एजेन्सी । बाबरी मस्जिद विध्वंसको घटनामा भारतका पूर्व गृहमन्त्री तथा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी र उमा भारतीसहित १२ जनामाथि मुद्दा चल्ने भएको छ ।
आपराधिक षढयन्त्र गरेको आरोप खारेज गर्न अदालतले अस्वीकार गरेपछि उनीहरुविरुद्ध मुद्दा चल्ने भएको हो । लखनउको बिशेष सीबीआई अदालतमा मुद्दा खारेज गर्नका लागि उनीहरुले गरेको अपीललाई खारेज गरिदिएको हो ।
अदालतले आडवाणी, जोशी, उमा भारती र अन्य व्यक्तिमाथि आपराधिक षढयन्त्र गरेको आरोपमा कारबाही गर्नका लागि पर्याप्त प्रमाण रहेको जनाएको छ । सुनुवाईका क्रममा अदालतमा भाजपाका वयोवृद्ध नेता आडवाणी, मुरली मनोहर र उमा भारती पुगेका थिए ।
यसका साथै बिजेपी नेता विनय काटियार, साध्वी रितंभरासमेत पुगेका थिए । अदातलतले ५ जना अभियुक्तलाई ५० हजार जमानत दिएको छ । ६ डिसेम्बर १९९२ मा भाजपा, विश्व हिन्दु परिषद र केही हिन्दुवादी संगठनका नेताको समेत उपस्थितिमा यी संगठनका हजारौं कार्यकर्ताले अयोध्याको बाबरी मस्जिदमा घेरा हाली ध्वस्त बनाएका थिए ।
यी संगठनले बाबरी मस्जिद परिसरमा राम मन्दिर बनाउन माग गरेका थिए । त्यो माग आज पनि जारी छ । अभियुक्तविरुद्ध आपराधिक षढयन्त्र गरेको आरोपमा सर्वोचच अदालतको आदेशपछि सीबीआई अदालतमा आरोप तय गर्नका लागि सुनुवाई भएको थियो ।
बिशेष अदालतले मस्जिदमा क्षति पु¥याएपछि अलग अलग मामलाको सुनुवाई भइरहेको छ । यो महिनाको सुरुवातमा अदालतले अर्को घटनामा महन्त नृत्य गोपाल दास, महन्त राम विलास वेदान्ती, बैकुन्ठ लाल शर्मा, प्रेम जी, चपन्त राय बंशल, महन्त धर्म दास र सतीश प्रदानलाई जमानत दिएको थियो ।
गत महिना यो घटनामा सर्वोच्च अदालले सुनुवाई गर्दै प्रतिदिन सुनुवाई हुने र यस क्रममा न्यायधीस परिवर्तन नहुने जनाएको थियो । सर्वोच्च अदालतले आडवाणी, जोशी र अन्य नेताका विरुद्ध आरोप तय गर्न चार साताको समय दिन निर्देशन समेत दिएको थियो ।
सीबीआईले आडवाणी र अन्य २० जनाविरुद्ध धारा १५३ ए, १५३ बी र ५०५ समेत केही धारा अनुसार आरोपपत्र दाखिल गरेको थियो ।