वैशाख १३, २०७४ । आयल निगमले ट्यांकरको एउटै चेम्बरमा साढे २ प्रतिशत कम इन्धन बजारमा पठाउने गरेको भेटिएको छ ।
थानकोट डिपोबाट उपत्यकाका बजारसम्म पुग्दा एउटै चेम्बरमा ९८ लिटर कम इन्धन फेला परेको हो । जसअनुसार एउटै चेम्बरबाट करिब १० हजार रुपैयाँ फाइदा गर्दै आएको देखिन्छ ।
ट्यांकरबाट कम परिमाणमा इन्धन आएको गुनासो र उजुरी परेपछि गुणस्तर तथा नापतौल विभागले अनुसन्धान परीक्षणको क्रममा यो तथ्य फेला पारेको हो । इन्धन ढुवानी गर्ने ट्यांकरमा ३ देखि ४ चेम्बर वटा हुन्छन् । तीमध्ये एउटामा ४ हजार लिटर इन्धन अट्छ ।
‘थानकोटबाट पम्पसम्म आइपुग्दा पूर्ण रूपमा इन्धन आउँदैन भन्ने उजुरी थियो । सत्यतथ्य थाहा पाउन थानकोट डिपोबाट आएको ट्यांकर कालिमाटीमा रहेको माली पेट्रोल पम्पमा परीक्षण गरेका थियौं,’ गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयका निरीक्षक मौनता मानन्धरले भनिन्, ‘परीक्षण गर्दा एक चेम्बरमा ९८ लिटर कम भेटियो ।’
पेट्रोलियम डिलर्स एसोसिएसनका अनुसार एक चेम्बरमा २८ लिटरसम्म कम हुँदा प्राविधिक नोक्सानी भनेर मान्यता हुन्छ । तर, ९८ लिटर कम हुनु भनेको निगमकै ठगी भएको व्यवसायीहरू बताउँछन् । निगमबाटै कम परिमाणमा इन्धन आएपछि पम्प सञ्चालकले उपभोक्ताबाट त्यसको क्षतिपूर्ति गर्दै आएका छन् । ‘४ हजार लिटरमा ९८ लिटर कम हुनु भनेको ठगी हो,’ एसोसिएसनका एक पदाधिकारीले भने, ‘उक्त घाटा पूर्ति गर्न बाध्य भएर उपभोक्ता ठग्नुपर्छ ।’
ट्यांकर परीक्षण गर्दा नापतौल क्षेत्रीय कार्यालय, आयाल निगम र एसोसिएसनका पदाधिकारीहरू उपस्थित थिए । ‘पम्पको क्यालिब्रेसन शून्य बनाइएको थियो । त्यसपश्चात ट्याङकी ड्राई गरेर अनलोड गरिएको थियो । त्यसपछि पुनस् लोड गरिएको थियो,’ ती पदाधिकारीले भने, ‘परीक्षण गर्दा थानकोटबाटै कम परिमाण आएको देखियो ।’ कम परिमाणमा फेला परेपछि मजदुरहरूले मुचुल्का गर्न दबाब दिएका थिए ।
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय प्रमुख शशिभूषणकुमार यादवले पनि ‘टोलेरेन्स’ को सीमाभन्दा बढी कम हुँदा ठगी हुने बताए । उनले दोषीलाई कालोबजारीअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिए । ‘कम इन्धन हुनुमा ट्यांकर चालक पनि जिम्मेवार हुन सक्छन् । थानकोट डिपोबाट बजारमा ल्याउँदा किन पूरा नाप लिइएन । निगमको पनि गल्ती हुन सक्छ,’ उनले भने, ‘अनुसन्धानबाट दुवै कारबाहीको दायरामा आउन सक्छ ।’
दोषीलाई गुणस्तर तथा नापतौल ऐन, उपभोक्ता संरक्षण ऐन, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन र नेपाल पट्रोलियम ऐनअनुसार कारबाही गर्न सकिने उनले बताए । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले कम परिमाणमा पठाउनुलाई ठगी भएको बताउँछन् । ‘कम वितरण हुनुमा निगम नभए ट्यांकर नै दोषी हुन्छ,’ उनले भने, ‘दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ ।’
निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्ले भने आफूले पठाएको नाप हुबहु भएको दाबी गरे । ‘क्यालिब्रेसन चार्ज ट्यांकरअनुसार फरक–फरक हुन्छ,’ उनले भने, ‘इन्धनमा एक थोपा तलमाथि भएको छैन । इन्धन खन्याएर अर्कोमा लोड गर्दा कम आउँछ भन्ने केही छैन ।’
महालेखा परीक्षकको प्रतिवेदनले पनि निगमको अधिकांश इन्धन डिपोमा ‘क्यालिब्रेसन टावर’ र ‘वेइङ ब्रिज’ प्रयोगमा नरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । इन्धन डिपोमा क्यालिब्रेसन टावर र वेइङ ब्रिज चोरी रोक्नका लागि प्रयोग गरिन्छ । क्यालिब्रेसन हुँदा इन्धन जाँचेर बिक्री वितरण गर्न पाइन्छ । जसले गर्दा चुहावट, चोरी नियन्त्रण गर्न सजिलो हुने जानकारहरू बताउँछन् । तर, भारतीय आयल निगम (आईओसी) र निगमको मिलेमतोमा ‘क्यालिब्रेसन टावर’ र ‘वेइङ ब्रिज’ प्रयोग नभएको जानकारहरू बताउँछन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमको बद्मासीकै कारण सर्वसाधारण चर्को मूल्य तिर्न बाध्य भएको बताए । ट्यांकरबाट बद्मासी गरेर कमाइखाने भाँडो बनाएको उनले आरोप लगाए । ‘ट्यांकरमा चार चेम्बर हुन्छन् । जसअनुसार ट्यांकरबाट ३ सय ९२ लिटर (करिब ४० हजार) ठगी भएको छ । ‘एकै दिनमा सयौं ट्यांकर भित्रिन्छ,’ उनले भने, ‘कालोबजारी गरेकाले सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।’ ट्यांकर, भारतीय आयल निगम (आईओसी) लाई दोष देखाएर आफू पन्छिने बहना गर्दै आएको उनले बताए । यसलाई दबाउने काम आपूर्ति मन्त्रालयबाट भएको उनले आरोप लगाए ।
निरीक्षक मानन्धरले क्यालिब्रेसन चार्ट भारतमा बनेकाले थप अनुसन्धान हुने बताइन् । ‘क्यालिब्रेसन भारतबाट बनेर आउँछ । यहाँ बनाउँदा र भारतमा बनाउँदा कत्तिको फरक आउँछ । त्यो अध्ययन गर्छौं,’ उनले भनिन्, ‘त्यसपश्चात रिपोर्टको आधारमा दोषीलाई कारबाही हुन्छ ।’
इन्धनको माग घट्यो
काठमाडौं– इन्धनको माग ह्वातै घटेको छ । तराईका राजनीतिक दलले घोषणा गरेको आन्दोलनका कार्यक्रमा फिर्तासँगै उपत्यकामा माग घटेको हो । निगमका थानकोट डिपो प्रमुख नेत्र काफ्लेका अनुसार माग घटेपछि मौज्दातबाहेक १ हजार ५० किलोलिटर इन्धन ट्यांकरमै छ ।
‘बन्द हुने हल्लाले दैनिक माग १२ लाख लिटर पुगेको थियो । बजार व्यवस्थापन गर्न जिल्लाबाट पनि इन्धन भित्र्याएका थियौं,’ काफ्ले भने, ‘बन्द हडतालका कार्यक्रम फिर्तासँगै इन्धनको माग छैन । सामान्य अवस्था (दैनिक ५ सय किलोलिटर) मा झरेको छ ।’ तराई क्षेत्रमा बन्द हडतालको हल्लाले उपत्यकामा कृत्रिम अभाव सुरु भएको थियो ।
निगमले इन्धन वितरण गरेको दाबी गरे पनि अधिकांश पम्पहरू बन्द थिए । राजधानीका सर्वसाधारणले लाइन नबसी इन्धन पाएका थिएनन् । हाल उपत्यकामा १ सय १७ पेट्रोलरडिजेल पम्प सञ्चालनमा छन् ।