्यान र प्रयत्न नलगाउनु भनेको विचार र आन्दोलनलाई प्रभावकारी र शक्तिशाली स्तरमा नउठाउनु समान हो । जनताको बीचमा काम गर्ने कार्यकर्तालाई माक्र्सवादका सिद्धान्तहरूबाट शिक्षित–दीक्षित पारेर र तिनीहरूको सैद्धान्तिक समझदारीलाई उठाएर मात्र जनमानसको क्रान्तिकारी रुपान्तरण गर्न सकिन्छ ।
कार्यकर्ताहरूको मनमा क्रान्तिकारी परिवर्तन अर्थात् तिनीहरूको सैद्धान्तिक रुपान्तरणमार्फत् मात्र जनमानसमा क्रान्ति ल्याउन सकिन्छ । यहाँ मुख्य रुपले ध्यानयोग्य कुरा के छ भने क्रान्ति गर्नका लागि क्रान्तिकारीहरूको सङ्गठन हुनु जरुरी छ । त्यसको अर्थ के भने पार्टीका सदस्यहरू सच्चा क्रान्तिकारी र सच्चा कम्युनिस्ट हुनुपर्दछ । तसर्थ पार्टी पङ्क्तिमा रहेका पुराना तथा नयाँ शक्तिहरूलाई सच्चा कम्युनिस्टमा अटाउनु अर्थात् माक्र्सवादी आधारमा सोच्ने, क्रान्तिप्रति समर्पित, क्रान्तिकारी भावनाले अभिप्रेरित र सिर्जनात्मक पहल गर्नसक्ने कार्यकर्तामा विकसित गर्नु पार्टीको एउटा महत्वपूर्ण कर्तब्य रहन्छ । जहाँसम्म आम जनसमुदायहरूसित पार्टीको सम्बन्धलाई बलियो र सुदृढ बनाउने कार्यको सम्बन्ध छ, सो कार्य पार्टी कार्यकर्ताहरू मार्फत मात्र सम्पन्न हुने कुरा हो । जनतासित घनिष्ठ सम्बन्ध बनाउने, तिनका भावना र आकाङ्क्षालाई बुझ्ने, तिनलाई सङ्गठित र एकताबद्ध पार्ने र तिनलाई क्रान्तिकारी सङ्घर्षमा निर्देशित र नेतृत्व गर्ने कार्यकर्ताहरूको जुन गहन जिम्मेवारी छ, त्यसलाई उनीहरूले कति ठीक, कति उचित तथा कुशल ढङ्गबाट पूरा गर्न सक्छन् भन्ने कुरा उनीहरूको समझ–स्तर, कायशैली, नैतिकता, समर्पणभाव र क्षमतामाथि निर्भर गर्दछ । तसर्थ, उनीहरूलाई सच्चा कम्युनिस्टमा हुर्काउने र उठाउने काम अत्यधिक महत्वको रहन्छ । क्रान्तिभित्र क्रान्तिले अपेक्षा गर्ने अर्को प्रमुख कुरो यही नै हो । कार्यकर्ताहरूको सैद्धान्तिक रुपान्तरणको सवाल पार्टीको सामु रहेको एउटा निकै गम्भीर सवाल हो ।
एउटा स्पष्ट तथ्य हाम्रा सामु छ, पार्टी र कम्युनिस्ट आन्दोलनको सङ्ख्यात्मक बृद्धि सँगसँगै तिनको गुणात्मक ह्रास भइरहेको छ । यस ह्रासले विभिन्न रुपमा आफूलाई व्यक्त गरिरहेको छ । कार्यकर्तामा माक्र्सवादी ज्ञान र समझदारीको कमी, तिनमा सामन्तीलगायत गैरसर्वहारा विचारहरूको अधिक प्रभाव, विचार प्रधान हो भन्ने गरिएपनि व्यवहार सबकुछ हो भन्ने व्यवहारवादी सोचको प्रभाव र सिद्धान्त तथा चिन्तन–मननतर्फ रुचि र प्रयत्नको कमी आदि । व्यवहार र आचरणको दृष्टिबाट हेर्ने हो भने