समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डको प्रधानमन्त्री बन्ने

समलिंगी नेता लियो भाराड्कार आयरल्यान्डको प्रधानमन्त्री बन्ने

काठमाडौं । आयरल्याण्डमा लियो भाराड्कार सत्ताधारी गठबन्धनको सबैभन्दा ठूलो पार्टी फाइन गेलको नेता चयन भएका छन् ।

उनले ६० प्रतिशत भोट ल्याएर प्रतिद्वन्द्वी साईमन कोभेनीलाई हराएका हुन् । उनी आयरल्यान्डको पहिलो समलिंगी प्रधानमन्त्री बन्ने भएका छन् ।

उनले आगामी साता फाइन गेलका पूर्व नेता एन्डा केनीसँग यो जिम्मेवारी लिनेछन् । ३८ वर्षीय भाराड्कार आयरल्याण्डका अहिलेसम्मका सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि हुनेछन् ।

आयरल्यान्डमा सन् १९९० को दशकसम्म समलैंगिकता र सम्बन्ध विच्छेद गैरकानुनी थियो । भारतीय डाक्टर र आइरिस नर्सका छोरा लियोको जन्म सन् १९७९ जनवरी १८ मा भएको हो ।

उनका पिता अशोकले आइरिस मुलकी नर्स मरियमसँग विवाह गरेका थिए । भाराड्करको चुनावी अभियान उनको उमेर र समलैंगिकताका कारण अन्तर्राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको थियो ।