झर्रोटर्रो : ‘ककटेल पार्टी : ककटेल चुनाउ’

प्रकाशित मिति : २०७४ असार १८

- कैलुब्राह

दुई चरणमा भैसकेको चुनाउमा संसदको खोरमा छिरेका दलहरूमा कोही कसैको शत्रु र मित्र भएनन् । यो गजबको चुनाउ भयो । ब्वाँसो र बाख्रो एउटै खोरमा रहँदैनथे । तर बाख्रोले पनि ब्वाँसोको रूप धारण गरेपछि समस्या रहेन । अब नेपाल मण्डलको संसदवादमा वर्ग सकियो । यहाँ चारतारेदेखि हँसियाठोक्के दल हुँदै राजावादी र रङ्कवादी दलसम्म सबैका शत्रुजति मित्रमा बदलिए । हिजका दिनमा एकार्कालाई जरोकिलै समेत उखेलेर फाल्ने भन्दै लडेका लाउके दलहरू यतिखेर ककटेल दलमा परिणत भए । जहाँ जोसँग मिलेर हुन्च चुनाउ जित्ने रणनीति बनाएको हुनाले कोही कसैका विरोधी भएनन् । चारतारे + गोलघेरे, सूर्यछाप + गाईदल, चारतारे + सूर्यछाप, गोलघेरे + गिलासछाप, सूर्यछाप + गिलासछाप, चारतारे + गाईदल, गिलासछाप + चारतारे, मशालछाप + सूर्यछाप, चारतारे + मशालछाप, मशालछाप + गोलघेरे । जहाँ जोसँग मिल्दा स्थानीय विपक्षीलाई हराउन सकिन्छ त्यसैअन्सार तालमेल गरे । यस्तो प्रकारको कार्यगत मोर्चा बनेपछि को कस्को शत्रु र मित्र हो भन्ने कुरा चिन्नु न बिन्नु भयो । ककटेल दलका ककटेल चुनाउ । यो हो लोकतान्त्रिक गन(ण होइन)तन्त्रको अशली अनुहार । त्यही भएर सबै सत्ताधारी लाउके दलहरूले भनेका रहेचन् राजनीतिक क्रान्ति सकियो अब आर्थिक क्रान्ति गर्नु पर्च भनेर । यो भोँदुराम कैलुब्राहले के बुझोस् कुरोको चुरो । बल्ल कैलुको घैँटोमा घाम लागो । हो, साँच्चै राजनीतिक क्रान्ति त सकिएकै रैच । सत्ताधारी लाउके दलदेखि भुरेटाकुरे दलसम्मका लाउके नेताहरूको आर्थिक क्रान्ति त छ÷छ मैने सरकारले पूरा गरिदिएकै थियो, अब स्थानीय चुनाउबाट बन्ने स्थानीय सरकारले लाउके दलका हनुमान कार्यकर्ताहरूको आर्थिक क्रान्ति पूरा गरिदिने भयो । त्यसपछि त आर्थिक क्रान्तिको पाटो पनि पूरा हुन्च । तल र माथि दुबैतिर आर्थिक क्रान्ति पूरा भएपछि संविधान अन्सारको समाजवाद झिलिमिलि भएर उदाउँछ । यति सजिलो तरिकाले आउने समाजवादतिर नलागेर माक्र्स–लेनिनले भनेजस्तो समाजवाद र माउ बुढाले भनेजस्तो जनवाद खोज्ने हामीजस्ता भोँदुरामहरू जड्शूत्रवादी नभए अरू को हुन्च त ?

यो चुनाउको ककटेलको अर्को पक्ष पनि छ । जहाँ आफ्नो दलले जित्न सक्ने बलियो आधार थियो त्यस्तो ठाउँमा दलभित्रै टिकट पाउनका लागि तँछाडमछाड, मारामार, कुटाकुट र भकुराभकुर पनि चल्यो । कतै कतै टिकेट नपाएको झोँकमा दलबदल गर्ने र स्वतन्त्र उठेर आफ्नै दलका उमेदवारलाई ल्वापे ख्वाउने काम पनि भयो । जहाँ हार्ने निश्चित थियो त्यस्तो ठाउँमा चुनाउमा उठ्न कसैले पनि नमानेपछि दलले विभिन्न शर्तमा आदेश गर्नु प¥यो । जित्ने ठाउँको टिकेटका लागि दलभित्र पैसाको जुवा चल्यो । जस्ले बढि पैसा चुनाउमा खर्च गर्न सक्ने हुति देखायो लाउकेहरूले उसैलाई टिकेट दिए । रातदिन गाउँमा बसेर सङ्गठनको काम गर्ने हनुमानहरू जिल्लाराम परे । सत्ताधारी सबै लाउके दलहरूमा चलेको टिकेट जुवा हो यो । त्यसपछि चुनाउमा दिनरात गाउँटोलहरूमा लाखौँ ब्रोइलर, हजारौँ खसीबाख्रा र सयौँ राँगाहरूले बलिदानी दिए । कैलास पर्वतबाट भोलेबाबाले सोमरसको नदी नै बगाइदिएर सबैलाई तृप्त पारे । यसरी अहिलेको चुनाउको रमिता सकियो ।
सरकारदेखि चुनाउसम्म विशेषगरि चारतारे र गोलघेरेका बिचमा वर्गीय साइनो अत्यन्तै कसिलो गरि बाँधियो । मोल तोकिएको टाउको र मोल तोक्ने टाउकाको गर्दन जोडिएपछि उनीहरूका बिचमा वर्गीय मितेरी पनि दरिलोसँग जोडिएको हो । हिन्दूस्तानबाट फर्कंदा सान्दाजुले भनेका थिए रे ‘राजाको घाँटी र मेरो घाँटी जोडिएको छ, अब राजासँग नडराऊ ।’ अहिले माकेका सुप्रिमोले भनेका छन् ‘टाउकाको मोल तोक्नेको र मेरो घाँटी जोडिएको छ, अब चारतारेसित नडराऊ ।’ त्यसैले सुप्रिमोको दल गोलघेरेका कार्यकर्ताहरूले अहिलेको चुनाउमा भकाभक चारतारेसित घाँटी जोडेर एउटै मोर्चा बनाएर मितेरी गाँसे । जनयुद्धका बेला भाटे कारबाही गर्ने भुइँफुट्टा माउवादी र कारबाहीको शिकार बनेका चारतारे दलका ‘सामन्त र सुराकीहरू’ मिलेर ब्रोइलरका साँप्रा लुछ्दै र सोमरस घुट्क्याउँदै ककटेल मनाएर एकार्कालाई ड्याम्म भोट हाले । यो हो असली राजनीति । मौकामा चौका हान्न नजान्ने भोँदुरामले केको राजनीति गर्नु ।

सत्तामा भएजति सबै लाउके दलका हनुमानहरूका लागि भाग पुग्नेगरी सिट भएको स्थानीय तहको व्यवस्था गरेको भए सायद चुनाउ गर्ने लफाडा पनि गर्नुपर्ने थिएन कि । त्यसै अन्सारको व्यवस्था संविधानमा नगर्नु लाउके दलहरूको महाभुल भएको यो कैलुको ठहर छ । स्थानीय सरकारको चुनाउमा समानुपातिक प्रणाली नराख्नु पनि उनीहरूको गम्भीर भुल हो । स्थानीय प्रमुख उपप्रमुख तोकेरै चुनाउ गर्ने व्यवस्था संविधानमा राख्नु अर्को महागल्ती भयो । त्यसो नगरेको भए स्थानीय तहमा पनि छ÷छ महिनामा विभिन्न दलहरूका बिचमा तालमेल र सहकार्य गरेर सरकार गठन गर्न हुने थियो । हिजोका दिनमा सुराकी भनेर भाटे कारबाही गर्नु र आतङ्ककारी भनेर टाउकाको मोल तोक्नु पनि गम्भीर गल्ती भएको छ । मतदाता परिचयपत्रमा फोटो राख्नु पनि अक्षम्य गल्ती भएको छ । फोटै नटाँसेको भए धेरै मनुखेलाई लाइनमा लाउनु पर्ने थिएन । आआफ्ना दलका चुल्ठे मुन्द्रेहरूले सबैको प्रतिनिधित्व गरेर शतप्रतिशत भोट खसालीदिने थिए । सत्ताधारी लाउकेहरूले निर्वाचन आयोगलाई समयमै रोक्न नसक्नु पनि गल्ती भयो । यसपटकको चुनाउको नतिजा अन्सार अब हुने प्रदेश र संसदको चुनाउमा चारतारे, सूर्यछाप र गोलघेरे दलहरूले भागशान्ती सीट बाँडपाँड गरेपछि चुनाउ गराउने र अरूलाई मनाउन मिति सारिरहनु पर्ने लफडाबाट मुक्त हुने छन् । चुनाउमा हुने अरबौँको खर्चपनि लाउके दलहरूले भागशान्ती मिलिजुली बाँडचुड गरेर लिएपछि आर्थिक क्रान्तिमा ठूलो टेवा पुग्ने ठहर यो कैलुले गरेको छ । आगे महाराजहरूको आज्ञा । लाउकेहरूलाई चेतना भया ।
१८ असार २०७४

[email protected]