सर्वहारा वर्गीय पार्टी निर्माणको सवाल : एक छलफल

प्रकाशित मिति : २०७४ असार १७

- दिनेश शर्मा

 

१. विषय प्रारम्भ 

मानवजातिको उत्पति र विकासको प्रक्रियासँगसँगै समाजमा वर्गको उत्पत्ति हुन पुग्यो । जब समाजमा दुईवटा वर्ग शोषक र शोषितका रुपमा उदय भयो तव दखि नै कुनै न कुनै तवरबाट वर्ग संघर्ष निरन्तर रुपमा जारी छ ।  समाजमा चलेका सवै प्रकारका वर्ग संघर्षहरुको विश्लेषण र संश्लेषण गर्ने काम माक्र्सवादले ग¥यो । त्यसैले माक्र्सवाद आफैमा एउटा विज्ञान बन्न पुग्यो । माक्र्सवाद अघिका दार्शनिकहरुले पनि विश्लेषण र संश्लेषण गर्न नखोजेको होइनन् । उनीहरुको त्यो खोज, अनुसन्धान र निष्कर्श यथार्थपरक, वस्तुसम्मत बन्न सकेन जसले गर्दा पूर्णरुपमा विज्ञानसम्मत वन्न सकेन तर त्यो माक्र्सका लागि अध्ययनका निमित्त एउटा आधार भने बन्न पुग्यो । जब माक्र्स तथा एंगेल्स जस्ता महान दार्शनिकहरुले एउटा निचोड निकाले र त्यसलाई माक्र्सवादका नामबाट आफ्ना विचारहरुलाई सार्वजनिक गरे, आज त्यो सिद्धान्त वर्ग संघर्षको उठान, त्यसको निरन्तरता र सर्वहारा वर्गको मुक्ति, समानताका लागि एउटा वरदान सावित बन्न पुग्यो ।

आज भन्दा १६९ वर्ष अगाडी सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी भएपछि एकातिर उत्पीडनको जालमा परेर सर्वहारा वर्गमा परिणत भएका विश्वका हजारौं, लाखौं, करोडौं मात्र होइन अरवांै मानिसहरुमा उत्साहको एउटा लहर नै आएको थियो । तर जसले उत्पीडन गर्दै आएको वर्ग छ त्यसले भने माक्र्सवादको विरोध ग¥यो । उनीहरु शोषक वर्गको त्यो विरोध तथा शासकहरुको शासन सत्ताको दमनको कुनै प्रवाह नगरी विश्वका कयांै देशका जनताले अगाडी बढाएको क्रान्ति अथवा विद्रोहको झिल्कोले शोषक वर्गको शासन सत्ता समाप्त बनाएर उक्त स्थानमा सर्वहारा वर्गको शासन सत्ता स्थापना गरेर देखाउने मात्र होइन कम्युनिष्ट पार्टीको झण्डालाई माथि उठाउदै माक्र्सवादको विज्ञानलाई व्यवहारमा परिणत गर्नुका साथै लेनिनवाद र माओवादका रुपमा आफ्ना विचारहरुको विकास गर्न सर्वहारा वर्ग सफल भयो । विश्वका सर्वहारा वर्गका निमित्त यतिबेला माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो अजय हतियार रहदै आएको छ । 