गैरकम्युनिस्ट प्रवृत्तिहरू बढी मात्रामा पाइन्छन् । जस्तो कि अनुशासनको अभाव, अराजकतावादी प्रवृत्ति, आफूभन्दा माथिका प्रति अन्धभक्ति र तलका प्रति हुकुमी पारा, घमण्ड तथा फाईंफुट्टी, जनताको सेवा गर्ने होइन कि जनताबाट आफ्नो सेवा गराउने प्रवृत्ति आदि । जनतासित गरिने दम्भपूर्ण, अहङ्कारवादी तथा हप्कीदप्की व्यवहारको कारण जनताले पार्टीलाई नराम्रो दृष्टिले हेर्नु स्वाभाविक छ । यस्तो व्यवहारले पार्टीलाई जनताबाट अलग्याउने काम गर्छ । यस्ता कमजोरी र गल्तीहरूले पार्टीलाई जनताबाट अलग्याउने प्रतिक्रियावादी शक्तिहरूको चाहना र प्रयत्नमा मलजल पु¥याउने गर्छन् । उपरोक्त खालको आचरण र व्यवहारमा आमूल परिवर्तन हुनु एकदमै आवश्यक छ । प्रचार कार्यमा लागेका कार्यकर्ताहरूले जनताप्रति बलजफ्ती व्यवहार वा नोकरप्रति मालिकको जस्तो व्यवहार गर्नु ज्यादै अवाञ्छनीय र हानिकारक कार्य हो । वास्तविक जीवन र अनुभवसित गाँसेर जनताले बुझ्ने भाषामा पार्टीका कार्यदिशा, नीति तथा तात्कालिक कार्यभार प्रचार गरेर उनीहरूलाई शिक्षित पार्नु कार्यकर्ताहरूको जिम्मेवारी हो । कसैले गर्ने कुरा एउटा र काम अर्कै हुने गरेमा जनताको विश्वास जित्न नसक्ने तथ्यप्रति सतर्क रहेर काम र कुरोको मेल रहनुपर्नेमा ध्यान दिइनुपर्छ । कार्यकर्ताबाट जनतामा गरिने प्रचार र आन्दोलन जीवनसापेक्ष र बोधगम्य हुनु जरुरी छ । जनताले नबुझ्ने र मनन नगर्ने थेगोहरूको प्रयोग एकदमै त्याज्य छ । पार्टी भनेको कुनै अमूर्त तत्व होइन, बरु त्यो एउटा यस्तो समुदाय हो, जसमा त्यसका सदस्यहरू, त्यसका नेताहरू र कार्यकर्ताहरू एउटा साझा सिद्धान्त र उद्देश्यबाट निर्देशित रहन्छन् । त्यतिमात्र होइन, तिनीहरू सँगसँगै रहेर काम गर्दछन्, एकले अर्कोलाई चिन्दछन् र एक अर्कोसित व्यवहार गरिरहेका हुन्छन् । उक्त चिनजानी र व्यवहार उनीहरू बीचको सम्बन्धलाई निर्धारित गर्ने एउटा प्रमुख तत्व हो । उनीहरूबीचको सम्बन्धमा अत्यधिक महत्वपूर्ण तत्व नेता र कार्यकर्ताहरूबीचको सम्बन्ध हो, जसले आदेश–निर्देशन दिने र त्यसको पालन गर्ने आधिकारिक कडीको काम गर्दछ । यहाँ अधिकारप्राप्त व्यक्तिले कुन ढङ्गबाट आफ्नो अधिकारको उपयोग र स्थापना गर्छ, त्यसले निकै ठूलो भूमिका खेल्छ ।
