काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बन्दका लागि दौडधुप चलिरहेका बेला पार्टीका नेताहरुलाई स्थानीय तहको दोस्रो चरणको चुनावपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भन्दै नेताहरुलाई गाउँ जान आग्रह गरेका छन् ।
देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका हुन् ।
मन्त्री बन्नका लागि काँग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र खुमबहादुर खड्का निकटका नेताहरु दौडमा रहेका छन् ।
पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका देउवाले पार्टीको भागमा परेका १० मध्ये चार मन्त्रालय रामचन्द्र पौडेल पक्षलाई दिने तयारी गरेका छन् ।
कांग्रेसबाट देउवा पक्षका गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्लाह मन्सुर मन्त्री भइरहेका छन् ।
पौडेल पक्षले मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका ४ जनाको नाम देउवालाई बुझाउने तयारी गरेको छ । पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ ।
पौडेल पक्षबाट बलबहादुर केसी, डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाई मन्त्री बन्ने दौडमा रहेका छन् ।
देउवा पक्षबाट मदन अमात्य, मीन विश्वकर्मा, भीष्म आङदेम्बे, ध्यान गोविन्द रञ्जित र वीरवहादुर बलायर, भरतकुमार शाह, रामहरि खतिवडा लगायत मन्त्रीको लाइनमा छन् ।
खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएको स्रोतले जनाएको छ ।






