माक्र्स, एगेल्स, लेनिन, स्टालिन र माओहरुले सर्वहारा वर्गको मुक्ति र समानताका निमित्त पुरा गर्नुपर्ने अविभारा पुरा गरेर मात्र देखाउनु भएन बरु बाँकी दिनहरुमा सर्वहारा वर्गका सच्चा नेताहरुले पुरा गर्नका मालेमावादको अजय हतियारका साथै सर्वहारावर्गले आफ्नो वर्गको वर्गीय सत्ता संचालन कसरी गर्ने भन्ने उदाहरण समेत प्रस्तुत गरेर जानु भएको छ । हाम्रो जस्तो पूँजीवादको विकास नभैसकेको देशहरुमा नयाँ जनवादी गणतन्त्र हुँदै समाजवाद साम्यवादमा पुग्न सकिन्छ र पूँजीवादको विकास भएका देशहरुमा समाजवाद हुँदै साम्यवादमा जान सकिन्छ भन्ने सत्ताका मोडल मात्र होइन क्रान्तिका स्वरुपका बारेमा समेत अध्ययनका निमित्त प्रस्तस्त मात्रामा सामाग्रीहरु पस्केर जानु भएको छ । यतिमात्र होइन सर्वहारा वर्गको पार्टी भित्र घुसेर मालेमावादको वैज्ञानिक अजय हतियारलाई कसरी भूत्ते पार्ने कोशिस गर्छन र क्रान्तिको उभारलाई भित्रैबाट कसरी समाप्त बनाउछन भन्ने विषयमा समेत मालेमावादले प्रशस्त मात्रमा उच्च विचार दिएको छ । पछिल्लो अवधिमा माओको नेतृत्वमा भएको सर्वहारा साँस्कृतिक क्रान्ति एउटा सशक्त उदाहरण हो । माक्र्सदेखि माओसम्मका महान दार्शनिकहरु भौतिक रुपमा हाम्रा सामू हुनुहुन्न । तर उहाँहरुले दिएको वैचारिक ज्ञान छोटै समयमा विश्वमा स्थापीत बन्न पुग्यो । यति बेलाको आवश्यकता भनेको मालेमावादका वैचारिक सिद्धान्तलाई आत्मसाथ गर्नु र त्यसलाई व्यवहारमा परिणत गर्न इच्छाशक्ति कायम गर्नु हो । त्याग, वीरता, वलिदानको भावनाले ओतप्रोत बन्नु हो । आन्दोलनका क्रममा आउने सबै प्रकारका कठीनाइसँग जुध्न सक्ने उच्च साहसिक क्षमताको विकास गर्नु हो । 

२. सर्वहारा वर्ग

माक्र्स तथा एंगेल्सले नयाँ अथवा वैज्ञानिक सिद्धान्त त्यसमा पनि उत्पीडनमा परेका वर्गको पक्षमा अनुसन्धान गर्दै पूर्वी यूरोप तथा अमेरिकामा मजदुर आन्दोलन घनिभूत तवरबाट चलिरहेको थियो । त्यसलाई आधार बनाएर उहाँहरुले अध्ययनलाई केन्द्रीत गर्नुभयो । त्यति बेला मजदुरहरु आर्थिक रुपमा यति कमजोर थिए की उनीहरुसँग आफ्नो व्यक्तिगत सम्पति भन्नु केवल श्रम मात्र थियो । मजदुरहरुको जीवन दास–दासीहरुको भन्दा अत्यन्तै गएगुज्रेको अवस्थाबाट व्यतित भैराखेको अवस्था थियो । श्रम गरेर उचित ज्याला पाउने त कता हो कता कामै नपाएर बेरोजगार बनेर र भोकभोकै सडकपेटीमा मर्नु पर्ने अवस्था थियो । काम गरेकाहरुको जीवन पनि त्यति नै कष्टसाध्य र जोखिमपूर्ण थियो । यसैलाई आधार बनाएर गरिएको गहिरो खोज, अनुसन्धान र त्यसको समाधानका रुपमा माक्र्सवाद जन्मेको हो । जसलाई हामी सर्वहारा वर्गको सिद्धान्त भन्दै आएको छौं । आर्थिक रुपमा केही नभएर मात्र होइन की मानसिक रुपमा चिन्तनमा, व्यवहारमा उत्पीडित वर्गको पक्षमा बोल्ने, त्यसको पक्षमा संघर्ष गर्ने सिद्धान्त नै सर्वहारा वर्गको सिद्धान्त हो । सच्चा माक्र्सवादी सिद्धान्त हो । आजको अवस्थामा मालेमावाद हो । यसलाई गहिरो गरी आत्मसाथ गर्ने र व्यवहारमा प्रयोग गर्न सहमत हुने व्यक्ति सर्वहारा वर्गको प्रतिनिधि हो र त्यसको समूह सर्वहारा वर्ग हो ।

