काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । बैठक सल्लाहकार समितिका अध्यक्ष डा.ओम गुरुङको अध्यक्षतामा र पार्टीका केन्द्रीय अध्यक्ष मोहन बैद्य ‘किरण’को प्रमुख उपस्थितिमा असार १९ र २० गते केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको हो ।
बैठकमा अध्यक्ष किरणले पार्टीको राष्ट्रिय सम्मेलन, नेपाली समाजको वर्ग विश्लेषण, पार्टी संगठन र राजनैतिक परिस्थितिबारे पार्टीको धारणा राख्नु भएको अध्यक्ष गुरुङले बताए ।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन फेरी सार्दा नराम्रो सन्देश जाने हुँदा निर्धारित समयमै सम्पन्न गर्नु पर्ने पार्टीलाई सुझाव दिएको छ । त्यस्तै अबको पार्टी संगठन अध्यक्ष वा महासचिव जुन आधारमा गएपनि बहुपदीय प्रणाली नबनाइकन लगनशील, इमान्दार, मेहनती, राजनीति र विचारमा बुझेको सिद्धान्त र दर्शन बुझेको र बुझाउन पनि सक्नेहरुको चुस्त दुरुस्त पार्टी समिति बनाउनु पर्ने पनि सुझाव दिएको अध्यक्ष गुरुङले बताए ।
नेपाली समाजको वस्तुगत विश्लेषण गरी पार्टीले जाति, भाषा, क्षेत्र, समुदायको पहिचान र उत्पीडनबाट मुक्तिको लागि पार्टीले लिएका नीतिहरुलाई कार्यान्वयन गर्न पार्टी कमिटीलाई हालको प्रदेश संरचनामा लैजानु पर्ने सुझाव पनि सल्लाहकार समितिले दिएको छ ।
पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई घनिभूत आन्दोलनको रुपमा अगाडी बढाउन प्रभावकारी कार्ययोजना र कार्यक्रम लिएर जनतामा जानु पर्ने सुझाव पनि दिएको अध्यक्ष गुरुङले मूलबाटो अनलाइनसँगको कुराकानीमा छ ।