उपरोक्त मामिलामा गम्भीर त्रुटिहरू देख्नमा आएका छन् । माथि उल्लेखित प्राधिकारिक कडी एउटा स्वस्थ आधारमा स्थापित भएको हुनुपर्छ र त्यो आधार भनेको जनवादी केन्द्रीयता हो । सो आधार नपाएमा सो कडी मालिक–नोकर सम्बन्ध, पुँजी–श्रम सम्बन्ध, व्यक्तिवाद आदि जस्ता गलत आधारमा जोडिन वा आधारित हुन पुग्छ । स्वस्थ र सही आधारको अभावको कारणले नै नेताको प्राधिकार नोकरशाहीमा र कार्यकर्ताको जनवाद अराजकतामा फेरिने गर्दछन् । उपरोक्त सम्बन्धमा ध्यानयोग्य कुरा के छ भने नेताले निर्देशन दिने र नेतृत्व गर्ने अधिकार पाएको छ, त्यो कार्यकर्तालाई नोकरसरह व्यवहार गर्ने वा उनको आफ्नो जुन पहिचान छ, त्यसलाई मेटिदिने वा उनको स्वाभिमानमा चोट पु¥याउने अधिकार कदापि होइन । साथै, त्यो कार्यकर्ताहरूको काममा पुक्कापन (स्वतन्त्रता) र पहलकदमीलाई खतम पार्ने अधिकार पनि होइन । अर्कोतिर कार्यकर्ताको काममा फुक्कापन र पहलकदमीको अर्थ पार्टी आदेश–निर्देशनको पालना नगर्ने वा आफूखुशी जे पनि गर्ने भन्ने कदापि होइन । पार्टीमा कार्यकर्तालाई एउटा साधनमात्र ठान्ने, मेशीनको उपयोग गरेझैं उपयोगयोग्य ठान्ने प्रवृत्ति रहेको छ । उक्त प्रवृत्तिले कार्यकर्तालाई एउटा लक्ष्यको रुपमा क्रान्तिको लागि योग्य र सक्षम तत्वको रुपमा विकसित गर्नुपर्ने व्यक्तिको रुपमा लिंदैन । उक्त प्रवृत्तिका समर्थकहरू कुन कुरालाई बिर्सन्छन् भने नेतृत्वको एउटा महत्वपूर्ण अभिभारा कार्यकर्तामा भएका कमीकमजोरीहरूलाई हटाउन आवश्यक सहायता प्रदान गरेर र सैद्धान्तिक–राजनीतिक रुपमा तिनीहरूलाई शिक्षित र प्रबुद्ध बनाएर सच्चा कम्युनिस्टहरूको स्तरमा उठाउनु हो । यसको ठीक उल्टो एउटा कस्तो प्रवृत्ति देखिएको छ भने कार्यकर्तामा भएका लोभ, लालच, व्यक्तिगत स्वार्थ, पदलोलुपताजस्ता खराब प्रवृत्तिलाई उकासेर र त्यसलाई बढावा दिएर आफ्नो सङ्कीर्ण स्वार्थको प्रयोग गरिन्छ । यससम्बन्धमा लेनिनले आफ्नो युवा बेलाको एउटा अनुभवको उल्लेख गरी लेखेका छन् –“म ज्यादै फराकिलो र सर्वपक्षीय अभिभारा लिएको एउटा अध्ययन मण्डलमा काम गर्दथेँ र सो मण्डलका हामी सबै सदस्यहरू जुन कुरालाई बुझेर निकै दुःखी रह्यौं भने हामी इतिहासको यस्तो घडीमा सिकारुझैं बनेर काम गरिरहेका छौं, जुन घडीमा हामीले ‘हामीलाई क्रान्तिकारीहरूको एउटा सङ्गठन दिनुहोस्, हामी रुसलाई पल्टाइदिन्छौं’ भन्ने एउटा सुप्रसिद्ध कथनलाई जोडका साथ उठाउनु पर्दथ्यो । त्यसताका मैले अनुभव गरेको तीव्र लाजलाई जति बढी म सम्झन्छु, त्यति बढी ती नक्कली जनवादीहरूप्रति मेरो भावना कटु बन्छ, किनभने तिनीहरूको तर्कले ‘क्रान्तिकारीहरूको नाउँमा कलङ्क लगाउँछ’ र तिनीहरू कुन कुरालाई बुझ्न सक्दैनन् भने हाम्रो अभिभारा भनेको क्रान्तिकारीहरूलाई सिकारुको स्तरमा खसाल्ने होइन, बरु सिकारुहरूलाई क्रान्तिकारीहरूको स्तरमा उठाउनु हो ।” (लेनिन “सङ्कलित रचनाहरू” भाग ५, पृष्ठ ४६६–४६७)
