‘गोकर्णेश्वर नगरलाई नमुना नगरपालिका बनाएर देखाउँछु’

‘गोकर्णेश्वर नगरलाई नमुना नगरपालिका बनाएर देखाउँछु’

नेपालको परिवर्तनका आँधीमय दिनहरुमा संघर्षका मैदानमा अब्बल साबित भएका ढोगप्रसाद अधिकारीले गोकर्णेश्वर नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका छन् । वि.सं. २०५० देखि नै राजीतिमा होमिएका उनी १० वर्षे जनयुद्धका सहिद परिवार पनि हुन् । अधिकारीसँग गोकर्णेश्वर नगरपालिकामा दिएको उम्मेदवारीका विषयमा गरिएको कुराकानीको सारसंक्षेप :

गोकर्णेश्वर नगरपालिकामा तपाईको उम्मेदवारी किन ?
मैले गोकर्णेश्वर नगरपालिकाबाटै परिवर्तनको सुरुवात गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको हुँ । नेपाली जनताले परिवर्तन र विकासका लागि दशकौंदेखि संघर्ष गर्दै आएपनि अहिलेसम्म त्यसलाई संस्थागत गर्ने दिशामा कुनै राजनीतिक पार्टी गएका छैनन् ।

परिवर्तनका लागि जनताले गरेको संघर्षलाई जुवाको खालमा राखिएको छ भने यी राष्ट्रघाती राजनीतिक दलहरुकै हालीमुहाली सधैं हुनेगरी ऐन नियमहरु ल्याइएका छन् । यो सामान्य लोकतन्त्रभित्र पर्ने कुरा पनि होइन ।

स्थानीय तहलाई यी पार्टीहरुले स्थानीय क्षेत्रको विकासका लागि भन्दा पनि भ्रष्टाचार गर्ने अखडामा परिणत गरेका छन् । गोकर्णेश्वर नगरपालिका काठमाडौं उपत्यकाभित्रै भएपनि हुम्ला, जुम्ला जस्तो बनेको छ । यहाँका जनताले अहिलेसम्म पनि परिवर्तनको अनुभूति गर्न सकेका छैनन् ।

पुराना संसदवादी दलहरुले सिंहदरबारको अधिकार गाउँमा ल्याउँछौं भनेपनि त्यो गर्ने आधार छैन । किनभने यी पार्टीहरु जनताबाट परीक्षण भइसकेको पार्टीहरु हुन् । संसदीय व्यवस्थाका तीन दशकसम्म उनीहरुले सिन्को सम्म भाँच्न सकेको अवस्था छैन । त्यसकारण पनि मैले आम परिवर्तनकामी जनताको अधिकार रक्षा, गोकर्णेश्वर नगरपालिकाको समग्र विकास र यसलाई नमुना नगरका रुपमा विकास गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ ।

यो नगरपालिकाका समस्या के के रहेको पाउनु भएको छ ?
गोकर्णेश्वर नगरपालिका आफैंमा धेरै सम्भावना बोकेको नगरपालिका हो । यसको विकासका लागि उचित दृष्टिकोण र भिजन भएको नेता यस क्षेत्रले पाउन सकेको अवस्था छैन । खानेपानीका स्रोतहरु यही क्षेत्रमा भएपनि अझै जनता खानेपानी किनेर खानुपर्ने बाध्यतामा छन् । स्वास्थ्य, शिक्षा, रोजगारका क्षेत्रमा अहिलेसम्म खास प्रगति हुन सकेको छैन ।

सडकको अवस्था अझै नाजुक छ भने कतिपय क्षेत्रमा पूर्वाधार विकास हुन सकेको छैन । भ्रष्टाचार जनता राज्य र समाजको ऐंजेरुको रुपमा देखा परेको छ । यो नगरमा ढल निकास, फोहोर व्यवस्थापन, सुकुम्बासी समस्या, भूकम्पपीडितको उचित व्यवस्थापन र पुनर्वास, सडक विस्तार लगायतका समस्या रहेका छन् ।

