जेष्ठ २५, २०७४ । बुटवल प्रहरीले नक्कली नोट छाप्ने मेसिन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–६ घर भइ बुटवल–११ बुद्धनगरमा बस्ने २१ वर्षे सन्तोष मल्ल हुन् ।
उनलाई इप्रका बुटवलले बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनीक गरेको छ । सन्तोषबाट १ हजार रकम बराबरका १ लाख नक्कली नोट र एक हजार बराबरका १ लाख सक्कली नोट बरामद गरेको छ ।
साथै असहायकालागि खोलिएको बताउने सन्तोषको कार्यालय अर्फन हेल्पिङ ह्यान्डबाट १ हजार दरका २ सय ५९ वटा, एकसयका ५ वटा नोटसहित पैसा छाप्ने फ्रि इन्क प्रिन्ट मेसिन समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए ।
प्रहरी अनुसन्धान अनुसार २२ जेठको दिउँसो २ बजे सन्तोष बुटवलको मिलनचोकमा रहेको प्रभु बैंकको शाखामा आफ्नो खातामा रहेको एक लाख रुपैयाँ निकालेका थिए ।
बैंकबाट एक हजार रकम बराबरका नोट पाएका उनले उतिबेलै कर्मचारीलाई नक्कली नोट दिएर ५ सय बराबरका नोट मागेका थिए । बैंकले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो । यसअघि उनले पहिलोपटक एक लाखमा एउटा र यसपछि १४ वटासम्म नक्कली नोट राखेर रकम साटेको खुलेको छ ।
प्रहरीले अभियुक्तलाई मुलुकी ऐन २०२० को खोटाचलन मुद्धामा म्याद थप गरी अनुसन्धानमा राखेको छ । यस महल अन्तरगत बिगो अनुसार जरिवाना तथा १० वर्षको कैद जरीवाना हुने प्रहरीले जनाएको छ ।