काठमाडौं । तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका– ५ स्थित आङदीममा पहिरोले पुरेर ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् ।
गएराति पानी परेसँगै २ बजेतिर आएको पहिरोले पुरेर कुमार सोदेम्बा (५०), प्रिती सोदेम्बा (९) र प्रेम कुमार सोदेम्बा (७)को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु सोम कुमार सोदेम्बा (३५), पञ्ची सोदेम्बा (१५) र साधना लिम्बु (१४)लाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उता झापा जिल्ला पथरीशनिश्चरे नगरपालिका वडा नं २ पथरीमा चट्याङ लागेर १ जना महिलाको मृत्यु भएको छ ।
हिजो शुक्रवार घरमा बसिरहेकी ३० वर्षीय अमृता बाँस्कोटा चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको निमित्त अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।






























