उत्तर कोरियाको पछिल्लो ब्यालिस्टिक क्षेप्यास्त्रको क्षमता र त्यसले मार हान्न सक्ने वास्तविक दूरी जतिसुकै भएपनि पारमाणविक अस्त्र बोक्न सक्ने क्षेप्यास्त्र विकास गर्ने आफ्नो उद्देश्यतर्फ बिस्तारै विस्तारै अघि बढिरहेकोमा कुनै सन्देह छैन ।
हालसम्म पनि हामीलाई खास रुपमा उत्तर कोरियाको परमाणु कार्यक्रम कहाँसम्म पुग्यो भन्ने थाहा छैन । तर ट्रम्प राष्ट्रपति भएको अवधिमा नै उसले यो लक्ष्य हासिल गर्ने सम्भावना प्रबल रहेको छ ।
यहाँ सवाल उठ्नसक्छ कि कुनै हमलाका विरुद्ध आफ्नो रक्षाका लागि अमेरिका कति तयार रहेको छ । भलै अमेरिकाको ब्यालिस्टिक मिसाइल डिफेन्स सिस्टममा ठूलो लगानी रहेको छ । संसारभरमा यस्तो सेन्सर लगाएको छ कि जो मिसाइल परीक्षणको जानकारी दिने गर्दछ । इन्टर सेप्टर मिसाइल पनि सक्रिय रहेको छ ।
क्षेप्यास्त्र परीक्षणको अवस्थिति पत्ता लगाउन र पछ्याउन सक्ने भूउपग्रह ‘सेन्सर’ र ‘रिले’ को विश्वव्यापी सञ्जाल छ । तर आलोचकहरुले अमेरिकी प्रणाली विश्वसनीय नभएको बताउने गरेका छन् ।
ट्रम्प प्रशासनले समग्र कार्यक्रमको समीक्षा गरिरहेको छ । नयाँ जमानाका प्रतिरोधी क्षेप्यास्त्रहरुको विकास भइरहेको छ । तर निकट भविष्यमा सम्भावित उत्तर कोरियाली खतरासँग जुध्न थोरै विकल्प उपलब्ध हुनेछन् । दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गरिएको छ ।
राष्ट्रपति रोनल्ड रेगनले कल्पना गरेको ‘स्टार वार’ बाट हामी धेरै टाढा छौँ । रेगनले अमेरिका र उसका सहयोगी मुलुकमा क्षेप्यास्त्र प्रतिरोधी ढाल निर्माण गर्ने आशा गरेका थिए ।
ती दिनहरुमा क्षेप्यास्त्र प्रतिरक्षालाई धेरैले अस्थिरता निम्त्याउने रुपमा हेर्ने गर्थे । त्यसै कारणले होला शीतयुद्धकालीन सन्धिले त्यसमाथि व्यापक रुपमा प्रतिबन्ध लगाएको थियो ।
क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका कारण कुनै चेतावनी विना आक्रमण हुने सम्भावना बढाइदिन्छ । कसैले पारमाणविक आक्रमण गरे त्यसलाई रोक्न सक्ने वा जवाफमा क्षति पुर्याउन सक्ने भन्ने विश्वासिलो आधार दिएर शत्रु पक्षलाई शुरुमै आक्रमण गर्नबाट हच्काउने ‘डेटेरेन्स’ को प्रभावकारिता पनि यसले घटाइदिन्छ ।
क्षेप्यास्त्रविरुद्ध इजरायली प्रतिरक्षा प्रणाली प्रभावकारी देखिएको छ । आलोचकहरुका अनुसार अमेरिकाको आफ्नै प्रतिरक्षा प्रणाली सोचेजतिको प्रभावकारी छैन । परीक्षणबाट मिश्रित नतिजा देखिएको छ ।
वास्तविक अवस्था झल्काउने गरी तिनीहरुको बृहत् परीक्षण पनि नगरिएको भन्दै पटकपटक आलोचना हुने गरेको छ । अमेरिकी कमाण्डरहरुले पनि आफूहरुको प्रतिरक्षा प्रणाली पूर्ण रुपमा क्षेप्यास्त्र प्रतिरोधी नभएको स्वीकार्ने गरेका छन् ।
अमेरिकी राष्ट्रपतिले उत्तर कोरिया र उसको बढ्दो क्षेप्यास्त्र विकासबारे जेसुकै निर्णय गरुन् समय भने घर्किदैँ गएको छ । उनले एउटा विकल्प रोज्न सक्छन् र त्यो हो, अमेरिकी प्रतिरक्षालाई सुदृढ बनाउने ।
जस्तो कि क्षेप्यास्त्र आक्रमणविरुद्धको प्रतिरक्षा प्रणाली मजबुत बनाउन उनले दक्षिण कोरियामा क्षेप्यास्त्र रोक्न सक्ने क्षेप्यास्त्र परिचालन गरेका छन् ।
_बीबीसी





























