संकटकै बिच किन आइपुगे अमेरिकी युद्धपोत कतारमा ?

संकटकै बिच किन आइपुगे अमेरिकी युद्धपोत कतारमा ?

एजेन्सी । अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो ।

कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचालित हुन्छन् ।

अमेरिकाले यसै एयरबेबाट चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) लगायतका समूहविरुद्ध सैनिक कारबाही सञ्चालन गर्ने गरेको छ ।

कतार न्युज एजेन्सी (क्युएनए) ले अमेरिकी युद्धपोत कतार आइपुगेको यस्तो समयमा सूचना दिएको छ, जुन दिन कतारले अमेरिकासँग एफ–१५ लडाकु विमान खरिद गर्नका लागि १२ बिलियन डलरको प्रारम्भिक लागतको एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

क्युएनएले कतारी रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटिसले वासिंगटनमा सो सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ ।

रक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई अत्याधुनिक क्षमता प्रदान गर्ने र सुरक्षा सहयोग तथा अमेरिका । कतारबीच अन्तर–क्षमता बढ्नेछ ।’

यही महिनाको सुरुमा साउदी अरब, युएई, बहराइन, इजिप्टसहितका राष्ट्रले चरमपन्थी समूह र इरानलाई सहयोग गरेको आरोपमा कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।