विश्वमा र हाम्रो जस्तो देशमा त्यसको संख्या अत्याधिक बहुमतमा छ । तर पनि त्यो वर्ग किन आफ्नो मुक्तिका खातिर सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने सच्चा कम्युनिष्ट पार्टीमा आवद्ध हुने र वर्ग संघर्षमा हेलिने काम गर्दैनन् ? आज यो प्रश्न उठीरहेको छ । यसका दुईवटा कारणहरु छन् । एउटा कारण आफ्नो वर्गको दुश्मन शोषक वर्ग र कथित कम्युनिष्टका नाममा खुलेका पूँजीवादका दलाल पार्टीहरुले दिने व्यापक भ्रममा परेर भ्रमित हुनु । जोखिम मोलेर संघर्षमा हाम फाल्न नसक्नु । दास्रो कारण भनेको सही के हो भन्ने कुराको लेखाजोखा गर्न सक्ने चेतनाको अभाव तथा आफै भित्रको निम्नपूँजीवादी दुषित मनशायले काम गर्नु हो । यसलाई दुईवटा तरिकाबाट हल गर्न सकिन्छ । एउटा सर्वहारा वर्गीय विश्व दृष्टिकोण प्रति गहिरो अध्ययनद्वारा आफ्नो चेतनाको स्तर विकास गर्नु । अर्को भनेको वर्ग संघर्षमा निरन्तर भाग लिएर अगाडी वढ्नु । त्यसैले सर्वहारा वर्ग त्यही हो जसले मालेमावादका आधारभूत सिद्धान्तलाई गहिरोसँग आत्मसाथ गर्नुका साथै आफ्नो देश र विश्वभरिका उत्पीडित जनतालाई मुक्त गराउन दृढतापूर्वक उभिन्छ । 

३. सर्वहारा वर्गको पार्टी

सर्वहारा वर्गले मालेमावादको सिद्धान्त प्रति प्रतिबद्ध भएर मात्र पुग्दैन किनकी आफ्नो वर्गको मुक्तिका खातिर राज्यसत्ता आफ्नो हातमा लिनुपर्दछ । त्यसका लागि शक्ति चाहिन्छ । त्यो शक्ति भनेको सर्वहारा वर्गको विचार बोकेको सच्चा कम्युनिष्ट पार्टी हो । वर्ग संघर्षका विभिन्न भट्टीहरुमा खारिंदै आएका व्यक्तिहरुलाई कम्युनिष्ट पार्टीको सदस्यका रुपमा भर्ति गर्नु पर्दछ । मालेमावादको वैज्ञानिक अजय सिद्धान्तका आधारमा निर्मित सर्वहारा वर्गको वर्ग संघर्षको नेतृत्व गर्नुका साथ नयाँ जनवाद, समाजवाद र साम्यवादको लक्ष्य लिएर गठन गरिएको कम्युनिष्ट पार्टीको सदस्य बन्नु भनेको ठुलो गर्वको विषय हो । 

तर विडम्वना के छ भने पूँजीवादी गद्दारहरु तथा पूँजीवादका दलाल संशोधनवादीहरुको घुसपैठ, टुटफुट, विभाजन र आफै भित्रको कमजोर वैचारिकस्तरका कारण कम्युनिष्ट पार्टीको ओज, गरिमा र त्यसको महत्वलाई कमजोर बनाउने काम हुँदै आएको छ । यही कमजोरीको फाइदा संशोधनवादी गद्दार तथा पूँजीवादी तत्वहरुले लिइरहेको छन् । त्यसैले कम्युनिष्ट पार्टीलाई सस्तो भर्ति केन्द्र होइन विचारको केन्द्र बनाउन सक्नु पर्दछ । तव मात्र त्यो पार्टी, त्यसका नेता, कार्यकर्ताले वास्तविक क्रान्तिको नेतृत्व गर्न सक्दछ । नयाँ जनवादी क्रान्ति पुरा गरी समाजवाद र साम्यवादको लक्ष्य पुरा गर्न सक्छन् । मालेमावाद के हो ? सर्वहारा वर्ग भनेको के हो ? सर्वहारा वर्गको पार्टी भनेको के हो ? सर्वहारा वर्गीय पक्षधर भनेको के हो ? वर्ग संघर्ष भनेको के हो ? संशोधनवाद भनेको के हो ? भन्ने कुराको आधारभूत ज्ञान कम्युनिष्ट पार्टीको साधारण सदस्यले कम्तिमा बुझेको हुनु आवश्यक छ । तव मात्र त्यो पार्टी क्रान्ति गर्न लायक पार्टी बन्न सक्दछ भन्ने बुझाई सबैमा एक रुप हुन आवश्यक छ । त्यसैलाई भनिन्छ सर्वहारा वर्गको पार्टी । 

