एजेन्सी । नाइजेरियाका राष्ट्रपतिले इस्लामिक चरमपन्थी समूह बोको हरामले अपहरण गरेकी एक बालिकाले अपहरणमुक्त हुन नमानेको बताएका छन् ।
उनले स्वतन्त्र हुनुभन्दा पनि आफ्ना पतिका साथ बस्न रोजेको बताएका छन् । यी युवती शनिबार बोको हरामको चंगुलबाट रिहा हुने मध्ये एक चिबोक बालिका थिइन् ।
राष्ट्रपति मोहमुद बुहारीका प्रवक्ता गार्बा शेहुले स्थानीय टेलिभिजन च्यानलाई अन्तरवार्ता दिने क्रममा ति युवतीले आफू बोको हराममा रहेका लडाकु पतिसँग खुसी रहेको बताएको उल्लेख गरेका छन् ।
बोको हरामले तीन वर्षअघि उत्तरपूर्वी नाइजेरियाको चिबोकबाट २७६ जना बालिकाहरुलाई अपहरण गरेका थिए । सरकारले बोको हरामका लडाकुलाई रिहा गरेर यी बालिकाहरुलाई फिर्ता ल्याउन सहमति जनाएको थियो ।
तर शनिबार अपहरणमुक्त भएका ८० जना बालिकाको बदलामा कति जना बोको हराम लडाकुलाई रिहा गरियो त्यो भने स्पष्ट भएको छैन । अझै पनि सयभन्दा बढी बालिकाहरु अझै बोकोहरामसँगै रहेका छन् ।
अपहरणमा परेका कतिपय बालिकाहरुले बोको हरामसँग विवाह गरेको र केहीका बच्चा समेत भइसकेको बताइन्छ । चिबोक आमाबाबुले विस्तारै विस्तारै उनीहरुका छोरीका बारेमा भन्न थालेका छन् ।
सरकारले युवतीको नाम ट्विटरमा पोस्ट गरेको छ, तर चिबोकमा सामाजिक सञ्जालमा जनताको सहज पहुँच छैन ।