आज विश्व शरणार्थी दिवस, विश्वमा ६५.६ मिलियन पुग्यो शरणार्थी संख्या

आज विश्व शरणार्थी दिवस, विश्वमा ६५.६ मिलियन पुग्यो शरणार्थी संख्या

एजेन्सी । आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २० मा शरणार्थी सम्बन्धी जनचेतना फैलाउने र शरणार्थीको पक्षमा एकताबद्ध हुन आग्रह गर्दै यो दिवस मनाउने गरिन्छ ।

विश्वमा युद्ध, भोकमरी, मौसमी प्रतिकूलताका कारण लाखौं मानिस शरणार्थी बन्न बाध्य भइरहेका छन् । राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसीआरले शरणार्थीको पक्षमा विश्व समुदायलाई एकताबद्ध हुन आव्हान गरेको छ ।

आयोगले गएको वर्षभर ‘शरणार्थीसँग’ नामक अभियान चलाएको थियो । शरणार्थी बन्न बाध्य हरेक बालबालिकाले शिक्षा पाउनु पर्ने, शरणार्थी परिवारले सुरक्षित बास पाउनुपर्ने र हरेक शरणार्थीले नयाँ कुरा सिक्न तथा क्षमता अनुसारको काम गर्न पाउनुपर्नेमा युएनएचसिआरको जोड रहँदै आएको छ ।

विश्वमा हरेक ११३ जनामा एक जना शरणार्थी बन्न बाध्य बनेका छन् भने अहिले विश्वमा करिब ६५.६ मिलियन अर्थात ६ करोड ५६ लाखभन्दा बढी शरणार्थी रहेको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले शरणार्थीले आफ्नो घर तथा ठाउँ छोड्न बाध्य भएपनि आफ्नो सपना तोड्न बाध्य नहुने र उनीहरुको सपना पूरा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

विश्वमा आन्तरिक तथा बाह्य रूपमा विस्थापित भई शरणार्थी बन्नेको संख्या अहिलेसम्मकै धेरै भएको छ । सन् २०१६ को अन्त्यसम्ममा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रूपमा विस्थापित भएर शरणार्थी बन्नेको संख्या ६ करोड ५६ लाख पुगेको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।

शरणार्थी उच्चायोगका प्रमुख फिलिप ग्रान्डीले भने– ‘हामीले यस विषयमा तथ्यांक राख्न सुरु गरेदेखि नै सबैभन्दा धेरै विस्थापित भएको यो नै पहिलोपटक हो ।’

सन् २०१६ मा मात्र विश्वका १ करोड मानिस विभिन्न कारणले आफ्नो घर छोड्न बाध्य भएका थिए । एकै वर्षमा यति धेरै व्यक्तिले घर छोड्नुपरेको पनि यो पहिलो पटक हो ।