एजेन्सी । भेनेजुएलामा विपक्षीको बहुमत रहेको नेशनल एसेम्बलीमा सरकारका समर्थक घुसेर आक्रमण गर्दा सांसद र पत्रकार घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार यो आक्रमण स्वतन्त्रता दिवसको अवसरमा नेशनल एसेम्बलीमा राखिएको बिशेष सत्रपछि भएको हो ।
समाचार एजेन्सी एएफपीका अनुसार नेशनल एसेम्बलीको परिसरमा लाठीसहित घुसेर सो हमला गरेका थिए ।
भिडियो फुटेजमा दुई विपक्षी सांसदको अनुहारमा रगत देखिएको छ ।
भेनेजुएलामा विपक्षीको समर्थक वेबसाइस ला पाटिलाका अनुसार राजधानी कराकसमा भिडको हमलामा केही अधिकारी घाइते समेत भएका छन् ।
वेबसाइटका अनुसार नेशनल एसेम्बलीभित्र हिंस्रक व्यक्तिहरुले कुटपिट गरेका थिए । सांसद यजैरा डे फोरेरोले अन्य तीन साथी सांसद घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
विपक्षी दलका उपनेता अमेरिको डे ग्राजियासमेत घाइते भएका छन् । सो आक्रमणका क्रममा जम्मा ८ जना घाइते भएको बताइएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो राजधानी कराकसमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित अर्को कार्यक्रममा सम्बाधेन गरिरहेका बेला सो घटना भएको हो ।
राष्ट्रपति मादुरोले घटनाको निन्दा गरेका छन् । भेनेजुएलामा पछिल्लो समयमा आर्थिक संकट गहिरिदो छ । करिब तीन महिनादेखि भेनेजुएलामा विरोध प्रदर्शन जारी रहेको छ । यो क्रममा ९० जना भन्दा बढीको मृत्यु भइसकेको छ ।