पोखरा । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सामाजिक सद्भाव खल्बल्याउने प्रयास भइरहेको भन्दै नेपाली सेना रमिता हेरेर नबस्ने चेतावनी दिएका छन् ।
क्षेत्रीले देशमा विखण्डनकारीहरु गतिविधि भइरहेको संकेत गर्दै नेपाली सेना बिखण्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिदै संविधानले दिएको अधिकार प्रयोग गरी परास्त गर्ने बताएका हुन् ।
पोखराको फुलबारी ब्यारेकमा आयोजित भूपूसैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति क्षेत्रीले राजनीतिक बहानामा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको उल्लेख गरे ।
मुलकभित्र बसोबास गर्ने अनि बिखण्डनकारी भूमिका खेल्नेमाथि सेना कठोर हुने उनको संकेत थियो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्नका लागि सेना प्रतिवद्ध रहेको उनले बताए ।
प्रधानसेनापति क्षत्रीले पहिलो चरणको स्थानीय चुनाव सम्पन्न गन नेपाली सेनाको ठूलो भूमिका खेलेको र दोश्रो चरणमा सेनाले आफ्नो तर्फबाट निभाउनुपर्ने भूमिका निभाउने स्पष्ट पारेका छन् ।
कार्यक्रममा अवकास प्राप्त विभिन्न सैनिकहरुलाई सम्मान तथा सैनिक कल्याणकारी कोषबाट सञ्चालित विभिन्न कर्जाहरु समेत प्रदान गरिएको थियो ।