लेनिनको उक्त भनाइले कार्यकर्ताप्रति नेतृत्वको गम्भीर अभिभारालाई इङ्गित गरेको छ । त्यो अभिभारा भनेको कार्यकर्ताभित्र रहेका गलत प्रवृत्तिलाई बढावा दिएर उनीहरुलाई खसाल्नु होइन, उनीहरुलाई कोरा र अबुझमा राखिछाड्नु होइन, बरु उनीहरुलाई सच्चा क्रान्तिकारीमा रुपान्तरित गर्नु हो । नेतृत्वले कार्यकर्ताहरूसित आफ्नो सम्बन्ध र मेललाई बलियो र सुदृढ बनाउनु पर्छ । तर त्यसको अर्थ कम सचेत वा सिकारु कार्यकर्ताको स्तरमा आफूलाई गिराउनु र मिलाउनु होइन, बरु तिनलाई सच्चा कम्युनिस्टको स्तरमा माथि उठाउनु हो । यो नेतृत्वको अभिभारको कुरा हो । अर्कोतिर पार्टीमा प्रवेश गरेकाहरूले आफ्नो तर्फबाट आफूलाई कम्युनिस्ट क्रान्तिकारीहरूको स्तरमा उठाउन प्रयत्न गर्नु पर्छ । कोही व्यक्तिको पार्टीमा प्रवेश कम्युनिस्ट बन्नेतर्फको उसको पहिलो पाइला मात्र हो र यसरी ऊ साङ्गठनिक दृष्टिबाट मात्र कम्युनिस्ट बनेको हो । सच्चा कम्युनिस्टमा आफूलाई विकसित गर्नको लागि पार्टी र क्रान्तिका लागि बढीभन्दा बढी योगदान गर्नका लागि उसले सङ्घर्षमा आफ्ना कमीकमजोरीहरू हटाउन इमानदारीताका साथ प्रयास गर्दै आफूलाई वैचारिक रुपान्तरणको प्रक्रियाबाट गुजार्नु पर्छ । पार्टीमा सामेल भएका प्रत्येक कमरेडको एउटा महत्वपूर्ण कर्तब्य उसले आफूलाई वैचारिक दृष्टिबाट तयार पार्नु हो । पार्टीमा नेता र कार्यकर्ताहरूमाझ घनिष्ठ र मिलनसार सम्बन्ध हुनु जरुरी छ । तिनीहरूको सम्बन्ध मालिक र नोकरको जस्तो सम्बन्ध होइन, बरु पारस्परिक सहायता र मित्रताको सिद्धान्तद्वारा निर्देशित र त्यसको अधीनस्त रहनुपर्छ । तिनका बीचका सम्बन्धमा उपरोक्त अवस्था नरहेमा वा त्यसको विपरीत भएमा पार्टीको काममा खुकुलोपन वा अस्तव्यस्तता हुनसक्छ र भित्र–भित्रै एकले अर्कोलाई प्रहार गर्नेसमेत हुनु सम्भव छ । त्यस्तै, कार्यकर्ता–कार्यकर्ताबीचमा पनि राम्रो र सही सम्बन्ध हुन आवश्यक छ ।
पार्टी कार्यकर्ताहरू फरक–फरक स्थान र वातावरणमा र फरक–फरक क्षेत्रमा काम गरिरहने भएकोले तिनीहरूबीचको सम्बन्धमा समस्याहरू पैदा हुने गर्छन् – जस्तो कि पुराना र नयाँ कार्यकर्ताहरूबीच, स्थानीय र बाहिरबाट आएका कार्यकर्ताहरूबीच, फरक–फरक कार्यक्षेत्रमा र विभागका कार्यकर्ताहरूबीचका सम्बन्धमा समस्याहरू देख्नमा आएका छन् । ती कार्यकर्ताहरूबीच उचित सम्बन्ध स्थापित गरिनुपर्छ । कार्यकर्ताबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सहयोगात्मक भावनाबाट निर्देशित रहनुपर्छ । एकले अर्कोलाई सिकाउने र एकले अर्कोबाट सिक्ने अप्ठ्यारोमा एकले अर्कोलाई सघाउने, एकले अर्कोको राम्रो कुरा ग्रहण गर्ने र एकले अर्कोको कमजोरी हटाउनमा मद्दत गर्ने सिद्धान्तबाट सो सम्बन्ध निर्देशित रहनुपर्छ । कार्यकर्ताहरूको माझमा एकताबद्धतालाई हुर्काउने र साङ्गठनिक एकतालाई सुनिश्चित र सुदृढ पार्ने एउटा उपाय यो हो । आम पार्टी कार्यकर्ताहरूमा रहेको माक्र्सवादी समझदारीको कमी र नेता–कार्यकर्ताबीच र कार्यकर्ता–कार्यकर्ताबीच सम्बन्धमा रहेका विभिन्न कमी–कमजोरी र गलत प्रवृत्तिहरूलाई हटाउनका लागि कार्यकर्ताको वैचारिक रुपान्तरण र तिनका बीचमा सही सम्बन्धको स्थापना सबभन्दा मुख्य उपाय हो । यो कार्य नै क्रान्तिभित्र क्रान्तिको एउटा महत्वपूर्ण पक्ष हो । क्रान्तिभित्र क्रान्तिको अर्को महत्वपूर्ण पक्ष क्रान्तिको नेतृत्वको दाबी गर्ने पार्टीका नेताहरूको योग्यता, क्षमता र कार्यकुशलताको स्तरसित सम्बन्धित सवाल हो । माथि कुन कुराबारे चर्चा गरेका छौं भने पार्टीको क्रान्तिकारी जिम्मेवारीको सफलतापूर्वक निर्वाहका लागि माक्र्सवादका क्रान्तिकारी सिद्धान्तहरूलाई मुलुकका विशिष्ट अवस्थामा प्रयोग गर्ने त्यसको क्षमता तथा कुशलता र आम जनतासित त्यसको सम्बन्धको घनिष्ठतामाथि निर्भर गर्दछ । पार्टी आफै सञ्चालित हुने होइन, त्यसको सञ्चालन गर्ने नेताहरू हुन् । तसर्थ, पार्टीमा योग्य नेताहरूको निर्माण र विकासले क्रान्तिमा निकै ठूलो महत्व राख्दछ, अर्थात् अर्को शब्दमा माक्र्सवादी–लेनिनवादी स्तरमा नेतृत्वको विकासको अहम् महत्व रहन्छ । पार्टीको एउटा ठूलो कार्यभार र महत्वपूर्ण कर्तब्य योग्य नेताहरूको निर्माण गर्न तिनीहरूलाई हुर्काउनु र तिनीहरूलाई रङ्गमञ्चमा प्रस्तुत गर्नु हो, किनभने जनताको मुक्ति आन्दोलन सफलतापूर्वक अघि बढ्छ कि बढ्दैन भन्ने कुरा त्यसको नेतृत्व गर्ने नेताहरूको गुणको स्तरमा निर्भर गर्दछ । जसरी हामी आफ्नो निजी जीवनमा योग्य, क्षमतावान तथा दक्ष मानिसहरूको खोज गर्छौं, त्यस्तै हामीले पार्टीमा नेतृत्वकारी पदको लागि सर्वोत्तम, इमानदार, योग्य तथा अत्यधिक क्षमतावान् व्यक्तिहरूको निरन्तर र अथकित रुपमा खोज गर्दै रहनु पर्छ । यदि पार्टीमा पदासीन व्यक्तिहरूमा कुनै व्यक्ति आफू रहेको पदको लागि योग्य नठहरिएमा त्यसलाई हटाएर योग्य व्यक्तिद्वारा सो पदपूर्ती गर्नुपर्छ र जुन व्यक्तिलाई सो पदमा आसीन गरिएको