
काठमाडौं । म्यान्चेस्टर युनाइटेडसँग पराजित भएपनि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीको उपाधी होडमा गम्भीर धक्का लागेको छ । चेल्सी म्यान्चेस्टर युनाईटेडसँग यसअघि १२ खेलमा अपराजित थियो ।
यो जितसँगै युनाइटेडले लिगको पहिलो खेलमा बेहोरेको ४–० को हारको बदला समेत लिएको छ । यसैवर्ष चेल्सी युनाइटेडविरुद्ध प्रिमियर लिग र एफए कपमा विजयी भएको थियो ।




लिग अन्तर्गत आइतबार राति वल्ड ट्राफोर्डमा भएको खेलमा जोसे मोरिन्होको टिम युनाइटेडलाई जिताउन मार्कस रास्फोर्ड र एन्डर हरेराले गोल गरे । सातौं मिनेटमा नै रास्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले अघि रहेको युनाइटेडका लागि ४९ औं मिनेटमा हरेराले गोल गर्दै २–० को जित निश्चित गरे । युनाइटेड लिगका पछिल्ला २२ खेलमा अपराजित छ ।
यो सन् २०१०–११ को सिजनमा उसले २४ खेलमा अपराजित रहँदै बनाएको कीर्तिमानपछिको दोस्रो हो । यो खेलमा चेल्सीले एक पटक पनि पोस्ट प्रहार गर्न सकेन ।
सन् २००७ मा युनाइटेडसँगकै खेलमा एक पटक पनि पोस्ट प्रहार गर्न नसकेपछि चेल्सीले लिगमा पोस्ट प्रहार गर्न नसकेको यो पहिलो पटक हो ।
हारले उपाधि होडमा सबैभन्दा अघि रहेको चेल्सीको लिगका ६ खेल बाँकी हुँदा दोस्रो स्थानको टोटनह्यामसँगको अग्रता चार अंकमा झरेको छ ।
उसको ३२ खेलबाट ७५ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ७१ अंक छ । ३१ खेलबाट ६० अंक जोडेको युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ ।