काठमाडौ । उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दूरीका बसहरु पुरानो तथा नयाँ बसपार्कबाट मात्रै सञ्चालन हुने भएको छ ।
उपत्यकाको सवारी साधन व्यवस्थित बनाउनको लागि हिजो बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको यातायात व्यवस्था विभाग श्रोतले जानकारी गराएको छ ।
विगागका प्रमुखको अध्यक्षतामा बसेको उक्त बैठकमा विभागअन्तर्गतका विभिन्न कार्यालय र ट्राफिक महाशाखाका प्रमुख सहितको उपस्थिति रहेको थियो ।
लामो दूरीका सवारी साधनहरुले उपत्यकाका विभिन्न ठाउँहरुबाट यात्रुलाई चढाउने र ओराल्ने गरेपछि हुने जामलाई व्यवस्थापन गर्नको लागि यस्तो व्यवस्था गरिएको विभागले जानकारी गराएको छ ।
नयाँ व्यवस्था अनुुसार लामो दूरीका सवारी साधनले उपत्यकाबाट बहिरिँदा नयाँ बसपार्कबाट सोझै कलंकी भएर र उपत्यका भित्रिँदा कलंकीबाट सोझै नयाँ बसपार्कमा पुग्नुपर्ने छ ।
श्रावण १ गतेदेखि यो व्यवस्थाको पालना नगर्ने सवारी साधनलाई कार्वाही गरिने पनि विभागले जानकारी गराएको छ । साथै नयाँ तथा पुरानो बसपार्कको स्तरोन्नती र व्यस्थापनको लागि स्थानीय निकायसँग छलफल तथा सहकार्यबाट अगाडी बढाइने भएको छ ।
त्यस्तै चक्रपथमा हरियाली क्षेत्रमा सवारीसाधन पार्किङ गर्नेलाई आउने असार २५ गतेबाट कारवाही अभियान संचालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।