४. सर्वहारा वर्गको अनुशासन

अहिलेको विश्वको अवस्था भनेको एकातिर बहुध्रुवीय साम्राज्यवादी शक्ति र उत्पीडित जनताका विचमा मुख्य अन्तरविरोध छ । अन्य कतिपय देशका शासकहरु तिनै विस्तारवाद, पूँजीवाद वा साम्राज्यवादका दलालका रुपमा शासन सत्तामा रही आएका छन्  । हाम्रो आफ्नै देश नेपालको कुरा गर्दा एक समय ब्रिटिस साम्राज्यवाद (जो भारतमा आएर शासन गथ्र्यो)को दलालका रुपमा राणाहरुले कार्यकारी भएर शासन चलाए । ब्रिटिस साम्राज्यवाद भारतबाट हटेपछि राजाहरु होउन् या उसको सरकार होस्, भारतीय विस्तारवादको दलालका रुपमा शासन सत्ता सम्हालेर बसे । राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात सत्तामा आसिन राष्ट्रपति होउन् या कार्यकारी सरकारमा पुगेका पार्टी होउन्, सबै साम्राज्यवादद्वारा संरक्षित विस्तारवादका दलाल पात्रहरु छन् । क्रान्ति जारी छ तर कमजोर अवस्थामा । दश वर्षको जनयुद्धका क्रममा सर्वहारा वर्गको क्रान्तिको मुख्य नेतृत्व सम्हालेका व्यक्तिहरुको एउटा हिस्सा आज मालेमावादका आधारभूत सिद्धान्त, वर्ग पक्षधरता, वर्ग संघर्षबाट पलायन मात्र भएनन् स्वयम् उनीहरु समेत साम्राज्यवाद, पूँजीवाद तथा विस्तारवादका दलाल बन्नका खातिर प्रतिस्पर्धामा उत्रेको अवस्थामा सर्वहारावर्गको क्रान्ति स्वभाविक रुपमा कमजोर बन्न पुगेको छ । वर्ग दुश्मनका विरुद्ध लड्ने क्रममा सँगै हातेमालो गर्दै लडेका र आफूभन्दा माथिल्लो तहमा रहेर कमाण्डर, कमिसारको भूमिका निर्वाह गरेकाहरु यतिवेला वुर्जुवा वर्गको सत्तामा वसेर गतिविधि गरेको देख्दा वैचारिक रुपमा परिपक्व, इमान्दार क्रान्तिकारीहरुमा एक प्रकारको घृणा जागेको अवस्था छ भने इमान्दार भएर पनि कमजोर वैचारिकस्तर भएकाहरु या त पलायनताको बाटो समातेका छन् या हिनतावोधको । या त पूँजीवाद भित्रैबाट भविष्यको खोजीमा ।