छ, उनलाई काम गर्ने पूरा अधिकार र कार्य–स्वतन्त्रता प्रदान गरिनु पर्छ, जसले गर्दा उनले आफूभन्दा तलकाहरूप्रति आफ्नो दायित्व र माथिकाहरूप्रति आफ्नो जिम्मेवारीका साथ फुक्का रुपमा काम गरुन् । व्यक्तिलाई नेतृत्वकारी पदमा राख्ने तर उनलाई कुनै कामको जिम्मा नदिने वा नाम मात्र जिम्मा दिएर उनलाई विनाकामको बनाउने प्रवृत्ति पूरै गलत र हानिकारक छ । अर्कोतर्फ कुनै पार्टी पदमा पुगेका व्यक्तिले सो पद प्राप्तिको अर्थ अधीनस्तहरूप्रति गलत व्यवहार गर्ने वा माथिकालाई खुशी पारेर पदको दुरुपयोग गर्ने कुनै अधिकार पाएको होइन । यदि उनी व्यवहारमा आफूलाई दिएको कामको योग्य रहँदैनन् भने उनले सो अधिकार एकप्रकारले गुमाएको प्रमाणित हुन्छ । यहाँ एउटा ध्यानयोग्य तथ्य छ, “जसरी कुनै व्यक्तिले पार्टी सदस्यता प्राप्त गर्नुको अर्थ उनी सच्चा कम्युनिस्ट बनेका छन् भन्ने होइन, त्यसरी नै कुनै कार्यकर्ता कुनै उपायबाट पार्टीको नेतृत्वकारी पदमा पुग्नुको अर्थ उनी एक सच्चा कम्युनिस्ट नेता हुन् भन्ने कुरा होइन । उनले आफ्नो जिम्मेवारीलाई इमानदारितापूर्वक र सक्षम ढङ्गबाट पूरा गरेर आफूलाई प्राप्त पदको योग्य साबित गर्नुपर्छ ।
नेताले पार्टीमा जुन पदमा आफू आसीन रहेको छ, वा जुन कामको जिम्मा आफूलाई विश्वास गरेर सुम्पिएको छ, सो कामको लागि आफू योग्य छु भन्ने कुरालाई आफ्नो मेहनत, आवश्यक पहलकदमी तथा तत्परता र क्षमताको प्रदर्शनद्वारा साबित गर्नुपर्छ । क्रान्तिहरूको इतिहासको अध्ययनबाट हामीले के थाहा पाउँछौं भने क्रान्तिमा नेताहरूको ठूलो भूमिका रहेको हुन्छ । क्रान्तिको लागि आवश्यक वस्तुगत अवस्थाहरूको विकासले त्यसको लागि रङ्गमञ्च ९क्तबनभ० मात्र प्रस्तुत गर्छ तर त्यो विकासले क्रान्ति गर्ने होइन र क्रान्ति हुन्छ कि हुन्न भन्ने कुराको निर्धारण पनि त्यसले गर्ने होइन । क्रान्ति गर्ने त मानिसहरू (जनता) हुन् । अनुकूल वस्तुगत परिस्थिति भएपनि क्रान्ति हुन्छ कि हुन्न भन्ने कुरा मानिसहरू क्रान्तिका लागि काम गर्छन् कि गर्दैनन र लड्छन् कि लड्दैनन् भन्ने कुरामाथि निर्भर गर्दछ ।
निश्चय हो, इतिहासलाई अघि बढाउने कार्यमा आम जनताको ठूलो र महत्वपूर्ण भूमिका रहन्छ, तर सो कार्य पूरा गर्ने सम्बन्धमा तिनका आफ्ना सीमाहरू छन् र योग्य नेताहरूको नेतृत्वअन्तर्गत मात्र त्यसमा तिनको भूमिका प्रभावकारी र ठोस परिणाममुखी हुन सक्छ । एउटा महत्वपूर्ण भनाइ छ – “क्रान्तिहरू इतिहासका चलयन्त्र हुन् ।” (Revolutions are the locomotives of