
काठमाडौं । लण्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
सोमबार राति भएको खेलमा मिडिल्सब्रोलाई ३–० ले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।
अब चेल्सीले एक खेल जितेमा उपाधी जित्नेछ भने दोस्रो स्थानमा रहेको टोटनह्यामले बाँकी ३ मध्ये कुनै एक खेलमा पराजीत भएको खण्डमा पनि चेल्सी तीन वटै खेल गुमाएको अवस्थामा पनि च्याम्पियन बन्नेछ ।
शुक्रबार राति चेल्सीले वेष्ट ब्रोमसँग खेल्नेछ । सोमबाररातिको खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा, मार्कस अलन्सो र नेमान्जा माटिचले एक–एक गोल गरे ।
जितसँगै चेल्सीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता लिएको छ । सिजनमा तीन खेल मात्रै खेल्न बाँकी छँदा चेल्सीको ८४ अंक छ भने टोटनह्यामको ७७ अंक मात्रै छ ।
चेल्सीसँगको हारसँगै मिडिल्सब्रो भने प्रिमियर लिगबाट रेलिगेशनमा पर्दै दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरेको छ ।
यसअघि सण्डरल्याण्ड पनि दोस्रो श्रेणीमा झरिसकेको छ । रेलिगेसनमा पर्ने तेस्रो टोलीको टुंगो लाग्न बाँकी छ । अब हल सिटी, स्वान्सी र क्रिष्टल प्यालेसमध्ये एक टोली रेलिगेशनमा पर्नेछ । यसैगरी लिगमा समान ४० अंक जोडेका बर्नली र वाट्फोर्डले पनि रेलिगेशनबाट बच्न १ अंक जोड्नुपर्नेछ ।