तपाईले यो क्षेत्रको विकासका लागि के कस्ता योजना बनाउनु भएको छ ?
परिवर्तनका लागि जनताले जुन आशांक्षा राखेका थिए, त्यो अझै पूरा हुन सकेको छैन । जनताका आवश्यकताहरु ज्युका त्यु रहेका छन् । त्यसकारण मैले चुनाव जितेको अवस्थामा मैले खानेपानी, सडकलगायतको समस्या समाधानका लागि बिशेषज्ञ समेत राखेर व्यवस्थित रुपमा सञ्चालन गर्ने सोचेको छु ।

हामीले कुराले मात्रै होइन व्यवहारिक रुपमा नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई स्थानीय तहबाट नै संघर्ष गर्नेछौं । स्वास्थ्य, शिक्षा, रोजगारजस्ता जनताका आधारभूत आवश्यकतालाई जनताको घरदैलोमा पु¥याउने, नगरपालिकामा हुने भ्रष्टाचारको अन्त्य गर्दै समुन्नत र स्वच्च, सुन्दर, हराभरा नगरको रुपमा विकास गर्ने मेरो लक्ष्य छ ।

यो नगरपालिका भएर बग्ने नदीहरुमा फोहोर फाल्न र ढल मिसाउन प्रतिबन्ध लगाइने छ भने जोखिमपूर्ण जीवन बाँचिरहेका तारेभिरका बस्तीलाई जोखिममुक्त बनाउने र सुकुम्बासी समस्या र भूकम्प पीडितलाई तत्काल पुनस्थापन गरिनेछ । सडक विस्तारका क्रममा जुन स्थानीयबासीलाई जसरी उठिबास लगाउने काम भएको छ त्यसलाई उचित व्यवस्थापन, सडक विस्तार क्षेत्रमा परेका घरको उचित मुआब्जा र उनीहरुको व्यवस्थापन गर्नेछु ।

यसैगरी बालबालिका, वृद्ध तथा शारीरिक रुपमा अशक्त तथा एकल महिलालाई सामाजिक सुरक्षाभक्ता उपलब्ध गराइने छ । वैज्ञानिक भूउपयोग नीति अनुसार नगरभित्रको जमिनको उचित सदुपयोग गर्ने व्यवस्था गरिनेछ । अहिलेको अवस्थामा यो क्षेत्रमा यातायातका समस्यालाई यथाशीघ्र हल गर्ने छौं ।

छाेटकरीमा भन्नुपर्दा स्थानीय जनताले शिक्षा, स्वास्थ्य र रोजगारी र नतालाई गरिखाने वातावरणको सिर्जना गर्नु हाम्रो पहिलो प्राथमिकता रहेको छ । यो क्षेत्रमा रहेका धार्मिक स्थलहरुलाई पर्यटकीय महत्वका हिसाबले विकास गर्ने योजना छ ।

जनताको घर दैलोमा जाँदा कस्तो प्रतिक्रिया पाउनु भयो र आम मतदातालाई के भन्न चाहनुहुन्छ ?

नेपाली जनताले जहिले पनि परिवर्तनकारी जनतालाई साथ दिँदै आएका छन् । अहिले पनि हामी स्थानीय तहको निर्वाचनमा सहभागी भएकोमा जनताहरुमा असाध्यै ठूलो उत्साह छ । कम्तीमा पनि यहाँका जनता स्थानीय निर्वाचनमा परिवर्तनकामी र नारामा नभई व्यवहारिक रुपमा राष्ट्रियता, जनतन्त्र, जनजीविका, विकास र समृद्धिको एजेन्डा बोकेका क्रान्तिकारी उम्मेदवार पाएकोमा खुसी छन् ।

हामीले आम जनताबाट साथ, सहयोग गर्ने वचन पाएका छौं । यो हाम्रा लागि खुसीको कुरा हो । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा मलाई ‘केटाकेटी’ को चिन्हमा भोट हालेर विजयी गराउनका लागि अनुरोध गर्दछु ।