history.) यहाँ कुन कुरा स्पष्ट छ भने चलयन्त्र आफै चालक शक्ति होइन, त्यो त कसैबाट चलाइएपछि चल्ने चीज हो । चलयन्त्रको एक चालक शक्तिको हैसियतको दृष्टिबाट हामी के भन्न सक्छौं भने नेताहरू क्रान्तिका चालक हुन् । यस तथ्यलाई माओले यसरी सूत्रबद्ध गरेका छन् – “जहाज चलाउने काम कर्णधारमाथि निर्भर गर्छ ।” यसअनुसार भन्ने हो भने क्रान्ति एउटा जहाज हो र त्यसलाई चलाउने काम नेताहरू गर्छन् । यसरी क्रान्ति सफलतापूर्वक अघि बढ्छ कि बढ्दैन भन्ने कुराको निर्धारण गर्ने तत्व पार्टीको नेतृत्व हो । तसर्थ, योग्य, सक्षम, कुशल तथा सबल नेतृत्वको विकास गर्नु क्रान्तिको लक्ष्यको सिद्धीकरणका लागि प्रमुख कार्य हो । उपरोक्त तथ्यमा नै नेताहरूको महत्व रहन्छ । जहाज चलाउनेले समुद्रमा उठ्ने छालहरूको कुशलतापूर्वक उपयोग गरेर जहाजलाई डो¥याउनु पर्छ, त्यसो गर्न नसकेमा छालले जहाजलाई डुबाइदिनेछ । पार्टी नेताहरूले सम्पूर्ण परिस्थितिको विश्लेषणको आधारमा रणनीति तथा कार्यनीतिको तर्जुमा गर्नु र त्यसको कार्यान्वयनका लागि पार्टी शक्तिहरूको सङ्गठन र सञ्चालन गर्नुपर्दछ, त्यसो नगरेमा वा गर्न नसकेमा क्रान्ति असफल हुनेछ, क्रान्तिले प्रतिगमन बेहोर्नु पर्नेछ । त्यसैले क्रान्तिको नेतृत्व गर्ने भन्नेहरूको क्षमता, योग्यता र वैयक्तिक गुणहरूको सवाल अगाडि आउँछ । तसर्थ, क्रान्ति र पार्टीले योग्य, सक्षम तथा कुशल नेताहरूको परिपोषण, सम्बद्र्धन र विकासमा निरन्तर ध्यान दिनु र अयोग्य नेताको ठाउँमा अधिक योग्य नेताको प्रतिस्थापन गर्दै अघि बढ्नु पर्छ ।
माथि हामीले क्रान्तिभित्र क्रान्तिको अवधारणाले निर्दिष्ट गर्ने कार्यहरूको सम्बन्धमा चर्चा गरेका छौं । आम जनताको मनलाई परिवर्तन गर्नु, पार्टी कार्यकर्ताहरूको चिन्तन र आचरणको क्रान्तिकारी रुपान्तरण गर्नु र नेताहरूको योग्यता, क्षमता, दूरदर्शीता र व्यावहारिक कुशलतालाई माक्र्सवादी–लेनिनवादी स्तरमा उठाउनु नै क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न गर्नुपर्ने कामहरू हुन् । यसरी क्रान्तिभित्र क्रान्तिको अवधारणा एउटा व्यापक अर्थ र क्षेत्र ओगट्ने अवधारणा हो । क्रान्तिभित्र क्रान्ति ल्याउनु भनेको एउटा महान् सङ्घर्ष हो, जसलाई उचित ढङ्गबाट दृढतापूर्वक चलाइनु जरुरी छ । यस दृष्टिबाट यो सङ्घर्ष वैचारिक सङ्घर्ष हो, तर यसको अन्तिम समाधान अन्तिम परिणाम वैचारिक क्षेत्रमा नभएर व्यावहारिक क्षेत्रमा रहन्छ अर्थात् परिणाममा यसको निष्कर्ष व्यवहारको क्रान्तिकारीकरण हो ।