ग्रेनफेल टावर आगलागीको सार्वजनिक छानविन गर्न प्रधानमन्त्री मेको निर्देशन

ग्रेनफेल टावर आगलागीको सार्वजनिक छानविन गर्न प्रधानमन्त्री मेको निर्देशन

एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मेले पश्चिम लण्डनमा रहेको २४ तले ग्रेनफेल टावरमा भएको आगलागीको छानविन गर्न निर्देशन दिएकी छन् ।

मंगलाबार राति भएको आगलागीमा परी हालसम्म मृत्यु हुनेको संख्या १७ पुगेको छ भने अन्य धेरै बेपत्ता रहेको बताइएको छ ।

मध्यरातमा भएको आगलागीका क्रममा सो भवनमा धेरै सुतिरहेकाले कारण ठूलो मानवीय क्षति भएको हो । प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेको छ ।

लण्डन अग्नी नियन्त्रक प्रमुखले सो भवनमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको बताउँदै अब कसैलाई पनि जीवित रुपमा भवनमा भेटिने सम्भावना नरहेको जनाएका छन् ।

बेलायती महारानी एलिजावेथ द्वितीयाले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

आगलागीमा परी घाइते भएका मध्ये अझै ३० जना अस्पतालमा रहेको र उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । प्रधानमन्त्री थेरेसा मेले बिहीबार आगो लागेको ग्रेनफेल टावर क्षेत्रमा पुगेर घटनाको पूर्ण छानविन गर्न निर्देशन दिएकी हुन् ।

यसैबीच बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका प्रमुख जेरेमी कोर्बिनले पनि बिहीबार नै घटना स्थलको भ्रमण गरेका छन् । उनले आगलागीको घटना दुःखद भएको भन्दै यसको सत्यतथ्य बाहिर आउनैपर्ने बताएका छन् ।

आगलागी हुँदा अधिकांश आवासीय सो २४ तले भवनमा १ सय भन्दा बढी रहेका र तिनीहरुमध्ये अधिकांश सुतिरहेको अग्नी नियन्त्रक समूहले जनाएको छ । आगलागीपछि धेरैलाई छिमेकी फ्ल्याट तथा कोठाहरुमा बस्नेले एक अर्कालाई ब्युझाएका थिए ।

आगलागीपछि अन्य ६५ जनालाई उद्दारकर्ताहरुले उद्दार गरेका थिए । तर केही सो भवनभित्र धुँवामा फंसेका थिए । लण्डन अग्नी नियन्त्रक ड्यानी कोटनले सो आगलागीमा परी मृत्यु भएकाहरुको संख्या बढ्न सक्ने बताएकी हुन् ।

सन् २०१३ मा नै एक वर्षसम्म मर्मत नगरिएपछि त्यहाँ बसोबास गर्नेहरुले आगोको सुरक्षाबारे प्रश्न उठाएका थिए । सन् १९७४ मा नै बनाइएको ग्रेनफेल टावरको गत वर्षमात्रै ८६ लाख पाउण्ड खर्च गरेर मर्मत गरिएको थियो ।