विश्व क्रान्तिसँगै नेपालको क्रान्ति तथा नेपाली सर्वहारा वर्ग यही जटील र कठीन मोडमा उभिएको छ । साम्राज्यवाद, पूँजीवाद, विस्तारवादको घेराबन्दी मात्र होइन संशोधनवाद, नवसंशोधनवाद र त्यसले छरेका भ्रमहरुबाट मुक्त बनाउन मालेमावादी वैचारिक विचारको स्तर विकास भएका इमान्दारहरुलाई पार्टीमा गोलबन्द गर्न र उच्च अनुशासन कायम गर्नु नै वास्तविक कम्युनिष्ट पार्टीको निर्माण गर्नु हो । मास पार्टीले क्रान्तिको नेतृत्व गर्दैन । ठुलो मास र भिडले क्रान्ति हुन्छ भन्नु सुधारवाद हो, संशोधनवाद हो, त्यसले अन्ततः बनाउने भनेको दलाल हो । सर्वहारा वर्गीय क्रान्ति त सही विचारद्वारा लैस, चुस्त र अनुशासित पार्टीले मात्र गर्न सक्दछ । लेवी नतिर्ने, कोटा नवुझाउने, वैठकमा नभ्याउने, वैठकमा वसेर गरेका निर्णय कार्यान्वयन नगर्ने, कार्यक्रममा उपस्थित नहुने जस्ता गैरजिम्मेवार नेता होउन् या कार्यकर्ता त्यसबाट क्रान्तिको आशा गर्नु भनेको निरर्थक र व्यर्थ हो । अझ कतिपय अवस्थामा चिया पसल, गाडी वा सार्वजनिक स्थानहरुमा आफ्नै पार्टीको कार्यदिशा पार्टी नेतृत्व, पार्टी निर्णयको आलोचना गर्दै हिड्ने जस्ता क्रियाकलापहरु कुनै सर्वहारा वर्गको नम्सभित्र पदैनन् । पारिनु पनि हुन्न । अहिले चलेको फेसबुक, अनलाईन वा अन्य समाजिक सञ्जालहरुमा पार्टीका कयौैं गोपनियताहरु बाहिर जानु वा हैसियतलाई विर्सेर समाचार अन्य कतिपय विषय बाहिर जानु भनेको पनि सर्वहारा अनुशासन भित्र नपर्ने विषय हुन ।

पूँजीवादी दलालहरुको सत्तालाई जरैदेखि उखालेर फ्याँक्न वैचारिकस्तर उच्च रहेको, उच्च मनोवल सहितको अनुशासित पार्टी बनाउन विना हिचकिचाहट बहसको व्यवस्था गरौं । कडा अनुशासन भएको लडाकु पार्टीको निर्माण गरौं । जसको योग्यता र क्षमता जति हो, त्यही क्रान्तिको सेवा गर्ने प्रण गरौं । को कहिले जन्मेको र कसले कति पढेको आधारमा होइन यतिबेलाको क्रान्तिको आवश्यकता के हो र त्यो कसले इमान्दारीताका साथ पूरा गर्न सक्छ भन्ने आधारमा छलफल गर्ने सोचको विकास गर्नु अत्यन्तै आवश्यक छ । कर्तव्य पूरा गरेर अधिकारका कुरा गर्ने बानीको विकास गरेर मात्र अनुशासित क्रान्तिकारी र लडाकू पार्टी बन्न सक्छ । सर्वहारा वर्गले यसैमा ध्यान केन्द्रित गर्न आवश्यक छ । सर्वहारा वर्गको पार्टीको सदस्य वास्तवमा कडा अनुशासनयुक्त, उच्च मनोवल सहितको कर्तव्यनिष्ठ वैचारिक रुपमा परिपक्व हुन आवश्यक छ । 

५. निश्कर्षमा

साम्राज्यवाद, पूँजीवाद र विस्तारवादका घेरालाई तोड्दै सबै प्रकारका संशोधनवाद, नवसंशोधनवादका भ्रमबाट मुक्त वैचारिकस्तरको उच्च क्षमता सहितको क्रान्ति गर्न योग्य पार्टी निर्माणमा जोड दिउँ । कसले के भन्छ भन्नेमा होइन हामी माथि आएको सर्वहारा वर्गीय अभिभारा पुरा गर्न सर्वहारा वर्गको हेडक्वाटरलाई बलियो बनाउँ । उदारता, उदासिनता, संकृर्णता, व्यक्तिवादी अराजकता, अनुशासनहिनता जस्ता मालेमावादका आधारभूत सिद्धान्तसँग मेल नखाने विषय वस्तुका विरुद्ध डटेर संघर्ष गर्ने सहास गरौं । आत्मप्रशंसा होइन आत्मसमिक्षासहित क्रान्तिको झण्डालाई उच्च राख्दै क्रान्तिका बाँकी अभिभारा पूरा गर्ने प्रतिवद्धता जाहेर गरौं । यो नै वर्तमानको आवश्यकता हो ।