दार्जिलिङ । भारतको पश्चिम बंगाल राज्यको पहाडी क्षेत्र दार्जिलिङसहितको पहाडी क्षेत्रमा चलिरहेको गोर्खाल्यान्डको आन्दोलनका कारण त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित भएको छ ।
आन्दोलनका क्रममा गोर्खा जनमुक्ति मोर्चासहितका राजनीतिक दलको संयुक्त आव्हानमा करिब तीन सातादेखि त्यस क्षेत्रमा जारी आम हड्तालका कारण जनजीवन प्रभावित बनेको हो ।
आम हड्तालका कारण खाद्यान्न, पेट्रोलिय पदार्थसहित दैनिक उपभोग्य वस्तुको अभाव सुरु भएको छ । आम हड्तालका क्रममा पश्चिम बंगाल सरकारले पहाडी क्षेत्रमा नाकाबन्दी समेत गरेका कारण दार्जिलिङसहित आसपासका जनता दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि करिब ३० किलोमिटर टाढा नेपालको इलाम जिल्लासम्म आउन थालेका छन् ।
भारतले त्यस क्षेत्रमा निर्माणलगायतका सामग्री पठाएपनि खाद्य सामग्री ढुवानीमा रोक लगाएको बताइएको छ ।
तीन साताभन्दा लामो समयदेखि जारी गोर्खाल्यान्ड आन्दोलनका क्रममा दिनहुँजसो सुरक्षाफौज र प्रदर्शनकारी गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताबीच भिडन्त हुने गरेको छ । बुधबारमात्रै कालेबुङमा प्रहरीको गोली लागेर चार जना मोर्चा कार्यकर्ता घाईते भएका थिए ।
यसैबीच गोर्खाल्यान्ड आन्दोलनका क्रममा पछिल्ला केहीदिनदेखि पश्चिम बंगालको सिलिगुडीमा सिक्किम जाने सवारी साधनमाथि भइरहेको तोडफोड, चालकमाथिको कुटपिट र बंगाल सरकारले लगाएको नाकाबन्दीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन् ।
उनले दक्षिणमा सिक्किमको समस्या र उत्तरमा चीनको चलखेलका कारण सिक्किम दोहोरो मारमा परेको भन्दै यसरी स्यान्डविच हुनका लागि भारतमा नगाभिएको स्पष्ट पारेका छन् । पछिल्लो घटनाक्रमलाई लिएर आफू केन्द्र सरकारसँग निरन्तर सम्पर्कमा रहेको र सर्वोच्चको समेत ढोका ढक्ढक्याउने सोचेको बताएका छन् ।
उनले भनेका छन्, ‘हामी भारतको संघीय व्यवस्थाभित्र छौं । सिक्किम भारतको २२ औं राज्य हो । हामीीले सिक्किमलाई भारतमा गाभेर देशभक्ति देखाएका हौं ।’ उनले माथिबाट चीनसँग सीमाको लडाई हुने आशंका रहेको तर भारतले नै आफूहरुलाई चामल समेत आउन नदिएको उनको गुनासो छ ।
मुख्यमन्त्री चाम्लिङले आफूहरुले सीमानामा बिना तलबको सिपाहीजस्तो भएर रक्षा गरिरहेपनि भारतले नै आफूहरुलाई भारतीय नठानेको र बाँच्ने अधिकार समेत खोस्न खोजेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले सिक्कमलाई आफूहरुले पानी दिएको बदलामा आफूहरुको बाटो थुन्ने काम गरेको टिप्पणी गरे । पश्चिम बंगालको पहाडी क्षेत्र दार्जिलिङसहितका स्थानमा गोर्खाल्यान्ड आन्दोलनका कारण सिक्किममा समेत पर्यटन, होल व्यवसाय प्रभावित भएको, सवारी साधन सञ्चालन हुन नसकेको, खाद्यान्नको अभाव हुन थालेको छ ।
पश्चिम बंगाल सरकारले सबै विद्यालयमा बंगाली भाषा अनिवार्य पढाउनुपर्ने निर्णय गरेपछि दार्जिलिङमा नेपालीभाषीले आन्दोलन सुरु गरेका हुन् । सोही आन्दोलन बढ्दै जाँदा गोर्खाल्याण्ड आन्दोलनको रुप लिएको हो ।