खराब मौसम पाकिस्तानका लागि बरदान, दक्षिण अफ्रिका डीएलमा पराजित

खराब मौसम पाकिस्तानका लागि बरदान, दक्षिण अफ्रिका डीएलमा पराजित

काठमाडौं । इङल्याण्डमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई हराएको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार राती भएको खेलमा पाकिस्तान डकवर्थ लुईस नियमको आधारमा १९ रनले विजयी भएको हो ।

खेलमा पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि जेम्स मिलरले अविजित ७५ रन जोडे । पाकिस्तानका हसन अलीले ३ विकेट लिए ।

जवाफमा २ सय २० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २७ ओभरमा ३ विकेट गुमाएर १ सय १९ रन जोडेको अवस्थामा वर्षा भयो ।

खराब मौसमले थप खेल हुन नसकेपछि पाकिस्तान ‘डिएल मेथड’ मा १९ रनले विजयी भएको हो ।

जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने संभावना जिवित राखेको छ । हारपछि दक्षिण अफ्रिका भने दबाबमा परेको छ । पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई हराएको थियो ।

अब समुहका अन्तिम खेलमा पाकिस्तान र श्रीलंका तथा भारत र दक्षिण अफ्रिका भिड्नेछन् ।